हाम्रो भविस्य जति थिलोथिलो भएपनी सरकार तिम्रो कुर्सी अमर रहोस् !

बुवा आमालाई अल्लि धेरै गाह्रो भएको महसुस भएपछि जेठ ३ गते दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण गर्न पठाएँ र रातारात म पनि भाइलाई लिएर दाङ पुगेँ । रिपोर्ट अर्को दिन आउने वाला थियो ।
आमालाई घरमै हेरचाह गर्नु भनी भाइलाई सम्झाएर केही अग्रजको सल्लाहमा मैले बुवालाई चाहिँ त्यहीदिन काठमाडौं ल्याएँ । बाटोमा बुबाको स्थिति धेरै बिग्रन थाल्यो । दायाँबायाँ सोच्ने कुनै अवस्था नै भएन,अन्यत्र बेड खोज्न ढिला गर्नुभन्दा मैले सरासर टेकु अस्पताल लगें । त्यहाँ बुवालाई बाटोमै लडाएर अक्सिजन दिइयो । पछि पानी पर्न थालेपछि बल्लतल्ल धेरै पहल गरेपश्चात करिब १६ घण्टापछी कोलियामा एउटा म्याट राख्ने ठाउँ पाइयो र पछि भित्र लग्न पाइयो । त्यहाँ म बाहेक बुवाको हेरचाह गर्ने कोहि थिएन ।
यस्तोबेला बुबाको छट्पटीमा म टाढा बस्न सक्ने कुरै थिएन ,मैले सबै कुरा बिर्सिएर आफैले बुवाको सम्पुर्ण हेरचाह गरेँ । त्यहाँ नर्स र डाक्टर त सुइ घोच्ने र अक्सिमिटर राख्ने पात्र मात्र थिए,मानवता भन्ने कुरा शुन्य थियो । प्रती मिनेट १५ लिटर अक्सिजन दिइराखेको बिरामी अक्सिजन खोलेर २०० मिटर टाढा मोबाइल शौचालय जानुपर्थ्यो फर्किदा स्याचुरेसन ह्वात्तै घटेर ६०/६५ को रेन्जमा आइपुग्थ्यो । त्यो कुराको मतलब त्यहाँ कसैलाई थिएन,सायद बिरामीको चाप र जनशक्तिको अभावले गर्दा पनि होला ।
अर्कोदिनसम्म बुबाको स्थिती झन बिग्रदो भएपछि मैले डाक्टरलाई सोध्दा आइसियू खोज्नु भन्ने कुरा आयो । तिनदिन सम्म नसुतेको, नखाएको म आफै अर्ध बेहोस जस्तो थिएँ । अब आइसियू कहाँ खोज्ने,चिनेजानेको सबैलाई फोन गरेँ, पछि एक जना साथीले पाँच मिनेटमा आइसियू व्यवस्था गरिदिनुभयो । मैले तुरुन्तै बुबालाई त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल लिएर आएँ,सायद दुई मिनेट ढिलो गरेको भए परिस्थिति फरक भैदिन सक्थ्यो ।

आइसियूमा राखेको आठ दिन हुँदा पनि सुधार आएन तर मैले भगवानसङ्ग प्रार्थना गरिरहेको थिएँ । भेन्टिलेटर मेसिन मार्फत १०० प्रतिसत अक्सिजन दिइयो,डाक्टरलाई मैले सबै उपचार गर्नका लागि सहमती दिइसकेको थिएँ । उसो त शुरुमै अस्पताल प्रशासनले के जाती पत्रमा हस्ताक्षर गराइ तलमाथि जे भएपनी जिम्मेवार आफै रहने भन्ने कबुल गराइसकेको थियो । फेरि मन न हो अथाह आत्तिन थाल्यो ,ओठ तालु सबै सुकेर आयो । यता म आफू पनि धेरै गलिरहेको थिएँ,उभिन सक्ने सम्म पनि क्षमता थिएन । तर पनि आफूलाई डिउटिमा हाजिर गराइराखेँ ।
यता निरन्तरको अस्पतालको बसाइका क्रममा म आफू अल्लि जोखिममा हुने भएपछि मसँग सम्पर्क नगराई छोरी,श्रीमती र बुहारीलाई छुट्टै फ्ल्याट्मा राखेको थिएँ । तर फेरि पछि मैले फिटिक्कै नसक्ने नै भएपछि भर्खरै अप्रेसन गरेर आराम गरिरहेकी आमालाइ पनि बीचमा यतै बोलाएँ ।
