कृर्षी, सेवा र उद्योगमा आधारित वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने ‘भिजन पेपर ल्याउँदै महासंघ

२२ चैत्र २०७७, आईतवार ०४:५९

काठमाडौं । हरेक वर्ष चार लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित नेपाल उद्योग वाणिज्य महासंघले ‘भिजन पेपर २०३०’ ल्याउने भएको छ । महासंघले सय अर्ब डलरको अर्थतन्त्र र हरेक वर्ष चार लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहित भिजन पेपर ल्याउन लागेको अध्यक्ष शेखर गोल्छाले जानकारी दिएका हुन् ।

महासंघले चैत २८ गते एक सय अर्ब डलरको अर्थतन्त्र र हरेक वर्ष चार लाख रोजगारी गर्ने योजनसहितको भिजन पेपर सार्वजनिक गर्न लागेको जनाएको हो । महासंघले भर्खरमात्रै गठन गरेको स्टार्टअप एन्ड इनोभेसन समितिले आगामि २ वर्षका लागि तयार गरेको योजनाका बारेमा जानकारी दिँदै अध्यक्ष गोल्छाले भिजन पेपरका लागि समितिहरुले तयार गरेको कार्यक्रमले ठूलो सहयोग हुने बताए ।

हरेक वर्ष चार लाख रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भनेर स्पष्ट रुपमा क्षेत्रहरुको छुट्याएको उनले बताए । मुख्यगरी तीन क्षेत्रलाई प्राथमिकतामा राखेर यसका योजना बनाएका उनले जानकारी दिए । उनका अनुसार योजनाको पहिलो प्राथमिकता कृषिमा रहेको छ । दोर्सो सेवा र तेस्र्रोमा उद्योगलाई राखेर योजना बनाइएको छ ।

मुख्यगरी कृषि क्षेत्रलाई आमूल परिवर्तन गर्दै त्यसबाट रोजगरी सिर्जना गर्न सकिने महासंघको ठहर छ । आफुहरुले कृषि क्षेत्रमा कसरी र कस्तो आमूल परिवर्तन गर्न सकिन्छ भनेर अन्र्तराष्ट्रिय विज्ञसँग बसेर योजना बनाएका अध्यक्ष गोल्छाले जानकारी दिए । सेवा क्षेत्रमा कस्तो खालको सुधार गर्नुपर्छ भनेर पनि टोलीले अध्ययन गरेको छ । त्यसका कुन–कुन कुरालाई सुधार गर्ने भनेर प्राथमिकताका साथ योजना बनाएको उनले बताए । मुलुकको आर्थिक विकास गर्न र रोजगारी सिर्जना गर्न उद्योगको ठूलो भूमिका हुनेछ ।

महासंघमा उद्योग व्यवसायमा सफल उद्योगी व्यवसायीको रहेकाले मुलुकको अर्थतन्त्रको विकासमा महासंघ र यसका प्रतिनिधिहरुले ठूलो भूमिका खेल्ने उनले बताए । नवीनतम् सोँचमा आधारित रहेका ५० स्टार्टअपलाई लगानी जुटाउन महासंघ लागि परेको भन्दै यो भिजन पेपरको लागि एक खुट्किलो भएको गोल्छाले बताए ।

उद्योग वाणिज्य महासंघको पहलमा ५० वटा स्टार्टअपलाई ५० व्यवसायीबाट लगानी जुटाउन लागिएको छ । शेखर गोल्छाको अध्यक्षतामा नयाँ नेतृत्व आएसँगै महासंघ मुलुकको आर्थिक विकासमा विशेष भूमिका खेल्नुपर्ने योजनासहित उक्त भिजन पेपर तयारीमा जुटेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.