वडाध्यक्ष र सदस्यबीच द्वन्द्व हुँदा करोडौंको खानेपानी योजना रद्द


वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट बनेका वडा सदस्य जयकुमार तामाङसहित स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेर विरोध शुरु गरेपछि अन्ततः खानेपानी योजना फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

बिस्कामखोला मुहान भएको खानेपानी योजना सञ्चालन तथा बादेल–बिस्काम सडक उपभोक्ता समिति गठनको विषयमा चुलिएको विवाद हल गर्न सोमबार गाउँपालिकाको कार्यालयमा भएको द्विपक्षीय बैठकले बिस्कामखोला मुहान भएको ऐँसेलुखर्क खानेपानी आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको पत्रकार भीम राईले जानकारी दिनुभयो । पत्रकार राईका अनुसार गाउँपालिका प्रमुख विश्वनाथ निरौला, उपप्रमुख पुष्पकला भुजेल, वडाध्यक्ष तामाङ तथा निवेदकका तर्फबाट वडा सदस्य तामाङ, स्थानीय नन्दकुमार तामाङ, दीपक राईलगायतसँग भएको छलफलले ऐँसेलुखर्क खानेपानी आयोजना कार्यान्वयन नगर्ने र उक्त आयोजना रद्द गर्न कार्यपालिकाको बैठकबाटै निर्णय गरेर सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय दिक्तेल र अन्य सरोकारवाला पक्षलाई जानकारी दिने लिखित सहमति गरेको छ ।

वडाध्यक्ष तामाङले मनोमानी ढङ्गले बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्काम सडक उपभोक्ता समिति गठन गरेको भन्दै असन्तुष्ट स्थानीय उपभोक्ताले यही चैत ४ गते वडा कार्यालयमा ताला लगाएका थिए । वडाध्यक्ष सन्तवीर र वडासदस्य जयकुमार दुवै नेपाली कांग्रेसबाट निर्वाचित भए पनि उनीहरुबीचको आन्तरिक द्वन्द्वको असर वडाको योजनामा देखिएको हो । वडाध्यक्ष र वडासदस्यको आपसी विवादकै कारण करोडौँको खानेपानी योजना गुमाउनुपर्ने अवस्था आएको स्थानीय बासिन्दाले बताएका छन् । तामाङद्धय समन्वय र सहमतिको बाटो खोज्नुको सट्टा एकअर्काविरुद्ध शक्ति प्रदर्शनमा समेत उत्रिएका थिए ।

शनिबार बाकाचोलमा बोलाइएको भेलामा दुवै पक्षबीचमा ढुङ्गा हानाहान हुँदा स्थिति तनावपूर्ण बनेको थियो । दोहोरो भीडन्त हुने अवस्था सिर्जना भएपछि नियन्त्रण गर्न सोमबार दिक्तेलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ऐँसेलुखर्क पुगेको थियो ।

वडाध्यक्ष तामाङले भने बिस्कामखोलाको खानेपानी अन्यत्र लैजान स्वीकृति नदिएको बताउनुभएको छ । बैठकमा संसदीय विकास कोषको रु १० लाख बजेटबाट निर्माण गरिने बादेल–बिस्काम सडक उपभोक्ता समितिसँगको सम्झौतासमेत रद्द गरी वडासदस्य तामाङ र डम्बरकुमारी राईको रोहबरमा अर्को उपभोक्ता समिति गठन गर्ने र सम्झौता गरेर सडक निर्माणको काम अघि बढाउने, गत चैत ४ गते वडा कार्यालयमा लगाइएको ताला सोमबारकै मितिबाट खोल्ने र आगामी दिनमा कुनै पक्षबाट कमीकमजोरी नदोहोर्याउने सहमति भएको छ ।

RSS


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope