देशभरका सडक निर्माणका लागी गुरुयोजना बनाउ : मन्त्री नेम्वाङ

२२ चैत्र २०७७, आईतवार १९:१४

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले देशभरका सडक पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।


यस्तै कुनै पनि आयोजनामा मुआब्जा विवादको कारण अवरोध हुने गरेकाले त्यसको समाधानका लागि मन्त्रालयले छुट्टै कार्यदल बनाएर जानुपर्ने पनि मन्त्री नेम्वाङले बताए । आयोजना निर्माणका लागि आधा समस्या मुआब्जा वितरणमा हुने गरेकाले त्यस्ता समस्या समाधानका लागि कार्यदल बनाउँदा सहज हुने बताए ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आइतबार मन्त्रालयमा बसेको बैठकमा बोल्दै मन्त्री नेम्वाङले कुनै एउटा सडकको योजना तयार गर्नेमात्र नभई समग्रमा सिंगो देशको मास्टर प्लान बनाउन निर्देशन दिएका हुन् ।
उनले कतिपय आयोजनामा स्रोतको सुनिश्चितता भए पनि आन्तरिक कारणले गर्दा ठेक्का प्रक्रिया नै सुरु गर्न नसकिएको पनि मन्त्री नेम्वाङले त्यसैको मारमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पनि परेको उनको दावी छ । अहिले ५७ अर्बको लगानी सुनिश्चितता भइसक्दा पनि टेन्डर गरेर निर्माण कार्यलाई अगाडि बढाउन नसकिएको बताए ।

त्यसैले आयोजनापिच्छे के कति काम भइरहेको छ भन्ने सम्बन्धमा प्रधावकारी अनुगमन गर्नुपर्ने उनको भनाइ छ । मानवीय त्रुटिका कारण कतिपय आयोजनाको काम अगाडि बढ्न नसकेको पाइएकाले त्यसतर्फ ध्यान दिन पनि उनले निर्देशन दिए ।


मन्त्री नेम्वाङले संसदीय समितिहरुका कारण पनि आयोजनाहरुको काम समयमै सम्पन्न हुन नसकेको बताए । एउटै आयोजना दुई तीन वटा समितिमा छलफल हुने र सबैबाट निर्देशन आउँदा काम प्रभावित हुने गरेको बताए । तर तीनै समितिलाई मात्रै देखाएर काम नरोक्न पनि उनको निर्देशन थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले कुनै पनि आयोजनामा ठेक्का भइसकेपछि मन्त्रालयस्तरीय अनुगमन हुने नगरेको बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.