न्युनतम सेवा सुविधाको माग गर्दै कोशी कोभिड अस्पतालका चिकित्सक र नर्स आन्दोलित

१३ बैशाख २०७८, सोमबार १८:०६

काठमाडौं । कोशी कोभिड–१९ उपचार केन्द्रका चिकित्सक र नर्स आन्दोलनमा उत्रिएका छन् । सरकारद्वारा निर्धारित न्यूनतम सुविधा पाउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्यकर्मी आन्दोलित भएपछि सो केन्द्रमा भर्ना भएका बिरामी अलपत्र परेका छन् ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले आन्दोलित चिकित्सक र नर्सलाई काममा फर्काउन पहल भइरहेको बताए ।

उनका अनुसार उपचार केन्द्रमा कार्यरत ५ जना नर्स, ३ जना पारामेडिक्स र पाँचजना डाक्टर काम छाडेर आन्दोलित भएका हुन् ।
१८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना संक्रमित उपचाररत छन् । सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्ति पाएका डाक्टर, नर्स र पारामेडिक्सलाई कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा दिएको छ ।

कोरोना संक्रमण घटेपछि एक महिना बिदा बसेका उनीहरु पुनः नियुक्ति पाएपछि काममा फर्किएका थिए । तर न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ ।

कोभिडको पहिलो लहरमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि प्रदेश १, सामाजिक विकास मन्त्रालयले यसअघि होटलमा क्वारेन्टिन बनाएको थियो । तर कोरोनाको दोश्रो लहर सुरु भए पनि उनीहरुलाई थप सेवा सुविधाको व्यवस्था प्रदेश सरकारले गरेको छैन ।

सो केन्द्रमा कार्यरत घर नभएका स्वास्थ्यकर्मीका लागि उपचार केन्द्र नजिकै रहेको पुरानो घर छुट्याइएको छ । तर पुरानो घर व्यवस्थित नभएको भन्दै स्वास्थ्यकर्मीहरु बस्न मानेका छैनन् । खाना पनि गुणस्तरयुक्त नभएको उनीहरुको गुनासो छ । कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै केन्द्रमा अहिले ३२ जना गम्भीर अवस्थाका संक्रमित उपचाररत छन् ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.