ओली र भण्डारीको नालायिकीको पराकाष्ठा


कोरोना महामारीले ६ हजारभन्दा बढी नेपाली नागरिकको प्राण लिइसकेको र यो महाव्याधि उग्र हुँदै गइरहेको समयमा त्यसलाई बेवास्ता गर्दै र संविधानलाई कुल्चिँदै गरिएका ओली र भण्डारीका हरेक क्रियाकलापले नेपाली जनताको अपमान गरेको छ । राष्ट्र प्रमुख र सरकार प्रमुख दुवै प्रमुखहरूबाट लोकतान्त्रिक व्यवस्था संविधान सम्मत, पारदर्शी र उत्तरदायी हुन्छ भन्ने मान्यताको नराम्रो गरी धज्जी उडाइएको छ ।

ओलीले भण्डारीलाई निर्देशन दिनु, त्यसमा भण्डारीले सहमति जनाउनु, ‘सबै आफ्नै पकेटका मान्छे हुन्’ झैँ गरेर हरेक राजनीतिक निर्णय गर्नु र संविधान विपरीत जानुले यो देश कतै गम्भीर दुर्घटनामा त फस्दै छैन भन्ने सङ्केत गर्छ । ओली र भण्डारीको चर्तिकला देशको लागि घातक छ ।

के संविधानको पालक र रक्षक राष्ट्रपति र मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट हुनुपर्ने यही थियो ? किन मुलुकबासी मस्त निद्रामा रहेको मध्यरातमा संसद् विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो निर्णय लिए ? अक्सिजन नपाएर छटपटाइरहेका नेपाली जनताका लागि रातारात लिनुपर्ने निर्णय भनेको त कसरी अक्सिजन उपलब्ध गराउने भन्ने होइन र ? कसरी कोरोना महामारी विरुद्ध लड्ने भन्ने उपाय र योजना बनाउनु पर्ने होइन र ? के यो अहिले मध्यावधि निर्वाचनको मिति तोक्ने समय थियो ? विश्वासको मत प्राप्त नहुनबित्तिकै ओलीले राजीनामा दिएर राजनीतिक निकासको मार्ग प्रशस्त गरिदिनु पर्ने होइन र ?

महामारीको प्रकोपले नेपाली जनता आतङ्कित भएको समयमा संविधान र संसद्को हुर्मत लिँदै चालिएको ओलीको कदम आखिर एउटा अक्षम्य अपराध नभएर के हुन सक्छ ? अविश्वासको प्रस्ताव आएपछि पनि सत्ता र कुर्सी मै टाँसिरहन खोज्ने ओली प्रवृत्तिको कारण हुन गएका यस्ता राजनैतिक निर्णयहरूले देशलाई ठूलो क्षति पु¥याएको छ । यसले ओली र भण्डारीलाई अपराधी साबित गरिदिएको छ ।

आत्मीय प्रेमी प्रेमिका झैँ देखिने गरी गरिएको ओली र भण्डारीको हर्कत सबै नेपालीसामु छर्लङ्ग छ । चाहे त्यो सपथ लिँदाका क्षणमा ‘यो पर्दैन’ भन्ने ओली र ‘हि हि’ गर्दै हाँस्ने भण्डारीको घटना होस् या ओलीले गरेका हरेका बितण्डामा भण्डारीले लालमोहर लगाउँदै आएको क्षण होस् । यसले के देखाउँछ भने यिनीहरूले देशलाई आफ्नो बपौती सम्झिएका रहेछन् । त्यही भएर यिनीहरूले लोकतन्त्रको उपहास गर्दै निरङ्कुशतन्त्र चलाउँदै छन् ।

धेरै भयो ओलीले हरेक नागरिक, जाति, वर्ण र लिङ्गको मजाक उडाएको । एक पटक होइन, पटक–पटक यिनले राष्ट्रवादको नाममा नागरिकलाई भ्रमित बनाएको । अनेक किसिमका षड्यन्त्रकारी सिद्धान्त ल्याएर गलतलाई सही र सहीलाई गलत भन्दै दुःखी नेपाली जनतालाई अझ दुःख दिएको । यतिसम्मको छलकपट त दुनियाँका कुनै पनि तानाशाहले समेत गरेको छैन । त्यही निरङ्कुश, हुकुमी, नियन्त्रित, सैन्य शासन र सर्वसत्तावादी शासन व्यवस्था मात्र देखिने हर्कत ओलीले गरेका छन् । ओली र भण्डारीले संस्कारहीन राजनीति गरेर नेपाली जनतालाई अकल्पनीय पीडा दिएका छन् । यति साह्रो घिनलाग्दो प्रहसनको मञ्चन सायदै भएको होला नेपाली राजनीतिमा ।

अझै पनि लाज पचाएर ओली, भण्डारीको बचाउ गर्दै आएका छन्, चाहे त्यो भण्डारीले गरेको हस्ताक्षरको सन्दर्भमा होस् या भण्डारीलाई ‘तपाईं’ भनेर सम्बोधन नगर्दाको अवस्थामा होस् । ओलीलाई अक्सिजन नपाएर जनता मरून् वा चीत्कार र पीडामा तड्पिउन् त्यो सँग मतलब छैन । मतलब छ त केवल सत्ता, कुर्सीमा आफूलाई टिकाइराख्ने खेलसँग । भोलि जनता नै रहेनन् भने यिनले के राजनीति गर्छन् ? यो ओली र भण्डारीको नालायिकीको पराकाष्ठा हो । यो जघन्य अपराध हो । यस्तो आपराधिक क्रियाकलापमा संलग्न हुने पात्रहरूलाई महाअभियोग लगाएर जेल हाल्नुपर्छ तब मात्र नागरिक, राष्ट्र र राष्ट्रियता सृदृढ र सबल हुन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope