ब्युरोक्र्याट आइमाई


बेटर हाफलाई बेड टि दिएर ब्युँझाउँदै
सुरु हुने उसको बिहानी,
बिबिसी अनलाइन् रेडियो
अङ्ग्रेजी अखबारका हेडलाइन्स्
ब्राउन ब्रेड र मेयोनिज
व्हाट्स एपको ग्रुप च्याट र
फेसबुकको क्विक अपडेट
ट्विटरमा सानो ट्विट
हरदर यसरी नै सुरू हुँदो हो एउटा
रङ्गीन, उत्तरआधुनिक
ब्युरोक्र्याटको व्यस्त दिनचर्या ।

हुरीले उडाइल्याएको काउसोझैँ
आफू वरिपरि टाँसिएको
दरबानको सलज्ज सलाम्
पि ए को छड्के नजर
अनि अर्दलीको लोभिलो हेराइ
टकटक्याउँदै, पन्साउँदै
सुव्यवस्थित गर्दो हो उसले आफ्नो
सुकोमल कायालाई
सुसज्जित चेम्बरको रिवाल्भिङ कुर्सीमा ।

बेफुर्सदी फाइलका पानाहरूमा
आज्ञाकारी सिपाहीसरह
युद्ध लडिरहन्छन् उसका सिपालु औँलाहरू।

सभा र सौजन्य भेट
अनि बहसहरूमा समेत
एउटा रूटिन मुस्कान कायम राख्नपर्ने

कठोर आदेश सुनाइराखेर
छेवैमा निर्लज्ज सुस्ताइरहन्छ उसको
अपोइन्टमेन्ट डायरी।

ऊ जान्दछे एउटा सूक्ष्म सत्य
बहस होस् वा सौजन्य भेट
मुद्दाभन्दा बढी फोकस रहन नै सक्छ
उसका स्लीवलेस पाखुरामा
अथवा गुलाफी ओंठमा
कोमल गर्दन या रेशमी कपालमा।

केही डिग्नीटरी नजर छलेर
ताक्नेछन् अर्द्धखुल्ला छात्ती
मनमनै खुल्ला दस्तावेजझैँ
पल्टाउनेछन् उसलाई कति।

दिनहुँ आइपर्ने यस्ता अप्ठ्यारा पलहरूमा
अकस्मात्,
एउटा पातलो डोरीले उसलाई
पब्लिक डकुमेन्ट सरह तुर्लुङ्ग झुण्ड्याइदिँदो हो
दफ्तरको सूचनापटमा ।

तत्काल घोषित हुने एउटा अनाम इमर्जेन्सीमा
एउटा तातो स्क्यानरमाथि
राखेर उसको नरम शरीर
लेजरका निर्मम किरणहरूले
भटाभट उतार्दो हो उसको रङ्गीन फोटोकपी।

तमाम आपात युद्धहरूमा
घाइते भइरहँदा हुन् यसरी नै शायद
उसका अश्वमेधी उडानहरू
अथवा भाँच्चिँदा हुन् यसरी नै सायद
विजयरथका पाङ्ग्राहरू।

एउटा अस्त्रहीन योद्धा यसरी नै सायद
बनाइँदो हो एउटा कोरा कागज
जसमाथि, जथाभावी कोरिनलाई
सल्बलाइरहन्छन् तम्सिरहन्छन्
किरिङ मिरिङ धर्काहरू।

मिनट बुक लेख्दै सबोर्डिनेट
ताक्दछ गोरा चिल्ला गाला
कुनै अन्जान स्पर्शसितै अर्दली
टक्राउँदछ कफीको प्याला।

सफल बहसको स्याबासीसितै
वा विफल सभाको क्षोभसितै
बडा सा’बका बलिया खस्रा हातहरू
सधैंझैँ राखिँदा हुन्
उसको नरम काँधमाथि।

एउटा महसूलविनाको रियासत
एउटा टोल फ्रि राजमार्ग
एउटा अनाधिकृत प्रवेश क्षेत्र
एउटा अतिक्रमित पब्लिक डोमेन
एउटा कोमल शरीरको छेउकुना
अनगन्ती आकस्मिक दुर्घटना।

ढल्दो दिनको लखतरान
अपरिभाषित थकाइसितै
ऐनाभरि टाँस्सिएको ड्राइभरको
लज्जालु हेराइसितै
घरदैलो अघि आइपुग्दो हो एउटा रङ्गहीन आकृति !

जाँच र रपटभरि जताततै
कार्य अकुशलताको
अनि थुप्रै विफलताको
लाल स्याही पोतिएर कुनामा थन्क्याइको
एउटा अवाञ्छित रिपोर्टकार्डजस्तो
ब्यूरोक्र्याट आइमाई जिन्दगी ।

कवि: पवित्रा लामा

(दार्जिलिङ)

साभार: नेपाली साहित्य घर


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope