नेताको साँचो सम्मान

बिमानस्थलको नाममा के नै छ र ?, नाम फेर्दैमा हुने के नै हो र ? महत्वपूर्ण यो हो की दुर्घटनामा, अल्पायुमा कसैको निधन नहोस, नेपालको हवाई र सडक यातायात सुरक्षित, सहज र सर्वसुलभ बनोस।


सरकारले संबिधानमा नै तोकिएको मिति जेठ १५ मा अध्यादेश मार्फत बजेट प्रस्तुत गर्यो। १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट बारे बिभिन्न खालका प्रतिक्रिया बिज्ञहरु र सामान्य नागरिकको तहबाट आईरहेका छन। सरकारले यही बजेटमार्फत ताप्लेजुङको सुकेटार बिमानस्थललाई रविन्द्र बिमानस्थल र तेह्रथुमको चुहानडाँडा बिमानस्थललाई आङछिरिङ बिमानस्थल नामाकरण गर्ने भएको छ। ताप्लेजुङको सुकेटार बिमानस्थलको नाम फेर्ने निर्णयको चौतर्फी बिरोध भईरहेको छ।

पोखरा निवासी नेकपा एमालेका युवा नेता तथा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत अन्य ६ जना ब्यक्तिहरुको २०७५ साल फागुन १५ गते तेह्रथुमबाट पाथीभरा मन्दिर, ताप्लेजुङ जाने क्रममा हेलिकप्टर दुर्घटना भई निधन भएको सम्मान स्वरुप सरकारले उक्त सुकेटार बिमानस्थलको नाम फेर्ने निर्णय गरेको हुनुपर्छ। दुर्घटनामा निधन हुनु बाहेक ताप्लेजुङका लागि कुनै उल्लेख्य योगदान नगरेका स्वर्गीय रविन्द्र अधिकारीको सम्मान गर्ने नाममा स्थापना कालदेखि बिना बिवाद चलिआएको नाम सुकेटार बिमानस्थल फेरेर रविन्द्र बिमानस्थल राख्न ताप्लेजुङबासीहरु कुनै हालतमा मन्जुर नहुने बताईरहेका छन।

निधन हुनु पक्कै दुख:द हो, अझ दुर्घटनामा, युवा अवस्थामा निधन हुनु झनै दुखदायी भईदिन्छ। एमाले भित्रका आशा र भरोसा गर्न सकिने केही नेताहरु मध्येमा पर्ने रविन्द्र अधिकारीको युवा उमेरमै दुर्घटनामा भएको निधनले उनको ठाँउ, पार्टी र समग्र राजनीतिमा क्षति पुगेको हुनसक्छ। उनको निधन पश्चात् रिक्त उनको क्षेत्रमा भएको उपनिर्वाचनमा निजकै पत्नीले प्राप्त गरेको बिजयलाई पोखरेली जनताले रविन्द्र अधिकारी प्रति गरेको सम्मानको रुपमा लिन सकिन्छ।

पार्टीभित्र त सत्ता र कुर्सी बाहेक अन्य बिषयले प्राथमिकता नपाउने स्थितिमा बजेटमा उनलाई सम्झेर बिवादको भुमरीमा हालेर “आशलाग्दो र भरोसा गर्न सकिने नेताको” छवि मृत्युपछि धमिल्याउने खोजिएको त होइन ?

बिमानस्थलको नाममा के नै छ र ?, नाम फेर्दैमा हुने के नै हो र ? महत्वपूर्ण यो हो की दुर्घटनामा, अल्पायुमा कसैको निधन नहोस, नेपालको हवाई र सडक यातायात सुरक्षित, सहज र सर्वसुलभ बनोस। भौगोलिक अप्ठ्यारो र मौसमी प्रतिकुलताका वीच जसोतसो भगवान भरोसामा चलेको नेपालको हवाईक्षेत्रलाई उच्चस्तरीय प्रविधियुक्त बनाउने, मैासममापनमा पनि बिस्वासिलो र अत्याधुनिक प्रविधि र उपकरणको प्रयोग गर्ने, सम्भवभएसम्म बिमानस्थललाई चौडा र ठूलो बनाउने, अन्य आवश्यक पुर्वाधारको निर्माण गर्ने जस्ता कामहरु नगरेर केवल सम्मान गर्नका लागि नाम फेर्नुको कुनै ओैचित्य छैन।

रविन्द्र अधिकारीका प्रति साँचो सम्मान गर्ने हो भने अरु केही गर्नु पर्देन। नेपालको हवाई र सडक यातायात सुरक्षित बनाए पुग्छ। हवाई र सडक दुर्घटना कम गर्न आवश्यक काम र सुधार गरे पुग्छ। नाम फेरेर न दुर्घटना कम हुन्छ न त मृतकलाई आत्मशान्ति मिल्छ। गर्ने नै हो भने दुर्घटनास्थलमा मृतक सबैको नाममा एउटा स्मारक बनाए हुन्छ। बिमानस्थलको भौतिक पूर्वाधार, यात्रु, कर्मचारी र पाईलटहरुको सुरक्षा र सुविधाको बारेमा एक शब्द नखर्चेर केवल निधन भईसकेको पार्टीको एक नेताको नाममा बिमानस्थलको नाम मात्र परिवर्तन गर्ने कुरा स्वभाविक हुन सक्दैन, ताप्लेजुङबासीका लागि मान्य हुन सक्दैन।

राजनीति लगायत सम्पूर्ण क्षेत्र ब्याक्तिकेन्द्रित हुदै गएका छन । मन पर्दैमा देवत्वकरण गरिहाल्ने, मन नपर्दैमा दानवीकरण गरिहाल्ने प्रवृत्तिले समाज ग्रसित छ। समाजको यही प्रवृति सरकारमा समेत प्रतिबिम्बित भएर मनपरेकोलाई मन्दिरमै राखिदिने र मन नपरेकोलाई दुश्मन करार गर्ने संस्कारको उपजको रुपमा सुकेटार बिमानस्थलको नाम परिवर्तनको मुद्धालाई लिन सकिन्छ। क्षणिक आत्मरतिमा रमाउने र स्वार्थपूर्तिमा लिप्त भएर दासत्व स्वीकार गर्नु, दुरगामी सोच र परिणामको वास्ता नगर्नु, एैतिहासिकता र मौलिकतालाई मासेर आधुनिकतालाई अन्धाधुन्ध अंगाल्नु नै गतिलो ठान्ने गलत प्रवृत्तिले भोलि कहाँ पुर्याउछ ? गम्भिर भएर सोच्नुपर्ने भएको छ।

लेखक: पदमप्रसाद भट्टराई
झापा हाल- कतार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope