म मिडियाको मान्छे हुँ


हैट, यो कोभिड महामारीमा ठूलो संघर्ष पश्चात पोखराबाट काठमान्डू आईपुग्यो । मुङ्ग्लिनमा आईपुगेपछि सोधपुछ शुरु भएको कलंकीसम्म आईपुग्दा ५ ठाउँ भयो । हरेक ठाउँ त्यहि कुरा पचास चोटि दोर्ह्याउनु पर्यो । स्पष्टिकरण दिनुपर्यो । दुई ठाउँमा त (मुङ्ग्लिन र नागडुङ्गा) झन्डै आधा घण्टा नै रोकिदिए प्रहरी, ट्राफिक भाईहरुले ।

मैले उनीहरुलाई स्पष्टिकरण यसरी दिए, ‘यी हेर्नुहोस हामीसँग जिल्ला प्रशासन कार्यालयको पास पनि छ, सबै कुरा यहि भनिएको छ । अर्जेन्ट काम परेर पोखरा आएको थियौं, लकडाउनले गर्दा एक महिना यतै थुनियौ । हाम्रो घर नै काठमान्डू । त्यहि भएर आफ्नै घरमा सुरक्षित भएर बस्न हिडेका । देखिहाल्नु भो मेरा साथमा मेरी श्रीमती र दुई बर्षकी छोरी छिन । घरमा दुई बुढा बुवा-आमा । हाम्रो कोभिड रिजल्ट पनि नेगेटिभ छ । तपाईंहरु हामीलाई यस्तोबेला बीच बाटामा अलपत्र पार्न चाहनुहुन्छ?’

‘हामीलाई माथिबाट नै यस्तै आदेश आएको छ, सर, के गर्ने,’ एक प्रहरी भाईले भने ।

‘खोई कहाँ माथिबाट त्यस्तो आदेश आयो, म बोल्न सक्छु?’ मैले भने ।

‘म मिडियाको पनि मान्छे हो,’ त्यहीबेला मेरी पत्नी साधनाले थपिन ।

‘खोई तपाईंसँग मिडियाको आईडी छ?’ उनले फेरी सोधे ।

त्यहि बिचमा साधनाले मिडियाको आईडी देखाईदिन । त्यसपछि ‘ठिकै छ तपाईं जानुहोस’ भनेर ती प्रहरी भाईले भने ।
फेरी अलिक अगाडि आएपछि, अर्को जाँचबुझको लामो लाईन रहेछ। करिव १५ मिनेट पछि हाम्रो पालो आयो । मैले तिनै कुरा दोर्ह्याए। त्यसपछि एक ट्राफिक भाईले ‘९८५१२८६१०० मा फोन गर्नुहोस’ भने। मैले उहाँलाई फोन गरेर तिनै कुरा दोर्ह्याए । ‘अहँ, कुनै हालतले हुँदैन’ उताबाट भने ।

‘म पनि पढे लेखेकै मान्छे हो सर , यस्तो अवस्थामा भिड गर्नु हुँदैन, धेरै हिड्डुल गर्नु हुँदैन भन्ने म आफै पनि बुझाउदै हिड्ने मान्छे, मेरी दुई बर्षकी छोरी छन, मेरो घर काठमान्डू, घरमा बुडा बाउ-आमा, मेरो अर्को हप्ता बाहिरको फ्लाईट छ । त्यहि लकडाउनले गर्दा पोखरा नै रोकिएँ एक महिना । मसँग जिल्ला प्रशासन कार्यालयको पास पनि छ । यो भन्दा अर्को भरपर्दो कारण के हुन सक्छ, सर?’ मैले तिनै माथिका कुरा दोर्ह्याउदै भने ।

‘अहँ, सर हुँदैन, बुझिदिनोस न, पहिलाको भन्दा अझ कडाई गर्नु भनेको छ,’ उनले उता फोनबाट भने ।

त्यसपछि साधनाले मबाट फोन लिँदै फेरी भनिन, ‘सर म मिडियाको मान्छे हुँ। मेरो घर काठमान्डू। तपाईंहरु किन बुझ्नुहुन्न?’

