घोडेजात्रा पर्व सम्पन्न

२९ चैत्र २०७७, आईतवार १८:४४

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाइएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले विभिन्न कला–कौशल प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

उपत्यकामा कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेकाले सुरक्षाको लागि सीमित पाहुना र कम सहभागी गराइ कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन पनि गरिएको छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.