भाइलाई पनि बोलाएँ,तर दुर्भाग्य भाइको काठमान्डू आउँदा आउँदै बाइक दुर्घटना भयो । फेरि अर्को तनाव थपियो, भाइलाई मुग्लिनको एकान्त सडकबाट केहि साथीहरुको सहयोगमा बिएण्ड बि हस्पिटलमा ल्याई इमर्जेन्सी चेक जाँच गरियो । त्यहाँ चिनेको डाक्टर (डा.प्रकाश)भएकोले उपचार फटाफट भयो, टाउकोको चोटका कारण केहिदिन ‘मेमोरी’ लस जस्तो भएको थियो तर रिपोर्ट सामान्य भएकोले उनि अहिले स्वास्थ्यलाभ गरिरहेका छन् ।
यता मेरो पनि झन् स्वास्थ्य बिग्रीदै गएपछि १३ जेठमा पिसिआर परिक्षण गराएँ,बेलुका रिपोर्ट पोजेटिभ नै आयो । तर म गलेको ४/५ दिन भैसकेकोले स्याचुरेसन घट्दै गैरहेको थियो । अथाह डर लागेपनि सावधानी अपनाएर पछि श्रीमती,छोरी बुहारी पनि सङ्गै बस्न थाले र सेवामा खटिए ।
घरको उपचारले पुग्ला जस्तो लागेन,मेरो अक्सिजन लेभल (स्याचुरेसन)घट्दोक्रममा भएपछी अर्कोदिन बिहानै म पनि अस्पताल भर्ना भएँ । तर बुवालाई यो सब केही थाहा दिइएको छैन । म र बुवा बेग्लाबेग्लै ब्लकमा भएपनि बुवाको निगरानी र खानपिनको ख्याल् हरेक पलपलमा अर्को बिरामिको कुरुवाको सहारामा गरिरहेको छु ।
बेलाबेला बुवाले छोरो किन देखिएन भन्नुभएको खबर पाउँथे,भेट्न त पाइन्नथ्यो अनि मेरो बेडबाट निस्किने पनि अवस्था कहाँ थियो र? जब कि ओल्टो कोल्टो समेत फेर्न मिल्दैनथ्यो,अक्सिजन लगाएर बसेको थिएँ । तर पनि बुवाको आत्मबल बढाउन भनेर १ मिनेटको लागि बुवालाइ हेर्न अर्को ब्लकमा जान्थे र गलेका आफ्ना पाखुरा देखाएर बलियो हुनुहोस् बुवा ठिक हुन्छ, म छु केही हुँदैन भनेर फर्किन्थें । आँखाभरी आँसु ल्याउँदै बुवाले हात उठाएर ‘हुन्छ’ भन्नुहुन्थ्यो । फेरि आफैलाइ सास बन्द भएझैं हुन्थ्यो, एक मिनेटमै स्याचुरेसन पुरै घटिहाल्दोरैछ । तुरुन्तै सिस्टरहरुले अक्सिजन जोडेर बेडमा सुताउनुहुन्थ्यो। डाक्टर राउन्डमा आएको बेला बुवालाई मोटिभेसन हुने कुराहरु गरिदिनुहुन आग्रह गर्थे र उहाँको सबै जानकारी लिन्थें र आफ्नो जानकारी पनि नढाटी भनिदिनुहुन आग्रह गर्थें ।
अहिले अक्सिजनको सहारामा छुट्टाछुट्टै ब्लकमा हामी बाबू छोराको जीवन टिकिरहेको छ ।
यसरी बाबू छोरा अस्पताल बस्दा दैनिक जसो १ लाख बढीको बिल अस्पतालले थमाउछ । ‘पेमेन्ट गर्दिनुस हजुर’ भनेर ‘स्वाव मेसिन’ र ‘क्यू आर कोड’ लिएर अस्पताल प्रशासनको मान्छे बेडसम्म आइपुग्छन् । यो अस्पताल आफैमा महङ्गो अस्पतालको रुपमा चिनिदोरहेछ, त्यो मलाई थाहा थिएन । फेरि थाहा भएपनी विकल्प पनि त थिएन ।
