एमाले महाधिवेशन आयोजक कमिटीको निर्णय सच्याएर नेताहरुको जिम्मेवारी हेरफेर

१७ बैशाख २०७८, शुक्रबार २१:०७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णय सच्याएर अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् । १० वैशाखमा गरिएको कार्यविभाजन सम्बन्धी निर्णय सच्याएर १३ वैशाखमा अपानि जारी गरिएको छ ।

सच्चिएको अपानिमा केही नेताहरुको जिम्मेवारी हेरफेर भएको छ । अपानिअनुसार महेश बस्नेत, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, दावा लामा, भगवती चौधरी, ज्वालाकुमारी महतोलगायतको जिम्मेवारी हेरफेर भएको छ । बालुवाटार बैठकले गरेको निर्णयपछि बधाइ लिइसकेका नेताहरूले अपानि जारी भएपछि जिम्मेवारी गुमाएका छन् ।

मुख्यगरी बस्नेत र गुरुङको जिम्मेवारी खोसिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । पार्टी बैठकले पूर्वमन्त्री बस्नेतलाई युवा संघ नेपाल र नेपाल खेलकुद महासंघ तथा सम्बद्ध संस्थाहरुको इन्चार्जको जिम्मेवारी दिएको थियो । तर, अपानि अनुसार भने बस्नेतलाई नेपाल खेलकुद महासंघको इन्चार्जबाट हटाइएको छ ।

यो जिम्मेवारी माओवादी पृष्ठभूमिका नेता एवम् युवा तथा खेलकुद मन्त्री दावा लामालाई दिइएको छ । पार्टी बैठकले लामालाई युवा तथा खेलकुद विभागको प्रमुख तोकेको थियो । अब लामाले पार्टी संगठनमा दोहोरो जिम्मेवारी र मन्त्रालयको नेतृत्व गर्नेछन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री पार्वत गुरूङको जिम्मेवारी पनि अपानिले खोसेको छ । पार्टी बैठकले गुरुङलाई गाउँपालिका महासंघ, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन र दोलखा जिल्लाको इन्चार्ज दिने निर्णय गरेको थियो ।

तर, अपानिमा भने गुरूङ दोलखा जिल्लाको इन्चार्ज मात्रै छन् । बाँकी जिम्मेवारी गोकुल बाँस्कोटालाई दिइएको छ । अपानिबाट थप जिम्मेवारी पाएका बाँस्कोटालाई पार्टी बैठकले भने काभ्रे जिल्लाको इन्चार्ज मात्रै दिएको थियो ।

यस्तै जिम्मेवारी हेरफेर हुनेमा सुनसरी जिल्लाको सहइन्चार्जबाट भगवती चौधरी इन्चार्ज बनेकी छन् भने बाराका सहइन्चार्ज तोकिएका बलबीर चौधरीलाई बढुवा गर्दै इन्चार्ज बनाइएको छ । बालुवाटार बैठकबाट असन्तुष्टि जनाउँदै बाहिरिए पछि अपानिबाट चौधरीको जिम्मेवारी हेरफेर गरिएपनि अन्य नेताहरूको असन्तुष्टि सार्वजनिक भएन ।

तर, एक नेताका अनुसार, पार्टीभित्र विवाद बढेपछि मिलाउन अध्यक्ष ओलीले जिम्मेवारी हेरफेर गरेर अपानि जारी गरेका हुन् । ओली निकट नेताहरू विभाजित भएकै कारण जिम्मेवारी हेरफेर गर्नुपरेको ती नेताले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.