सामथ्र्य हेरेर आयोजना छनोट गर्न अर्थमन्त्री पौडेलको आग्रह

१० बैशाख २०७८, शुक्रबार १३:४४

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकताका आधारमा आयोजना छनोट गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् । आवश्यकता र औचित्यका आधारमा मात्रै आयोजना छनोट गर्न भन्दै उनले सामार्थ्य भन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताए ।

बिहीबार अन्तरसरकारी वित्त परिषद्को छैटौं बैठकमा अर्थमन्त्री पौडेलले आयोजना छनोट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्यांकन, स्रोत व्यवस्थापनलगायत आयोजना तयारीका कार्य पूरा हुन जरुरी रहेको बताए ।

संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आकांक्षा पनि बढेको र सीमित साधन स्रोत हुँदा अन्तरविरोध जस्तै देखिएपनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपूरक भएको उनको भनाइ छ ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरु, अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, प्रदेशका सचिवहरु, विज्ञ, स्थानीय तहका जनप्रतिनिधिहरु लगायत सहभागी भएका थिए । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.