किन चर्चित भयो ‘हेर्ने कथा’ ?

विद्या चापागाईं र कमल कुमार द्वारा निर्देशित तथा टंक बराल द्वारा उत्पादन गरिएका ‘हेर्ने कथा’ नेपाली अनलाईन हेर्ने कथाहरू हुन् जुन ‘हेर्ने कथा‘ युटुब च्यानलमा उपलब्ध छन् । यी कथाहरूमा नभनिएका, नसुनिएका, सिमान्तकृत बर्गका आवाजहरु समेटिएका छन् । छोटा-छोटा डकुमेन्ट्री कथाको रुपमा उत्पादित यी कथाहरूले जीवन, मानवीय दैनिकी, पिछडिएका र दुखमा पिल्सिएका सिमान्तकृत वर्ग, दुर्गम ठाउँका दुख र पिडा लगायत विभिन्न विषयवस्तुलाई समेटेको पाईन्छ । पहिलो हेर्ने कथा २०७४ चैतमा प्रशारण गरिएको थियो । यी कथाहरूमा यस्ता ठाउँ र जीवनको खोजि गरेको पाईन्छ जाहाँ सत्ता र सरकारको आँखा कहिल्यै पुगेन ।

विद्या चापागाईं नेपाली पत्रकार हुन्। ‘हेर्ने कथा’मा काम गर्नु अघि उनी ‘साझा सवाल’ नामक टिभी कार्यक्रम चलाउँथिन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी चापागाईं विगतमा ‘नागरिक’ दैनिक पत्रिकामा समाचार शाखामा काम गर्थिन् । त्यस अगाडि उनले विभिन्न रेडियोमा कार्यक्रम सञ्चालन गरेकी थिइन्।
उनका डकुमेन्ट्रीहरू यति शक्तिसाली हुन्छन कि हेर्ने र सुन्ने जो सुकैको मनमा तुरुन्त बसिहाल्छन। ती कथाहरू हेर्न थालेपछि नसकिउञ्जेलसम्म उठ्न मन लाग्दैन । हेर्दा हेर्दै आँसु झरेको पत्तै हुँदैन । कमल कुमार र विद्या चापागाईं द्वारा सह निर्देशित डकुमेन्ट्री ‘मरिसकेको मान्छे’ ले काठमान्डू अन्तराष्ट्रिय माउण्टेन फेस्टिभल २०१८ मा ‘उत्कृष्ट डकुमेन्ट्री पुरस्कार’ पनि पाएको थियो ।
हेर्ने कथाले हरेक नेपालीको मन छोएका छन् । हरेक ‘हेर्ने कथा’मा दर्शकको भिउज, लाईक र कमेन्ट धेरै भेटिन्छ । त्यहाँ दर्शकको माया हेर्ने कथाप्रति अपरम्पार छ ।

किन यती धेरै माया पायो हेर्ने कथाले?
पत्रकार मोहन गुरागाईं ‘दि काठमान्डू पोस्टमा’ लेख्छन, ‘उनीहरुको कथा भन्ने शैली, विषयवस्तुले धेरैको मन तानेको छ, खासगरी सिमान्तकृत वर्गको दुखका कथाहरू आम नेपालीका कथा हुनुले पनि यस्तो भएको हुनसक्छ ।’ उनि थप्छन, ‘हरेक दुई हप्तामा आउने ‘हेर्ने कथा’ मा राम्रो गरि पत्रकारिताको ज्ञानलाई प्रयोग गरिएको छ । यस्ता कथाहरू छन् जहाँ राम्रो तलव पाएको सरकारी शिक्षकले आफ्नो जिम्मेवारी निभाएको हुँदैन भने अर्कोतिर कुनै शिक्षक देश र जनताप्रतिको उत्तरदायित्व आफ्नो हो भन्ने सम्झेर कुनै तलव बेगरै दुखमा भएका बिद्यार्थीको भविष्यको लागि, उनीहरूको ओठको खुशी देखेर, त्यहि खुशीका लागि रातदिन खट्छ । ‘ यस्ता बलशाली तुलनात्मक कथाहरु पाईन्छन ‘हेर्ने कथा’मा । त्यहि भएर पनि लाखौँको मन जितेको छ हेर्ने कथाले ।

त्यसैगरी एकचोटी पनि ‘हेर्ने कथा’ हेर्न नछुटाउने दर्शक रेवती भट्टराई भन्छिन, ‘यी कथा त मेरा लागि बनाएझैं लाग्छ । बरु म भात खान छुटाउन सक्छु, हेर्ने कथा छुटाउन सक्दिन । यी मेरा जीवनका कथाहरू हुन् । नेपाली समाजका कथाहरू हुन्। अपहेलित, पिछडीएका सिमान्तकृत समुदायका कथा हुन् । यी यस्ता कथा हुन् जहाँ सरकारको आँखा कहिल्यै पुगेन । यस्ता कथाहरू बाहिर आउँदा पनि पुगेन । ‘ भट्टराई पेशाले शिक्षक हुन् ।
यस्ता कथाहरू बाहिर ल्याउने विद्या चापागाईंको सोच भने एउटा ‘जादुमय महसुश’ सँगै आएको बताउँछिन । उनि भन्छिन, ‘पत्रकार भएको नाताले मैले मानिसका जीवनका कथाहरू खोज्नु हो, उनिहरुका पिडालाई सरकार सम्म पुर्याउनु हो । ‘

के सरकारले साच्चै हेर्दैछ त ‘हेर्ने कथा’ ?
उनका ‘हेर्ने कथा’ हरू उनकै युटुब च्यानल ‘हेर्ने कथा’ मा गएर हेर्न सकिन्छ । ‘हेर्ने कथा’का केहि भिड्योहरू पनि यहाँ तल राखिएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस