‘लोकतान्त्रिक योद्धा’ सम्मान

२९ चैत्र २०७७, आईतवार १३:४०

काठमाडौँ — सरकारले २०४६ को जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागीलाई ‘लोकतान्त्रिक योद्धा’ बाट सम्मान गर्ने भएको छ ।

खासगरी १० वर्षे सशस्त्र द्वन्द्वमा संलग्न भई समायोजनमा नपरेका र अयोग्य पूर्वलडाकुलाई केन्द्रित गरेर सम्मान दिन लागिएको हो ।
‘अग्रगामी लोकतान्त्रिक परिवर्तन’ का लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिद तथा बेपत्ता व्यक्तिका परिवार, द्वन्द्वपीडित, विस्थापित, अंगभंग भएका व्यक्ति, घाइते तथा पीडितलाई सम्मान गरीने छ ।

सम्मानका लागी सुरुवाती पहल गृहमन्त्री रामबहादुर थापाले गरेका थिए । त्यसपछि लोकतन्त्रका योद्धा सम्मानसम्बन्धी काम गर्न चैत पहिलो साता मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा केन्द्रमा र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने गरी ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति २०७७’ गठन गरेको थियो ।

जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमा सचिवालय स्थापना गरेर विवरण संकलनको काम गरिरहेको छ । विवरण संकलन गरी चैत २० भित्र पठाइसक्न गृहले ‘गोप्य पत्र’ मार्फत परिपत्र गरेको थियो । जिल्लाबाट आएका विवरणलाई अन्तिम रूप दिएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले २०४६ पछिका विभिन्न राजनीतिक र लोकतन्त्रका लागि सहभागी हुँदा ज्यान गुमाएका, अंगभंग, विस्थापित, सशस्त्र द्वन्द्वका लडाकुलगायतको विवरण अद्यावधिक भइरहेको बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.