सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीविरुद्धको रिट खारेज

३० चैत्र २०७७, सोमबार १८:४८

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सोमबार सुवेदीको योग्यतालाई लिएर दायर रिट खारेज गर्ने फैसला सुनाएका हुन् ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि सुवेदीको योग्यता नपुग्ने भन्दै सिफारिस गर्ने निकाय न्याय परिषद्लगायतका विरुद्ध रिट दायर गरेका थिए । उनको अनुभव नपुग्ने भण्डारीको दाबी थियो ।

अदालतले भने सुवेदीले न्याय सेवाको सहसचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशमा रहेर काम गरेको र दुवै पदमा रहेर गरेको अवधि जोड्दा संविधानअनुसार सर्वोच्चको न्यायाधीश बन्ने योग्यता पुग्ने फैसला सुनाएको हो ।

न्यायाधीशमा सिफारिस सुवेदीको अब संसदीय सुनुवाइ हुनेछ । त्यसका लागि संसदीय सुनुवाइ समितिको बैठक २०७८ वैशाख ३ गतेका लागि बोलाइएको छ । उनीसँगै सर्वोच्चको न्यायाधीशमा कुमार चुडाल पनि सिफारिस भएका छन् । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि सर्वोच्च अदालतको न्यायाधीशमा उनीहरू नियुक्त हुनेछन् । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.