ठाडै सुकेका रुखका कारण वन नै उजाडियो



झापा  । झापाको कनकाई सामुदायिक वनमा अधिकांश सिसौका रुख ठाडै सुकेका छन् । सुकेका रुखले सामुदायिक वन नै उजाड देखिन थालेको छ । कनकाई नगरपालिका–२, ३ र ४ मा २७७ दशमलव ६ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा सिसौ र खयरका अधिकांश ठूला रुख वर्षौँदेखि ठाडै सुकेका छन् ।    
    
कनकाई नदीको पूर्वी किनार र चुरेको फेदसँग जोडिएको यो प्राकृतिक वनमा सिसौ र खयरका प्रजाति छन् । एक दशकदेखि नै रुख सुक्ने क्रम शुरु भएको थियो । सुकेका रुख हटाउने र नयाँ बिरुवा लगाउने अभियान शुरु नगरिँदा एकातिर मूल्यवान रुखहरु ठाडै पोचिएर खेर गइरहेको छ भने अर्कातिर जङ्गल मासिएर मरुभूमीकरण हुने सम्भावना बढेको छ ।    
    
कटानको अनुमति नहुँदा वनभित्र रु १६ करोड मूल्यका सुकेका ठाडा रुख वर्षौँदेखि पोचिएर खेर गइरहेको छ । सामुदायिक वनले गरेको अध्ययनले सुकेका ठाडा रुख कटान गर्दा करीब ८० हजार क्युफिट काठ सङ्कलन हुनसक्ने देखाएको छ । कनकाई वनमा दशकअघि सिसौका ठूला रुख सुक्ने रोग देखापरेको स्थानीयवासी बताउँछन् । सिसौमा लागेको अज्ञात रोगले रुख ठाडै सुक्ने क्रम बढ्यो । सुकेका रुख निकालेर काठ खेर जान नदिनेतर्फ अहिलेसम्म सरकारी निकायको ध्यान जान सकेको छैन ।    
    
कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम ओलीले सरकारी निकायले नै सुकेका रुख कटानको अनुमति नदिएको बताउनुभयो । उहाँका अनुसार विसं २०७४ मा वन मन्त्रालयको सामुदायिक वन महाशाखामा सुकेका रुख कटानको अनुमति माग्दै निवेदन दिइएको थियो । हालसम्म मन्त्रालयले कटानको स्वीकृति दिएको छैन ।    
    
वन मन्त्रालयले जैविक विविधतामा ह्रास आउने कारण देखाउँदै सुकेका ठाडा रुखहरु कटानका लागि स्वीकृति नदिएको ओलीले बताउनुभयो । सुकेका रुख निकाल्दा जैविक विविधतामा के–कस्तो असर पर्छ भन्नेतर्फ मन्त्रालयले स्थानीय सामुदायिक वनलाई तथ्यपूर्ण जानकारीसमेत दिएको छैन ।    
    
कनकाई नदीमा पानीको वहाब गहिरिएसँगै सो वन क्षेत्र चिस्यानको अभावले समेत सिसौका रुखहरु सुकेको हुनसक्ने स्थानीय वन पदाधिकारी बताउँछन् । नदीमा जथाभावी ढुङ्गा, बालुवा निकाल्ने क्रम बढेपछि कनकाईको बहाब गहिरिएको छ । खोला गहिरिएपछि किनारमा रहेको रुखहरु सुक्खा लागेर सुक्न थालेको समेत अनुमान छ । वर्षेनी हुने डढेलोले पनि वन पैदावार सुकाउँदै आएको छ ।    
    
सो सामुदायिक वनले वार्षिक तीन हजार क्युफिट ढलापडा रुख मात्र कटान गर्न पाउने नियम छ । “वार्षिक कटान क्षमता तोकिएको हुन्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “ढलेका रुख नै काफी छन् ठाडा काट्नै पर्दैन ।” अनुमति नपाएपछि सुकेका ठाडा रुख नकाटिएको उहाँको भनाइ छ । उहाँले वार्षिक सिसौका काठ दुई हजार ४०० क्युफिट र खयर ६०० क्युफिट गरी तीन हजार क्युफिट ढलापडा काठ घाटगद्दी गर्दै आएको बताउनुभयो ।    
    
डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले सामुदायिक वनको हैसियतअनुसार मात्र ढलापडा रुख कटान गर्न पाउने कानूनी प्रावधान रहेको बताउनुभयो । उहाँले झापाका अन्य सामुदायिक वनको तुलनामा कनकाईमा सुकेका रुख अत्यधिक रहेको जानकारी पाएको तर यसको विस्तृत अध्ययन नभएको बताउनुभयो ।    
(रासस)     


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope