कोभिडको त्रासबीच कसरी आत्मबल बढाउने ?

घातक रोगहरूसँग लड्न र परास्त गर्न सहयोग पु¥याउने नै आत्मबल हो । मृत्यु देखि डराउने होईन !


अहिले कोभिडबाट सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या पहिलाको भन्दा कयौँ गुणाले बढी छ । सामाजिक सञ्जालमा हामीले चिनेका थुप्रै मानिसका तस्विर राखेर हार्दिक श्रद्घाञ्जली लेखिएका पोस्टहरू हामीले भेटिरहेका छौँ, देखिरहेका छौँ । समाजका धेरै असल, सुन्दर, बलिया र प्रतिष्ठित मानिसहरूको मृत्युको खबर पनि हामीले सुनिरहेका छौँ । त्यस्तो खबरले हामी झन् डराइरहेका छौँ । आज ठीक भएका कोभिडका बिरामीहरू भोलि फेरि साह्रो–गाह्रोमा परेका अवस्थाबारे पनि हामीले समाचारमा पढिरहेका छौँ । हामी दैनिकजसो साक्षात्कार गरिरहेका छौँ भावविह्वलपोस्ट र दर्दनाककथाहरू । त्यस्ता पोस्टहरू देख्दा हामी निराश पनि भएका छौँ र ‘मरिन्छ कि क्या हो !’ भन्ने सन्त्रासले आफैँ कमजोर पनि बनिरहेका छौँ । यस्तो अवस्थामा हामीले कसरी आत्मबल बढाउन सक्छौँ ? आउनोस् यसबारे केही चर्चा गरौँ ।

१. पहिलो कुरा त हरेक मानिस र त्यस मानिसभित्र रोगको प्रवेश एकै किसिमले हुँदैन । शारीरिक बनोट, शरीरभित्रको रोग प्रतिरोधात्मक क्षमता, मानिसको दैनिकी, स्वस्थ जीवनयापन र उसको मनोबल आदि कुराले त्यस व्यक्तिको जीवन अवधि र भाइरससँग लड्ने क्षमताको निर्धारण गर्दछ । जन्मसँगै आउने मानिसको जीन र उसले बनाएको वातावरण साथै रहनसहनले पनि ऊ रोगसँग कतिको लड्न सक्छ भन्ने कुराको निर्धारण गर्छ । त्यसैगरी कस्तो किसिमको भाइरस कस्तो शरीरमा प्रवेश गरेको छ, त्यो पनि महत्त्वपूर्ण कुरा हो । अहिले भेटिएका तीन किसिमका कोरोना भेरियन्टहरू मध्ये कुनै भेरियन्ट निकै नै घातक हुने भनिएको छ । सबै व्यक्तिलाई एकै किसिमको भेरियन्टले आक्रमण गर्छ भन्ने पनि छैन । मेरै अनुभवको कुरा गर्दा मैले केही दिनअघि ‘मलाई कोभिड यसरी लाग्यो र यसरी ठीक भयो’ आलेखमा लेखेको थिएँ—
अहिले अनेक किसिममा कोभिड भेरियन्टहरू भएकाले सबैलाई एकै किसिमको लक्षण हुन्छ भन्ने ग्यारेन्टी हुँदैन र सबैलाई एकै किसिमले गाह्रो पार्छ भन्ने पनि छैन । जस्तो मेरी श्रीमतीकी दिदी र भिनाजुलाई लागेको भाइरल इन्फेक्सन मेरो भन्दा कम थियो तर पनि उहाँहरूलाई ५–१० दिनसम्म अक्सिजन दिनुप¥यो । उहाँहरूलाई मलाई भन्दा बढी गाह्रो पा¥यो ।

त्यही भएर आफूले बलियो ठानेको मान्छे कोभिडका कारण म¥यो भन्नुको अर्थ यो होइन कि तपाईंलाई लाग्यो भने तपाईं पनि मरिहाल्नु हुन्छ । तपाईंले देख्नु र पढ्नु भएकै छ नेपाल र विश्वकै सन्दर्भमा हेर्ने हो भने पनि ९० प्रतिशतभन्दा बढी कोरोना संक्रमितहरू निको भएर घर फर्किसकेका छन् ।

२. दोस्रो कुरा के हो भने, एकछिनलाई मानौँ तपाईंलाई कोरोना लाग्यो तर तपाईं आत्तिहाल्नु पर्दैन । कोरोना लागिसकेपछि आफूले अपनाउनु पर्ने प्रोटोकललाई अक्षरशः पालना गर्ने । जस्तै— कोरोनाको जाँच तुरून्त गर्ने, आइसोलेसनमा बस्ने, ज्वरो घटाउने औषधी खाने, उमालेको पानी पिउने, झोलिलो चीज बढीभन्दा बढी खाने, प्रोटिनयुक्त खाना खाने, अक्सिजन लेभल अक्सिमिटरले नापिराख्ने, ज्वरो र खोकी २–३ दिन लगातार आइरहे निमोनिया भए नभएको यकिन गर्न छातीको पनि एक्सरे गर्ने । प्रायः धेरैलाई मलाई ठीक भए जस्तै घरमै बसेर ठीक हुन्छ । यसो गर्दागर्दै पनि कोही कोहीलाई साह्रो पार्न सक्छ, त्यतिबेला हो तुरून्त अस्पतालमा भर्ना हुने । अस्पतालमा भर्ना हुँदा पनि पटक्कै आत्तिनु पर्दैन किनकि धेरै गाह्रो भयो भने अक्सिजन लगाएर बस्नुपर्ने हुनसक्छ । त्यो ठूलो कुरा होइन किनकि भेन्टिलेटरमा पुगेर पनि धेरै कोभिड बिरामी निको भएर फर्किनुभएको छ । अक्सिजन लगाएर मात्रै बस्नु त सामान्य कुरा हो ।

