लुम्बिनीमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त

१६ बैशाख २०७८, बिहीबार २०:१२

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए ।

प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै जसपाका चार सांसदलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए । प्रदेशसभा सचिवालयले निकालेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.