नेपालमा नयाँ खालको कोभिड–१९ भाइरस : सतर्कता अपनाउन विज्ञहरुको सुझाव

३० चैत्र २०७७, सोमबार १७:०४

काठमाडौं । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गरेका छन् । उनले पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको र यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुने भएकोले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्न आग्रह गरे ।
भाइरसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृत्यु हुने दर पनि बढिरहेको उनको भनाइ छ । सङ्क्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ ।

त्यस्तै अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले मापदण्ड पालना नगर्दा अहिलेको भाइरस देखिएको बताए । उनका अनुसार विद्यालय, भीडभाड हुने ठाउँ, पार्टीप्यालेस, गाडी जस्ता ठाउँबाट भाइरस फैलिने गरेका उल्लेख गरे ।
अहिले नेपालमा देखिएको भाइरस नयाँ खालको भए पनि कस्तो किसिमको हो भन्ने अझै पत्ता लागिसकेको छैन । अणुवांशिक (जीन सिक्वेन्सिङ)को पूरा मात्रा परीक्षण गरेर कस्तो भाइरस हो भन्ने पत्ता लाग्दछ ।

नेपालमा यस खालको भाइरसको जीन सिक्वेन्सिङको पूरा मात्राको परीक्षण गर्न जनशक्ति र प्रयोगशाला नभएको डा. बास्तोलाले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जीन सिक्वेन्सिङको परीक्षणका लागि उपकरण ल्याउन थालिएको जानकारी दिए । उनले उपकरण आइसकेपछि एक हप्तामा जीन सिक्वेन्सिङको परीक्षण नेपालमा हुने बताए । अहिले विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा जीन सिक्वेन्सिङका लागि हङकङमा नमूना पठाइने गरिएको छ ।
रासस

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.