त्यति भनेपछि ‘पर्खिनुहोस है, म सरलाई सोध्छु भन्दै उनले फोन राखे । फेरी ५ मिनेट्पछि साधनाले नै फोन गरिन र भनिन, ‘सर केहि कुरा भो, मैले भनेको थिएनि अहिले भर्खर म मिडियाको मान्छे काठमान्डू घर जान लागेको। ‘

‘खोई सरले केहि भन्नुभाको छैन । हुँदैन रे अहिले कडा गरेको छ रे?’ उनले फेरी त्यसो भने ।

‘को सर हो मलाई दिनोस न त, म नै कुरा गर्छु,’ साधनाले भनिन । ‘हामी मिडियाको मान्छेलाई पनि तपाईंहरुले यस्तो अफ्टेरो पार्ने?’

त्यसपछि फेरी ‘पर्खिनुहोस है म फेरी सोध्छु’ भन्दै हाम्रो गाडी नम्बर लिएर उनले फोन राखे । त्यसको करिब ५ मिनेट पछि, एक ट्राफिक भाई हाम्रो गाडी नम्बर खोज्दै आईपुगे र भने, ‘तपाईं मिडियाको मान्छे हो?’ भनेर सोधे।

‘हो,’ साधनाले भनिन ।

‘खोई हेरौं त आईडी?’ उनले मागे ।

साधनाले आफ्नो पर्सबाट आफ्नो आईडी देखाईन ।

‘उहाँको चै’ भन्दै मसँग पनि माग्न आए ।

‘म पत्रकार होईन, पत्रकारिताको प्रोफेसर हुँ । मेरा धेरै बिद्यार्थीहरु पत्रकार छन् नेपालमा। ‘ अनि फेरी साधनालाई देखाउदै भने, ‘यिनीपनि मेरी बिद्यार्थी नै हुन । पढाउँदा पढाउँदै लभ परेको, अनि बिहे गरेको।’ म जस्तोसुकै परस्थितिमा पनि ‘सेन्स अफ ह्युमर’ लगाएर बोल्ने भएर होला त्यसरी नै भन्दिए, हाँस्दै ।

‘जोक गर्ने समय होईन यो’ भन्ने आभाष दिंदै साधनाले मलाई पछाडीबाट चिमोटिन ।

त्यसपछि ति ट्राफिक भाईपनि मुसुक्क हाँसे र ‘ल जानुहोस, तपाईंको गाडी नम्बर दर्ता गरेर’ भन्दै करिव आधा घण्टा हामीलाई कुराएर त्यहाँबाट जानदिए ।

अलिक मास्तिर थानकोटको उकालोनेर आईपुगेपछि फेरी एक जवानले रोके । त्यसपछि साधनाले नै बोलिन, ‘म मिडियाको मान्छे, म मेरो घर काठमान्डू हिडेको। ‘

हामी नागडुङ्ग आईपुग्यौं । म चुप लागे । गाडीचालक भाईले जिल्ला प्रशासन कार्यालयको पास देखाए । ‘उहाँहरुको घर काठमान्डू भएकाले पुर्याउन ल्याएको सर,’ गाडीचालक भाईले नै भने ।

‘त्यस्तो पास सासले हुन्न । हामीले अझ कडाई गरेका छौं।’ ट्राफिक जवानले भने । अब त्यहाँ कुनै कारणले उनीहरुलाई कन्भिन्स गराउनु छ भने ‘म मिडियाको मान्छे हुँ’ भन्ने, प्रेसपास देखाउने र अघि बढ्ने, त्यही मात्र निष्कर्ष हामीले निकालिसकेका थियौं ।

