संघीय निजामती विधेयक पारित नगर्न निजामती कर्मचारी युनियनको चेतावनी

३१ चैत्र २०७७, मंगलवार १५:२३

काठमाडौं । नेपाली कांग्रेस निकटको कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन (संघ) ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा विधेयक पारित नगर्न चेतावनी दिएको छ ।

मंगलबार नेपाल निजामती कर्मचारी युनियन(संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा विधेयक लोकतन्त्रविरोधी रहेको बताए ।

विधेयकले संविधानलाई नै उल्लङ्घन गरेको तथा कर्मचारीहरुको सेवासुविधा, वृत्तिविकासलगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो विधेयक पास भए कर्मचारी आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

राष्ट्रिय भेलाले विधेयकको विरुद्धमा देशव्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफू अनुकूलका कर्मचारीहरुलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले बताए ।

नेपाल निजामती कर्मचारी युनियन(संघ) का उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती सेवा विधेयकले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताए । श्रेणीविहीन कर्मचारीको वृत्तिविकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उनले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.