दक्षिण कोरियामा राहदानीको अवधि सकिए भिसा थप नहुने

२२ चैत्र २०७७, आईतवार १४:२७

काठमाण्डौ । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ ।
त्यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाएर सूचना जारी गर्नुका साथै कोरियामा रहेको नेपाली राजदूतावासमा समेत पत्र काटेर त्यस नियमका बारेमा जानकारी गराएको हो । यो नियम आउँदो जुलाई १ तारिखदेखि लागू हुँदैछ । कोरियामा एफ फाइभ, एफ टू फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसाबाहेक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ ।

विविध कारण तत्काल राहदानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आउँदो डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने पनि बताइएको छ । सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ । न्याय मन्त्रालयको पत्रअनुसार नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै यहाँ रहेका नेपालीहरूलाई त्यस कुरा जानकारी गराएको छ ।

विशेषगरी ईपीएस माध्यमद्वारा ई नाइन भिसामा जाने नेपाली श्रमिकको सुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा प्रवेशाज्ञा नथपिने भएको हो ।


सन् २०२० मा मात्र १६ हजार १३० विदेशी नागरिकको राहदानीको अवधि सकिएको तर उनीहरूले राहदानी नवीकरण नगरेको सूचना सार्वजनिक भएको छ । यो नियम लागू भएपछि दक्षिण कोरियामा रहेका विदेशीहरुलाई उचित व्यवस्थापन गर्न सहज हुने न्याय मन्त्रालयको विश्वास छ । विदेशीले आफ्नो राहदानी नवीकरण भइसकेपछि १५ दिनभित्र नजिकैको अध्यागमनमा दर्ता गरेमा कुनै जरिवाना नलाग्नेसमेत बताइएको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.