गृहमन्त्री थापाको सांसद पद खारेज गर्न संसद सचिवालयलाई प्रचण्डको पत्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापाको पद पनि खारेज हुने भएको छ । थापाले दल परित्याग गरेकाले सांसदबाट कारबाही गरिएको भन्ने माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई पत्र पठाएका छन् ।
थापा माओवादी केन्द्र परित्याग गरेर नेकपा (एमाले)प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यमा मनोनीत थापालाई वाग्मती प्रदेशको इन्चार्जको जिम्मेवारी पनि दिइएको छ ।
राष्ट्रिय सभामा माओवादी केन्द्र दलका नेता दिनानाथ शर्माले थापाले दलत्याग गरेकाले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार गरिएको जानकारी दिए । ’निर्वाचित भएको दल त्याग गरी अर्को दलमा गएकाले कानुनअनुसार सांसदको पद रहँदैन ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिएको जानकारीअनुसार राष्ट्रिय सभा सदस्य थापाले दल त्याग गरेकाले सांसद पद खारेज गरिदिन भनेर दाहालले शुक्रबार पठाएको पत्र संसद् सचिवालयमा दर्ता भएको छ ।
अहिले राष्ट्रिय सभाको अधिवेशन छैन, त्यसैले थापाको सांसद पद खारेज भएको सूचना संसद् सचिवालयले प्रकाशित गरेपछि थापाको सांसद पद खारेज हुनेछ ।
उक्त प्रक्रिया तत्काल भने अगाडि नबढ्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हाल स्पेन भ्रमणमा रहेका छन् । उनी स्पेनबाट फर्किएपछि मात्रै थापाको सांसद पद खारेजीको प्रक्रिया अगाडि बढ्नेछ ।
यसअघि एमाले प्रवेश गरेका अन्य चार मन्त्रीलाई पनि माओवादीले सांसद्बाट हटाएको थियो । लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई दल त्याग गरेपछि माओवादीले सांसदबाट हटाएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस