कारुणिक कोभिड

'टेकुका डाक्टरको याचना, ‘एक लिटर भए पनि अक्सिजन ल्याउ, मान्छे कोल्याप्स हुन लाग्यो ' ,’ सरकार, एउटा बेड पाऊँ, प्लिज !’


‘बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु,’ ‘श्रीमान्‌को कोभिड निको पार्न काठमाडौं आएकी थिइन्, चितामा दागबत्ती दिएर फर्किन्,’ ‘टेकुका डाक्टरको याचना, ‘एक लिटर भए पनि अक्सिजन ल्याउ, मान्छे कोल्याप्स हुन लाग्यो,’ उनी लाख बत्ती बाल्न दाङबाट पशुपति आएका थिए, कोभिडले पशुपति त पुर्‍यायाे, तर मृत,’ ‘अक्सिजनको हाहाकार : ‘अस्पतालले अक्सिजन छैन भनेर पठायो, हामीलाई आमाले छाडेर जानुभो,’ ‘छोरो बोल्ने आशमा शुक्रराजमा पर्खिरहेका एक बाबु ‘सन्तानको मायाले छोडेर जान सकिनँ,’ सरकार, एउटा बेड पाऊँ, प्लिज !’

यी अहिले नेपाली अनलाईन तथा कागजी अखबारमा बग्रेल्ती छापिएका कारुणिक दृष्य सहितका समाचारका प्रमुख शिर्षकहरू हुन् ।

माथिका हरेक शिर्षक अन्तर्गत छापिएका कोरोना बिरामीका चित्कार, भोगाई र घट्नाका केहि अंसहरु यहाँ तल प्रस्तुत गरिएका छन् ।

१. दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो । पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा बुबाको आइतबार मृत्यु भएको थियो । सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो । (बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु, RSS)

२. बिहीबार राति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्राङ्गणमा भेटिएकी थिइन्, गोरखाको शहीद लखन गाउँपालिका, ताक्लुङ्गकी ४० वर्षीया सविता लामिछाने । अस्पतालको प्राङ्गणमा भने बेड, भेन्टिलेटर र अक्सिजन नपाएर बिरामी ढलिरहेका कारुणिक दृश्य देखिन्थे । … अघिल्लो रात ‘बेडमा नलगेसम्म नछोड्नू है’ भनेका बाबुराम सदाका लागि छोडेर गइसकेछन् । (श्रीमान्‌को कोभिड निको पार्न काठमाडौं आएकी थिइन्, चितामा दागबत्ती दिएर फर्किन्– दिनेश गौतम)

३. ‘ए ! दाइ अक्सिजन ल्याउनु न । मान्छे जाने भइसक्यो । छिटो छिटो एक लिटरमा चलाइ रहेको मान्छेको सिलिन्डर ल्याउ ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको प्राङ्गणमा डा. अनुप बाँस्तोला आत्तिँदै अक्सिजन मागिरहेका थिए । प्राङ्गणको चिसो भुइँमा लम्पसार परेका कोभिडका एक बिरामी सास फेर्न गाह्रो भएर छटपटीरहेका थिए । उनको शरीरमा अक्सिजनको लेभल घटेर ३२ मा आइपुगेको थियो । (टेकुका डाक्टरको याचना, ‘एक लिटर भए पनि अक्सिजन ल्याउ, मान्छे कोल्याप्स हुन लाग्यो’)

४. एउटा शवलाई परिवारले श्रद्धाञ्जली दिएपछि अर्को शवको पालो आयो । पछाडि कालो झोला भिरेका एक युवा गेटनजिकै पुगे । उनले पनि बाहिरबाटै एउटा माला अर्पिए । झोलाबाट रामराम लेखेको रुमाल झिकेर मरेका बा’को छातीमा राखिदिए । टीठलाग्दो अनुहार बनाएका ती युवाले खल्तीबाट मोबाइल झिकेर बा’को अन्तिम तस्वीर लिए । उनले फाेटाे खिचेलगत्तै सेनाको टोलीले शव उठाइहाल्याे । बा’लाई अन्तिम बिदाइ गर्न उनी एक्लै उपस्थित थिए । धूप सल्काउन पनि उनलाई अर्कैले साथ दिनु पर्‍यो । दुई वटै शवको श्रद्धाञ्जली सकिएपछि सेनाको टोलीले अलि पर लगेर दुवो चढाएर सलामी दियाे । र, अन्तिम संस्कारका लागि शवलाई विद्युतीय शव दाहगृहभित्र लगियाे । गेटबाहिर भने मृतकका आफन्तका आँखाबाट आँसु ढिक्का राेकिएनन् । (उनी लाख बत्ती बाल्न दाङबाट पशुपति आएका थिए, कोभिडले पशुपति त पुर्‍यायाे, तर मृत– दिनेश गौतम)

५. काठमाडौं जोरपाटीकी ६४ वर्षीया उमादेवी पुडासैनीलाई असहज भयो । तत्काल उनले अस्पताल लैजान छोराहरूलाई विलाप गरिन् । घर नजिकै थियो, नेपाल मेडिकल कलेज । केही दिनअघिदेखि उनलाई सामान्य रुघाखोकीले च्यापेको थियो । लक्षण कोभिडसँग मिल्दोजुल्दो थियो । छोराहरूले तत्कालै उनलाई मेडिकल कलेजमा पुर्‍याएर पीसीआर परीक्षण गराए । अन्तत: उनको रिपोर्ट आयो, पोजिटिभ । ‘अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै आमाको शरीर थप शिथिल भइसकेको थियो’, उमादेवीकी छोरा नविन भन्छन्, ‘अस्पतालले अक्सिजन छैन । भर्ना गर्न सक्दैनौं । बिरामी लैजानुहोस् भन्यो ।’ कतै राखिहाल्छ कि भन्ने आशमा आमालाई उनले मेडिकल कलेजको चौरमै दुई घण्टा राखे तर अस्पतालले भर्ना लिएन ।