साधना नै अगाडी बढिन र ‘म मिडियाको मान्छे हुँ , म मेरो घर काठमान्डू हिडेको’ भनिन । अनि त्यहाँबाट कलंकी चोकमा चै आईपुगेर चालक भाईले नै भन्दिए, ‘उहाँहरु मिडियाको मान्छे, म उहाँहरुलाई घर छोड्न हिडेको। ‘
यसरी घर आईपुग्यो ।

मैले सम्झिरहे हामी जस्तो बोल्न सक्ने, प्रशस्त कारण र तर्कसंगत कुराहरु हुँदा त यति धेरै दुख: पाइन्छ यो नेपालमा, बोल्न नसक्ने, पिडित, तर्क र कारण पेश गर्न नसक्ने बहुसंख्यक नेपालहरुको हालत के होला? अझ देश अफ्ट्यारो समयमा गुज्रिएको बेला ?

ठिक छ यस्तोबेला कडिकडाउ गर्नैपर्छ । त्यो सरकारको दायित्व हो । तर सोधपुछ गरिसकेपछि प्रशस्त कारण छ भने र त्यो व्यक्तिमा कोरोना छैन र उ आफ्नो घरमा गएर बस्न चाहान्छ भने, कुनै प्रश्न र रोकतोक बेगरै उसलाई गन्तव्यमा पुर्याईदिने जिम्मा प्रशासनले लिनुपर्छ । हिजो यहि प्रशासनले साधारण नेपाली नागरिकलाई दिनुसम्म दुख: र पिडा दियो । कतिले आत्महत्या गरेर मर्नु पर्यो । कतिले आफ्नो आमाबाउको मृत्युमा बरखी बार्न समेत पाएनन । त्यहि पिडामा सरकारले लकडाउनका अवधि थप्दै ‘कोरोना नियंत्रित भयो भन्दै षडयन्त्रकारी झूठो हल्ला फिझायो । त्यहि सरकारले पछि आफ्नो सत्ता र घिनलाग्दो राजनीतिको लागि तिनै जनतालाई हजारौको संख्यामा काठमान्डूको सडकमा ल्याएर फेरी कोरोना संक्रमण बढायो । आज फेरी तिनै कारणले बढेको कोरोना संक्रमितको संख्यालाई न्यून गर्न लकडाउन गर्नुपरेको छ ।

अरे बा, के यो पनि तरिका हो त ? मलाई कोभिड नेगेटिभ छ, म मेरो घर काठमान्डू जादैछु किनकि अन्त कतैपनि मेरो घर छैन, मेरो स्वास्थ्यको हेरचाह र मेरो सुरक्षा मेरो आफ्नै घरमा हुन्छ, म सँग २ बर्षकी छोरी छ र घरमा बुढा बाउआमा छन्, अब भन्नुहोस त्यो तर्क ठूलो कि ‘म मिडियाको मान्छे हुँ’ भन्ने तर्क ? भलै मिडियाको मान्छेलाई त्यो सम्मान दिनु, रोकटक नगर्नु राम्रो हो किनकि पत्रकारको जिम्मेवारी भनेको पनि समस्यालाई बाहिर ल्याउनु हो । बरु यात्रामा निस्केको मान्छेलाई ‘तपाईंसँग कम्तिमा ४८ घण्टा भित्रको कोभिड नेगेटिभ भएको रिपोर्ट बोकेर हिड्नुहोला । तपाईंको गन्तब्य सम्म जाने एउटा भरपर्दो कारण पनि हुनुपर्नेछ। ‘ भनेर परिस्थिलाई सहज बनाए धेरैले त्यति दुख पाउँदैनथे ।

दुरदृष्टि, बुद्धि, र नेतृत्व गर्न सक्ने क्षमता नभएकाहरुका हातमा देश पर्नाले, नेपालको प्रशासन यन्त्र खतम छ, जसको असर हजारौ गरिब र निर्दोष जनताले महामारीका बेला अकल्पनीय दुख पाएका छन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope