कोरोना संक्रमणबाट बच्न थप सतर्कता अपनाउन सीसीएमसीको अपील

२८ चैत्र २०७७, शनिबार २०:१६

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ ।
सीसीएमसीको शनिबारको बैठकले पछिल्लो समय कोभिड संक्रमण ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीबारे छलफल भई आमरुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए । यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय पनि बैठकले गरेको छ । यसबाहेक कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभई अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.