महानगर खेलकूद विकास समितिका अध्यक्षमा गोदार

कास्की । पोखरा महानगर खेलकूद विकास समितिको अध्यक्षमा दीपक गोदार नियुक्त हुनुभएको छ । पोखरा महानगरपालिका–१७ निवासी गोदारलाई महानगर खेलकूद विकास ऐन २०७५ को दफा ३ अनुसार कार्यपालिका बैठकको निर्णयानुसार आज अध्यक्ष पदमा नियुक्त गरिएको महानगर शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिनुभयो ।
पर्यटकीय शहर पोखरामा खेलकूद विकास तथा खेल गतिविधिको अभिवृद्धिका लागि महानगरले खेलकूद ऐन तयार गरेको थियो । अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ । नवनियुक्त अध्यक्ष गोदार राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी सङ्घ कास्कीको अध्यक्ष र मोयाथाई किक बक्सिङ्का प्रशिक्षक हुनुुहुन्छ ।
उहाँ कराँतेका अन्तराष्ट्रिय पदक विजेता खेलाडी समेत हुनुहुन्छ । अध्यक्षमा नियुक्त भएपछि गोदारले आफ्नो उर्जाशील समय खेलकूदमा समर्पित गरेको बताउँदै पोखरालाई खेलकूद नगरीको रुपमा चिनाउन र खेलाडी उत्पादनमा विशेष काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष गोदारले यसअघि जिल्ला खेलकूद विकास समितिको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । गोदार नेकपा एमाले निकट खेलकूद महासङ्घ कास्कीको संयोजक समेत हुनुुहुन्छ । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले विसं २०७५ मा आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा गोदार उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको थियो । उहाँको प्रशिक्षणमा नेपाली खेलाडीले मकाउ, थाइल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका थिए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस