रिक्त सदस्य पदपुर्तीका लागी राष्ट्रिय सभा निर्वाचन जेठमा गर्न प्रस्ताव

७ बैशाख २०७८, मंगलवार १३:२७

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन जेठ पहिलो साता गर्न प्रस्ताव गरेको छ । संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एक पद रिक्त भएको जानकारी गराएपछि आयोगले निर्वाचनको मिति तोक्ने प्रक्रियाका लागि सोमबार गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

राष्ट्रिय सभा निर्वाचन ऐनमा रिक्त पदमा ३५ दिनभित्र निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ ।कानुनको त्यही व्यवस्थालाई हेर्दै आयोगले निर्वाचनको मिति तोक्न पत्राचार गरेको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए । ३५ दिनको अवधि जेठ ७ गते पुग्दै छ । त्यसअनुसार आयोगले जेठ पहिलो साताभित्रको उपयुक्त दिनमा मिति तोक्न सुझाव दिएको श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले आफ्नो दलबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई कारबाही गरेपछि उनको पद रिक्त भएको थियो । वाग्मती प्रदेशबाट निर्वाचित थापाको पद रिक्त भएपछि उक्त स्थानमा वाग्मती प्रदेशभित्रैबाट पदपूर्ति हुनेछ । त्यसका लागि वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३ सय ३८ जनाले मतदान गर्नेछन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.