नेपाल समूहको राजनीतिक प्रस्तावमातहतका कमिटीमा पठाइयो

३० चैत्र २०७७, सोमबार १७:५२

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीतिक प्रस्तावलाई संशोधनसहित मातहतका कमिटीमा पठाएको छ ।

उक्त प्रस्तावमा एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको उदय भएपछि नै पार्टीमा समस्या देखिन थालेको उल्लेख छ । नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको नेता नेपालले बताएका छन् ।

ओलीको सामर्थ्य नै गुटबन्दी भएकाले अध्यक्ष भएपनि त्यसलाई निरन्तरता दिइएको पनि प्रस्तावमा उल्लेख गरिएको छ । त्यसका लागि दृष्य–अदृष्य श्रोतहरु मार्फत मदन भण्डारी फाउण्डेसन परिचालन गरेको आरोप लगाइएको छ ।

नेकपा माओवादी केन्द्रसँगको एकता पनि व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले ओलीबाट भएको प्रस्तावमा उल्लेख गरिएको छ । व्यक्तिगत स्वार्थ पूरा नहुने अवस्थामा ओलीले जनवादी केन्द्रीयताको नीति समेत पालना नगरेको आरोप लगाइएको छ ।
एमाले हुँदा, माओवादीसँग एकता हुँदा र फेरि एमाले ब्युँतिएपछि पनि आफू अल्पमतमा पर्ने भएकाले संगठन नै सिध्याउने योजनामा ओली लाग्ने गरेको नेपाल समूहको राजनीतिक प्रस्तावमा उल्लेख गरिएको छ ।

अदालतको फैसलाअनुसार, २ जेठ २०७५ लाई प्रस्थानबिन्दु बनाएर अगाडि बढ्नुपर्ने भन्दै २८ फागुन र त्यसयता भएका निर्णयहरु रद्द गरेर नवौं महाधिवेशनको विधान र संगठनअनुसार अगाडि बढ्नुपर्ने अडान माधव नेपाल समूहले लिएको छ ।
२ जेठ २०७५ को अवस्थाबाट पार्टी नचलेमा भेला, प्रशिक्षण, छलफल, गोष्ठीलगायत प्रचारात्मक गतिविधि नरोक्न पनि निर्देशन दिइएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.