एकैदिन थपिए ७ हजार २११ कोरोना संक्रमित, २७ जनाको मृत्यु

१९ बैशाख २०७८, आईतवार १७:५०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।


यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ रहेको थियो । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।


यही अवधिमा थप १ हजार ६१२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड संक्रमित फेला परेका छन् । एकै दिनमा काठमाडौँ उपत्यकामा ३५ सय ९५ संक्रमित फेला परेका हुन् । यसमध्ये काठमाडौँ जिल्लामा मात्र २७ सय ४४ जना रहेका छन् भने ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित रहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.