आज २५६५ औँ बुद्ध जयन्ती मनाइँदै


काठमाडौं । आज २५६५औँ बुद्धजयन्ती । सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी बुद्धजयन्ती मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गरी मनाउने गरिएको छ ।

तर कोरोना महामारीका कारण चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरुले पूजा तथा शान्ति प्रार्थना गरी बुद्धजयन्ती मनाउँदैछन् । यस वर्ष कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।

कोरोना महामारीका कारण यसपटक बुद्ध जन्मस्थलमा समेत कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन तर बुद्ध जन्मिएको मायादेवी मन्दिरमा भिक्षु, भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाहरुले पूजापाठ गर्ने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।

कोरोना महामारीलाई मध्यनजर गरी शान्ति प्रार्थना र दीप प्रज्वलन गर्ने कार्यक्रम मात्रै तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिए ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रूपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ ।

बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए, जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् ।
सम्राट अशोकले इपू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।

‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन् ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार त्यागेर ज्ञानको खोजीमा लागेका थिए ।

छ वर्ष ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाए । छत्तीस वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँच शिष्यलाई प्रवचन दिएका थिए, जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ ।
विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो ।

विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope