आफ्नो नेतृत्वमा सरकार गठनका लागि कांग्रेसको प्रस्ताव

२७ चैत्र २०७७, शुक्रबार १८:०३

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमक्ष प्रस्ताव राखेका छन् ।

पार्टी कार्यालय सानेपामा तीन दलको बैठक बोलएर देउवाले उक्त प्रस्ताव राखेका हुन् । शुक्रबार सानेपामा भएको बैठकमा देउवाले अबको सरकार चुनावी सरकार हुने र केपी शर्मा ओलीको नेतृत्वमा चुनाव भए लोकतान्त्रिक हुन नसक्ने भन्दै वैकल्पिक सरकारको नेतृत्व कांग्रेसले गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

कांग्रेसको प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पहिलादेखि नै ओलीको विकल्प प्रतिपक्षी दलहरू मिलेर दिनुपर्ने बताइरहेको माओवादीले तीन दलको बैठकमा पनि देउवाको प्रस्तावलाई स्वीकार गरेकाजनाइएको छ । उनका अनुसार जसपाले भने सरकार निर्माणका विषयमा छलफल गरेर निर्णय दिने बताएको छ ।

बैठकपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले सरकार गठनबारे पार्टीमा छलफल हुन बाँकी रहेको बताए । जसपाले उक्त विषयमा पछि निर्णय लिने भनेर आफूहरूका केही मुद्दा रहेको पनि तीन दलको बैठकमा कुरा राखेको थियो ।

पार्टी केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार नै देउवाले बाँकी दुई दलका नेताहरूलाई बोलाएर सरकार गठनको औपचारिक पहल लिएका हुन् । देउवाले सरकार निर्माणको प्रस्ताव बाँकी दुई दलका नेताहरूलाई राखेको कुरा उल्लेख गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस, माओवादी र जसपाबीचमा सत्ता समीकरणबारे छलफल सम्पन्न भएको जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.