आमा चौरमै छटपटिन थालेपछि नविनको दाजुभाइले अरु अस्पतालमा अक्सिजन र बेडको तलास गर्न लागे । ‘सिभिल, ह्याम्स, निदान सबै अस्पतालमा बेड र अक्सिजका लागि फोन गर्‍यौं, कतै मिलेन । अस्पतालहरूले अर्को बिरामी डिस्चार्ज भएपछि खबर गर्छौं भने’, उनी भन्छन्, ‘अक्सिजन र बेड नपाएपछि आमालाई घरमै ल्यायौं । आफन्तकोमा एउटा अक्सिजन रहेछ त्यही प्रयोग गर्‍यौं ।’ उमादेवीलाई हाइफ्लो अक्सिजन र आईसीयू चाहिने थियो । तर, उनले अक्सिजन र आईसीयू नपाएपछि रोगले च्यापेको २४ घण्टा नबित्दै घरमै अन्तिम सास फेरिन् । ‘अस्पतालले अक्सिजन र बेड छैन भनेर पठायो, हामीलाई आमाले छोडेर जानु भो’, स्तब्ध हुँदै नविन भन्छन्, ‘यस्तो होला भनेर सोचेको पनि थिएनौं ।’ (अक्सिजनको हाहाकार : ‘अस्पतालले अक्सिजन छैन भनेर पठायो, हामीलाई आमाले छाडेर जानुभो’ दिनेश गौतम)

६. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको परिसरमा सोमबार मानिसहरू यताउता ओहोरदोहोर गरिरहेका छन् । कोही भने उभिएर केही होला जस्तै गरी रमिता हेरेर उभिएका छन् । धेरै संक्रमितहरू बेड नपाएकाले भुइँमा सुतेर र फलामकै बेञ्चमा बसेर भएपनि प्राण वायु मुखमा लगाएका छन् । अस्पतालमा भएका सबैको मुहारमा भएको हाँसोलाई हरियो सानो मास्कले छेकेको छ । लाग्छ त्यहाँ भएका सबै मानिसहरू आँखाले हाँसिरहेका छन् । कोही भने लखतरान भएर पल्टिरहेका छन् । हेर्दा लाग्छ त्यहाँ ,’ अस्पतालमा ठूलो विपत्ति आइपरेको छ र सबै त्यहीँ हेर्न बसेका जस्ता छन् ।’ त्यहीँ भिड भन्दा अलग्गै थकित र निराश मुद्रामा एक वृद्ध अस्पतालको फुलबारीमा बसिरहेका छन् । उनी दक्षिण काठमाडौँ चन्द्रागिरी नगरपालिकाका ६३ वर्षीय कमल परियार हुन् । हातमा भएको दुई वटा मोबाइल हेरिरहन्छन्, उनको नजर घरिघरि अस्पतालको इमर्जेन्सीतर्फ तेर्सिन्छ । अब उनको एउटै मात्र इच्छा छ,’छोराको निको भएर मलाई बोलावस भन्‍ने छ ।‘ (छोरो बोल्ने आशमा शुक्रराजमा पर्खिरहेका एक बाबु ‘सन्तानको मायाले छोडेर जान सकिनँ’ अतिन आचार्य)

७. कोरोनाका एक बिरामी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आँगनमा अक्सिजन लिँदै छटपटाइरहेका थिए । उनले भने, ‘मेरा बुवाले महानगरमा काम गर्दागर्दै घरमा कोरोना रोग ल्याउनुभयो । हामी परिवारका सदस्य सबै नौ जना नै संक्रमित छौं । मलाई अझै कोरोना निको भएको छैन। परिवार अनि बुवालाई बचाउन सकि नसकि हिँडिरहेको छु।’ (सरकार, एउटा बेड पाऊँ, प्लिज !)

सरकार सुन्छ तर कार्यान्यवन गर्दैन । कार्यान्वयन गर्न भन्दा निर्देशन दिन सरकारलाई हतार छ । सरकार मुलुकभरका सबै अस्पताललाई अक्सिजनको व्यवस्था गर्ने र बेड अभाव नभएको घोषणा गर्न व्यस्त छ । तर, कर्णली प्रदेश अस्पताल अक्सिजन अभावले थप संक्रमित भर्ना नलिने सूचना निकाल्न तल्लिन छ । कर्णाली भोक, गरिबी, दुर्गम क्षेत्र, रोग र अशिक्षाले सधैँ पिरोलियो । यसटपक भने सिंगो कर्णालीलाई निको नहुने गरी रोगले गाँजिसकेको छ । त्यसैको परिणाम अस्पताल छ, बेड छ, सिलिन्डर पनि छ तर कोभिड संक्रमितलाई चाहिने अत्यावश्कयीय अक्सिजन छैन । (भोकले गालेको कर्णालीलाई फेरि अक्सिजनको अभावले पिरोल्दै ‘अस्पतालमा बेड छन्, अक्सिजन प्लान्टको उत्पादनले धान्दैन‘ अतिन आचार्य)

अहिलेसम्ममा कोरोना महामारीबाट ५ हजार भन्दा बढिले ज्यान गुमाईसकेका छन् भने ४ लाख ५० हजार भन्दा बढी संक्रमित भएका छन् । हरेक दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०० को वरिपरि छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope