रोल्पाको पिराले गाउँमा आगलागी हुँदा २५ घर जलेर नष्ट

१५ बैशाख २०७८, बुधबार १३:२३

काठमाडौं । सोमबारदेखि रोल्पाको नुवागाउँबाट सुरु भएको भीषण आगलागीबाट पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । त्रिवेणी–२ नुवागाउँस्थित सामुदायिक वनबाट फैलिएको आगो दुई दिनपछि पिराले पुग्दा पनि नियन्त्रणमा आइसकेको छैन ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुधबार आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । तीन दिनदेखि लागेको आगो नियन्त्रणमा लिन स्थानीयले भरमग्दुर प्रयास गरे पनि सकेका थिएनन् ।

आगोमा परेर खादान्न, लत्ता कपडा लगायत सबै जलेर नष्ट भएको छ । एक जंगलबाट फैलिएको आगो दर्जन सामुदायिक वनमा फैलिएको छ । त्रिवेणीबाट फैलिएको आगो छिमेकी गाउँपालिका रुन्टीगढीसम्म फैलिएको छ । हालसम्म गोठसहित ४० वटा घर जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार आगोमा परी १६ वटा बाख्रा, ७ वटा गाई, १ वटा बंगुर जलेर मरेका छन् । आगोले खानेपानीका पाइप र बिजुलीका तारसमेत जलेर नष्ट भएको छ ।

सबैभन्दा बढी क्षति पुगेको पिराले गाउँमा प्रजिअ, गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि र रेडक्रसका प्रतिनिधि राहत लिएर घटनास्थल पुगेका छन् । निरन्तर आगलागी भएकाले गाउँभरी धुँवा र तुँवालो फैलिएको छ ।

आगलागी पीडितको उद्धार गर्न र आगो नियन्त्रण गर्न स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । प्रहरीका अनुसार तीन दिनभित्र २ सय हेक्टरभन्दा बढी क्षेत्रमा आगो फैलिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.