आफ्नो जीवनको उर्जाशिल समय समाजसेवामा समर्पित गर्दै र निर्वाहमुखी जीवनको सोचभन्दा बढी महत्वाकांक्षा नराखेर पनि होला या अपरझठ घटनाहरुको चपेटामा परेर पनि होला सायद खर्चको यो दर अनुसार एक महिनासम्मको अस्पताल बसाइलाई समेत धान्न सक्ने सामर्थ्य मेरो बैंक खातासँग रहेनछ,जुन कुराले चाहिँ मलाई केही हीनताबोध त गरायो तर त्यही कुराले जिन्दगीलाई खास तरिकाले बुझायो । र फेरि अर्कोतिर मैले धेरै मनकारी साथीभाइ आफन्त पनि कमाएको रहेछु ,जसका कारणले जीवनमा आशाको दिप जलाएको छ ।
जे होस् मलाई जीवन टिकाउन यति महङ्गो हावा (अक्सिजन ) किन्ने जुन अवसर मिल्यो सरकारलाई धेरै धेरै धन्यवाद । आज सरकारी अस्पताल राम्रा हुन्थे,त्यहाँको म्यानेजमेन्ट चुस्त हुन्थ्यो,सरकारको स्वास्थ्य नीति र पद्धति व्यवस्थित हुन्थ्यो भने दुइ छाकको लागि दु:ख गरिरहेका नागरिकले यो दुर्दशा भोग्नुपर्ने थिएन। सरकारी अस्पताल गयो सास रहन्न, निजि अस्पताल गयो बास रहन्न भन्ने सुनेको थिएँ, त्यो याद आयो ।
उसो त म सरकारको हिमायती हुँ, शुभ-चिन्तक हुँ, साथी हुँ, जिम्मेवार नागरिक हुँ । अब असार मसान्त पनि आउदै छ कर तिर्नुपर्ने होला , लकडाउन अलिक खुकुलो पारिदिनु है सरकार धेरै कर तिर्न बाँकी छ मैले पनि । किनकी तिम्रो बजेटको दुई तिहाई बढी हिस्सा त कर असुलीमा मै हिसाब गरेका छौ । हाम्रो भबिस्य जति थिलोथिलो भएपनी सरकार तिम्रो सत्ता डगमगाउनु हुँदैन । तिम्रो कुर्सी अमर रहोस् । हाम्रा लागि अस्पतालमा सुत्ने गल्लि समेत छैन ठिकै छ,बालुवाटार, सिंहदरबार, टुडिखेल, दूतावासका सबै जग्गा तिम्रा परिवारका हुन्, मिलाइमिलाई बाँडीचुंडी सबै ठाउँको प्रयोग गर्नु । अग्लो कौसीबाट जनताको चीत्कार सुनिएन भने छटपटाहट देखेर कम्तीमा हाउभाउको सम्म अनुमान गरिदिनु,अनि गमेर बस्नु ।
मन बलियो बनाएर सोचेको छुँ त्यसरी ढलेको धरहरा त फेरि नयाँ चमकताका साथ उठेको छ, म त आत्मबिश्वास,आत्मबल सहितको सक्षम व्यक्ति हुँ म झन् जरुर उठ्नेछु पहिला भन्दा झनै खारिएर,झनै माझिएर ।
यो बीचमा जसले आफ्नो ज्यानको समेत प्रवाह नगरी हरेक पलपलमा साथ दिनुभएको छ,उहाँहरुको बारेमा त कति लेख्नुछ कति ! निस्वार्थ तरिकाले निरन्तर हामीलाई हरेक तहबाट सहयोग गर्ने आफन्ती ,साथीभाइको लिस्ट धेरै लामो छ ,उहाँहरु सबको बारेमा अनुमती लिएर लेख्नेछु।यो बिचको भोगाइले मलाई धेरैभन्दा धेरै बलियो बनाएको छ । त्यसैपनी मैले जिवनको महत्त्वपूर्ण कालखण्ड समाज र जनताप्रती समर्पित गराएर बिताएको छु अब झन् परिवार र समाजप्रतिको मेरो दायित्वलाई मैले धेरै शसक्त र नवीन तरिकाले बहन गर्नेछु ।
मेरो कामसँग जोडिनुभएका धेरै जनालाई मेरो अभावले असर परेकोप्रती छिटोभन्दा छिटो लयमा फर्किने अपेक्षा सहित क्षमाप्रार्थी छु । आज त आकाश पनि खुलेको जस्तो लागेको छ,बिस्तारै हामी सुधारको चरणमा छौँ।
सबैप्रती नमन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस