लगानीकर्ता चिन्तित हुन पर्दैन : अर्थमन्त्री पौडेल

३० चैत्र २०७७, सोमबार १३:३२

काडमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका राजनीतिक समस्या संवैधानिक रुपमै समाधान हुने भएकोले लगानीकर्ताले चिन्तित हुनु नपर्ने बताएका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका हुन् ।

विश्व बैंकले चालु आवमा २.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपणसहित नेपाल विकास अपडेट सार्वजनिक गरेको हो । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा उत्पन्न राजनीतिक परिस्थितिले लगानीकर्तामा अन्योल सिर्जना गरेको उल्लेख गरिएको थियो ।

कोरोनाभाइरसको महामारीका बीच उत्पन्न राजनीतिक अन्योललाई विश्व बैंकले समेत चासोका साथ हेरेको छ । त्यस चासोलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीको दोस्रो वेवबाट नेपाली जनता र अर्थतन्त्रलाई बचाउन समेत सरकार क्रियाशील रहेको बताए ।
उनले एक पटक खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप वितरण गर्न र एक पटक पनि नलगाएका नागरिकलाई खोप उपलब्ध गराउन सरकारले काम गरिरहेको समेत बताए ।

अर्थमन्त्रीको संयोजकत्वमा आर्थिक पुनरुत्थान, पुनर्संरचनाबारे सुझाव दिन परामर्श समितिले काम गरिरहेको जानकारी गराउँदै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्र र विकास साझेदार संस्थासँग समन्वय गरेरै अगाडि बढ्ने उल्लेख गरे ।
सरकारले नयाँ बजेटको तयारीमा जुटेको भन्दै उनले अबको बजेट समेत कोरोनाको प्रभाव न्यूनीकरणा केन्द्रित हुने जानकारी गराए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.