नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण, बहुमत पुर्याउन कठिन


जेरुसेलम । इजरायलका राष्ट्रपति रुभेन रिभलिनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण गर्नु भएको छ । हालै सम्पन्न संसदको निर्वाचनमा स्पष्ट बहुमत हासिल नगरे पनि ठूलो दलको हैसियतमा नेतन्याहूलाई सरकार गठन गर्न आमन्त्रण गरिएको हो ।    
    
गहिरो रुपमा विभाजित संसद् र भ्रष्टाचारको आरोपमा सुनुवाई भइरहेको अवस्थामा प्रधानमन्त्री नेतन्याहूका अघिल्तिर सरकार गठनमा निकै ठूलो चुनौती छ । इजरायलको राजनीतिक इतिहासमा नेतन्याहू सबैभन्दा लामो अवधिसम्म अर्थात् १२ वर्षदेखि प्रधानमन्त्रीका रुपमा रहनु भएको छ ।    
    
प्रधानमन्त्री नेतन्याहूले आफ्ना राजनीतिक प्रतिस्पर्धीसँग गठबन्धन बनाउन छ हप्ताको समयावधि पाउनु भएको छ । तर प्रधानमन्त्रीले विपक्षीहरुको समर्थन प्राप्त गर्ने सम्भावना ज्यादै न्यून रहेको जानकारहरुले बताएका छन् । यसैबीच, उहाँका प्रतिस्पर्धी दलहरुले पनि नयाँ वैकल्पिक सरकार गठन गर्ने प्रयासलाई तिब्र बनाएका छन् ।    
    
सत्तारुढ लिकुड पार्टीका सदस्यहरुसँगको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री नेतन्याहूले आफू यहुदी र अरब, धार्मिक तथा धर्मनिरपेक्ष समेतका सबै इजरायली जनताको प्रधानमन्त्री हुन चाहेको बताउनु भएको छ ।    
    
“हामी सबैलाई समानताको व्यवहार गर्नेछौं,” भन्दै उहाँले पटकपटकको चुनावी चक्रबाट इजरायललाई बाहिर निकाल्ने तथा सबै इजरायली नागरिकका लागि बलियो सरकार स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।    
     
इजरायलमा विगत दुई वर्षको अवधिमा कुनै पनि दलले संसदमा बहुमत सिद्ध गर्न नसकेपछि चौथो पटक संसदको निर्वाचन भएको हो ।    
    
विगतमा झैं राष्ट्रपति रिभलिनले सोमबार इजरायली संसद नेसेटमा निर्वाचित भएका १३ दलका नेताहरुसँग परामर्श गर्नु भएको थियो । उहाँले प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार छनौटका लागि उक्त परामर्श गरे पनि निकास निस्कन सकेको थिएन ।    
    
बैठकमा प्रधानमन्त्री नेतन्याहू वा उहाँका मुख्य प्रतिस्पर्धी याइर लापिडबीच पनि सहमति जुटेको थिएन । उहाँहरु दुबैले बहुमत सांसदको समर्थन प्राप्त गर्न असफल हुनु भएको थियो ।    
इजरायली संसद १२० सदस्यीय रहेको छ ।    
    
नेतन्याहूले २८ दिनभित्र संसदमा बहुमत हासिल गर्नु पर्नेछ । त्यस अवधिमा पनि बहुमत नजुटेको अवस्थामा राष्ट्रपतिले अरु दुई हप्ता थप गर्न सक्ने संवैधानिक प्रावधान छ ।    
    
प्रधानमन्त्री नेतन्याहूको सत्तारुढ लिकुड पार्टीले संसदमा ५२ सांसदको समर्थन प्राप्त गरेको छ, र यो संख्या विपक्षी नेता लापिडको भन्दा बढी हो, तर सरकार गठनका लागि ६१ स्थान जरुरी हुन्छ । लापिडको दलले ४५ स्थान जितेको छ भने नफताली बेनेटको दलले ७ स्थानमा विजय हासिल गरेको छ ।    
    
नेतन्याहूले एउटा सानो अरब इस्लामिक पार्टी र्यामको समर्थन प्राप्त गर्नु पर्नेछ । र्यामका नेता मन्सुर अब्बासले इजरायलको अरब क्षेत्रलाई नेतन्याहूले सहयोग गरे सरकारलाई समर्थन गर्न सक्ने बताउँदै आउनु भएको छ । इजरायलभित्रको अरब क्षेत्रमा अपराध, विभेद र गरिबी व्याप्त छ ।    
    
तर नेतन्याहूलाई समर्थन गर्ने अतिवादी रेलिजियस जियोनिस्ट पार्टीले भने अरब पार्टीसँग साझेदारी गर्ने कुरालाई अस्वीकार गर्दै आएको छ । नेतन्याहूले अर्को धार्मिक राष्ट्रवादी पार्टी यामिनाको पनि समर्थन प्राप्त गर्ने प्रयत्न गर्नु हुनेछ । यामिनाले पनि अरब पार्टीहरुसँगको गठबन्धनलाई त्यति रुचाएका छैनन् ।    
    
अर्कोतिर, विपक्षी नेताहरु लापिड र बेनेटबीच पनि सत्ता साझेदारीका विषयमा वार्ताहरु जारी छन् । लापिडले आफू र बेनेटबीच प्रधानमन्त्रीको कार्यकाल आधाआधा समयको गर्ने प्रस्ताव राख्नु भएको छ । उहाँहरु दुबै प्रधानमन्त्री नेतन्याहूको लामो कार्यकाल अन्त्य गर्न सहमत हुनु भएको छ ।    
(रासस–एपी)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope