जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । सम्झौताअनुसार आगामी जेठ १६ गते सक्नुपर्ने भवनको काम निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन प्रालि काठमाडौँले यही चैत पहिलो हप्ता सम्पन्न गरेर मङ्गलबार औपचारिकरूपमा स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो ।
निर्माण कम्पनी र आयोजनाबीच विसं २०७८ जेठ १६ गते सक्ने गरी २०७६ जेठ १६ गते सम्झौता भएकोमा दुई महिना अगाडि नै निर्माणको सम्पूर्ण काम सम्पन्न गरेर आयुर्वेदलाई हस्तान्तरण गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि भीषण राईले बताउनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु सात करोड ३६ लाख २१ हजार १७९ लागतमा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्यटोलमा निर्माण गरिएको हो ।

निर्माण कम्पनीका प्रतिनिधि राईले तीनतले पक्की भवनको चाबी आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख अजयकुमार झालाई हस्तान्तरण गर्नुभयो । नवनिर्मित आयुर्वेद स्वास्थ्य केन्द्र भवनको पहिलो तलामा १२ कोठा, दोस्रो तलामा हलसहित पाँच कोठा र तेस्रो तलामा दुई आवासगृहसहित आठ कोठा रहेको शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इञ्जिनीयर विनोद सिंहले बताउनुभयो ।
भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं आयुर्वेद सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङले विकासे कामको महसुस बल्ल गर्न पाइएको बताउनुभयो ।
भवन निर्माणका लागि स्थानीयवासी पदम आचार्य, पर्शु आचार्य र मीना आचार्यले एक रोपनी पाँच आना, दृपनारायण आचार्यले चार आना, टङ्कप्रसाद आचार्यले एक रोपनी, रामप्रसाद आचार्यले चार आना, बोलराज आचार्यले दुई आना र स्थानीय बासिन्दाले चन्दा उठाएर खरिद गरेको एक रोपनी एक आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । आचार्यटोलमा निर्माण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन जिल्लास्थित सरकारी कार्यालयमध्ये सबैभन्दा ठूलो भवन हो ।
आफ्नो कार्यालय भवन अभावमा दिक्तेलस्थित सरस्वती मावि अगाडि भाडाको घरमार्फत सेवा प्रवाह गर्दै आएको आयुर्वेद स्वास्थ्य केन्द्र केही समयपछि आफ्नै भवनमा सर्ने केन्द्र प्रमुख झाले बताउनुभयो । नवनिर्मित भवनमा सेवा प्रवाहका लागि आवश्यक उपकरण जडान गरेर आगामी वैशाख पहिलो साताभित्रमा आफ्नै भवनबाट सेवा शुरु गर्ने तयारी गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाका अधिकांश योजनाका काम तोकिएको मितिमा सम्पन्न नभइरहेको अवस्थामा प्रतिष्ठा कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि राईले समयावधि अगाडि सम्पन्न गरेर उदाहरणीय काम गर्नुभएको छ । दश स्थानीय तह रहेको जिल्लामा अधिकांश भौतिक पूर्वाधार निर्माणका योजनामा ठेकेदार कम्पनीको लापरवाहीका कारण योजना अलपत्र परेका छन् ।
––– RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com