३. यी सबै कुराहरू गर्दागर्दै पनि कोही कोही मृत्युको मुखमा पुग्न बाध्य हुन्छन् । यो कठोर सत्य हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ, सुनिरहेका छौँ । आखिर मृत्यु नै हुन लेखेको रहेछ भने हामीले जति नै, जे नै गरे पनि केही हुनेवाला छैन किनकि मृत्यु नै जीवनको अन्तिम सत्य हो । हरेक घटनाको पछाडि खास कारण हुन्छ सायद त्यही भएर कसैको मृत्यु भयो भनेर सम्झनुपर्छ । मेरी श्रीमतीले एक वर्षअघि ५ महिनाको फरकमा आफ्ना बुवाआमा दुवै अभिभावक गुमाइन् । त्यो अकल्पनीय थियो । उक्त घटनाले उनलाई भावविह्वल त बनायो नै तर त्यो भन्दा बढी उनले त अगाडिको जीवन नै देखिनन् । यद्यपि उनीसँग १ वर्षकी छोरी थिइन् र उनलाई माया गर्ने उनको श्रीमान् म साथमै थिएँ । बिस्तारै उनले मृत्यु स्विकारिन् । आखिर जीवन त चलाउनै पर्ने रहेछ । उनले त्यो बुझिन् ।

सम्भव भएसम्मका सबै प्रयास गर्दागर्दै पनि यदि कसैको वा आफन्तको मृत्यु भएछ भने पनि आत्तिनहालौँ । मृत्यु आखिर जीवनको अन्तिम यात्रा रहेछ । त्यो कतिबेला तय हुन्छ त्यो मात्र थाहा नहुँदो रहेछ तर यात्रा त सबैले गर्नै पर्दोरहेछ । मृत्युको पनि आफ्नै जीवन हुँदोरहेछ जसरी यात्रा एक जीवन हो । हो, त्यसरी नै सम्झौँ र अरूलाई पनि सम्झाऊँ ।

विजयकुमारको पुस्तक ‘सम्बन्धहरू’ को एक शीर्षक ‘मृत्युु’ अन्तर्गत उनी लेख्छन्— मृत्युसँग डराउनु हुन्न । तर, मृत्युबोध हुनैपर्छ । मृत्यु भनेको घडी हो । मान्छेले सही टाइम दिने घडी लगाउनुपर्छ । हातमा घडी नलगाए पनि हुन्छ । मनमा त्यो घडी लगाएको राम्रो । समयसीमाको सूचक । मृत्युबोधबाट प्रेरणा लिन जान्यौँ भने, समय खेर फाल्दैनौँ । (पृष्ठ, २४१ ।)

व्यासले छोराको मृत्युमा शोक सन्तप्त धर्मराज युधिष्ठिरलाई पनि मृत्युदेखि डराउन किन हुँदैन भनेर यसो भनेका थिए—
मृत्यु एउटा यस्तो व्यवस्था हो, जसको एक मात्र उद्देश्य संसारको हित गर्नु हो । अतः मृत्युदेखि डराउँदै त्यसका लागि शोक गर्नु उचित हुन्न । जो मरेर गएका छन् तिनका प्रति शोक गर्नु कुनै अर्थ छैन । वास्तवमा शोक त जीवित रहेर मृत्युको प्रतिक्षा गर्नेहरूका लागि गर्नुपर्छ ।

व्यास विभिन्न पौराणिक एवं ऐतिहासिक उदाहरण दिँदै भन्छन्— संसारमा जति पनि कीर्तिवान्, प्रतापी, धनसम्पत्ति सम्पन्न, भाग्यमानी मानिस रहेका छन् ती सबैले अन्त्यमा शरीर छोडेर जानुपर्छ । मृत, सुक्षेत्र, शिवी, दिलिप, मन्धता, ययाती, अम्बरिष, रतिदेव, भरत, पृथु आदि चौधै यशस्वी सम्राटहरू पनि आखिर मृत्युकै फेला परे । छिट्टै स्वर्ग पुग्नेहरूका निम्ति शोक गर्नु हुँदैन । कुनै पनि घटनामा दुःखको अनुभव गर्न थाल्यो भने दुःख बढ्दै जान्छ । विवेकशील व्यक्तिले शोकलाई मनबाट हटाइदिनुपर्छ र आफ्नो कर्तव्यको पालन गर्दै सद्गति प्राप्त गर्ने प्रयासमा निश्चिन्त भै अगाडि बढ्नुपर्छ । (महाभारत कथा, पृष्ठ, २७३ ।)

अतः आत्मबलले धेरै घातक रोगहरूसँग लड्न र परास्त गर्न सहयोग पु¥याउने भएकाले यो कोभिडका महामारीबीच आत्मबललाई सधैँ उच्च राख्न सकियो भने जीवन जोगाउन सहज हुनेछ ।

(नोट ः माथि उल्लिखित मृत्यु सम्बन्धी कतिपय उद्गारहरू मेरो प्रकाशोन्मुख पुस्तक ‘मृत्यु चिन्तन’ बाट साभार गरिएको हो ।)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope