आज अयोध्यापुरीमा राम–सीताका मूर्ति प्रतिस्थापन गरिँदै

८ बैशाख २०७८, बुधबार १०:०५

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजापाठ गर्ने गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका नरनारीको घुइँचो छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ । रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास छ ।

यसैबीच चितवनको माडीस्थित अयोध्यापुरीमा राम–सीताको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गर्ने मूर्तिहरु मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वको रथयात्रा समूह देवघाटमा बास बसेको थियो । बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ रथयात्रा अघि बढ्ने छ ।राम–सीताका मूर्ति बुधबार मध्याहृन १२ः३० बजेको साइतमा प्रतिस्थापन गर्ने तयारी छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.