प्रोफेसर पुष्कर (कथा)

भोलिपल्ट अपरान्हतिर प्रोफेसरको घर अगाडिको पुरानो साइनबोर्डको ठाउँमा नयाँ साइनबोर्ड देखियो । जो कोहीले नयाँ साइनबोर्ड सजिलै पढ्न सक्थे । त्यसमा ठूल्ठूला राता अक्षरमा लेखिएको थियो— यो घर तुरुन्त बिक्रीमा छ ।


एक समय
पुष्कर निवास ज्ञानको पवित्र मन्दिर थियो । पुष्कर प्रोफेसर बने लगत्तै उनको सम्मानमा टोलवासीले उनी बस्ने टोलको नामाकरण गरे ‘पुष्कर मार्ग’ । हर्षबढाइँ भयो टोलैभरि ।

महीनौँसम्म शुभचिन्तकको आवागमन चलिरह्यो पुष्कर निवासमा । पुष्करलाई प्रोफेसर भएकोमा बधाई दिनेको लाम लागिरह्यो ।

कुरा त्यत्तिमै टुङ्गिएन । प्रोफेसर पुष्कर प्रतिको अपार माया अनि उच्च सम्मान व्यक्त गर्न अर्को कदम चाले टोलवासीले । ‘पुष्कर मार्ग’ र ‘प्रोफेसर पुष्कर निवास’ लेखिएका साइनबोर्ड गाडे प्रवेशमार्गमा र प्रोफेसर पुष्करको घर अगाडि एउटा एउटा । साँच्चै, टोलवासीका तर्फबाट प्रोफेसर पुष्कर प्रतिको उच्च सम्मानको नमुना थियो यो । यस कदमको चर्चा टाढा टाढासम्म चल्यो । पत्रपत्रिकाले पनि यसलाई समाचार बनाए ।

पुष्कर टोल शिक्षित वासिन्दाहरूको टोल भनेर चिनियो । प्रोफेसर पुष्करको मान सम्मान चुलियो । उनको विशाल ज्ञान, शिष्टता, भद्रता, नम्रता अनि सादगी जीवनको सामु टोलवासीले आफूलाई सारै होचो पाए । उनका अगाडि पर्दा शीर झुकाई नमन गर्न कोही चुकेनन् । उनको सादगी जीवनलाई पछ्याउनेको होडबाजी चल्यो । प्रोफेसर पुष्करलाई एक आदर्श व्यक्तिका रूपमा लिइयो र श्रद्धा गरियो पुष्कर टोलमा । टोलवासीले गर्व गर्न थाले आफूहरू प्रोफेसरको छिमेकी भएकोमा वा प्रोफेसर बस्ने टोलमा बसेकोमा । अनि सबै टोलवासीले आफूहरू धन्य भएको ठाने ।

ज्ञानको उच्च मूल्यांकन अनि सम्मान देखेर प्रोफेसर पुष्कर पनि कम्ती खुसी भएका होइनन् । हार्दिक कृतज्ञता स्वरूप सबै टोलवासीलाई धन्यवाद दिँदै प्रोफेसर पुष्करले ‘ज्ञानको उच्च सम्मान गरे मात्रै मानव समाज आदर्श समाज बन्छ’ भन्ने ज्ञान पनि बाँडे ।

समय अन्तराल
हिजो यसै बेगारी भएर बरालिनेहरूमध्ये कति त राजनीतिमा लागे । थोरै समयमै मालामाल भए । हैसियत आकासियो । कतिपय जग्गाको कारोबारमा छिरे । कति राजसी जीवनको लागि राजधानी पसे । कोही भने व्यापारतिर ढल्के । धेरैलाई व्यापारले असाध्यै फाप्यो ।

आज व्यापारीका अग्ला र भव्य महलहरूले पुष्कर टोल भरिएको छ ।

अहोभाग्य नै भनौँ तिनीहरूको । धेरै पैदलेहरू पजेरोवाला बने । पजेरोवालाको संख्या निकै छ पुष्कर टोलमा आज । त्यस्तै, मेनपावर चलाएर पुष्कर टोललाई सम्भ्रान्त टोल बनाउनेको फूर्ति पनि धेरैको देख्न सकिन्छ ।
अग्ला अग्ला भवन ।
भवन अगाडि महँगो गाडी ।
एक से एक पैसावाल ।
हर साँझ बर्थ डे पार्टी या कुनै न कुनै उत्सवका साथ बज्ने अंग्रेजी संगीतका धुन ।
आज यिनै बनेका छ्न पुष्कर टोलका चिनारी ।

ठाउँ बदलिए ।
मान्छे बदलिए ।
साथमा अरू धेरै चीजहरु बदलिए ।
पुष्कर टोल हिजोको पुष्कर टोल रहेन समय अन्तरालमा ।
मात्र प्रोफेसर पुष्कर बदलिएनन् या आफूलाई बदल्न सकेनन् ।
उही आफू बस्ने वर्षौ पुरानो घर ।
उही साधारण जीवन ।
र उही स्वाभिमान अनि आत्मसन्तुष्टिले भरिएको व्यक्तित्व ।

आज
प्रोफेसर पुष्करलाई कोही खोजिनीति गर्दैनन् ।
चिन्दैनन् ।
बिर्से ।
बिरानो बने ।
आज धेरै कुरामा तल छन् आफ्ना टोलवासीका माझ प्रोफेसर पुष्कर ।
सामाजिक हैसियतमा
उठबसमा
बोलवालामा
प्रतिष्ठामा
राजनैतिक पहुँचमा
धनसम्पत्तिमा ।
उनीसँग छ त केवल ज्ञान ।

विडम्बना ! आज ज्ञान होइन धन बोल्छ । धनको हैकम छ । धनकै साम्राज्य छ ।

प्रोफेसर पुष्करलाई सामाजिक उत्सव या समारोहमा आमन्त्रित गर्न रुचाइन्नँ । त्यस्ता कार्यक्रममा तिनै राजनीतिमा लागेकाहरू, व्यापारीहरू वा धनले मोटाएकाहरूको उपस्थिति अनिवार्य र बाक्लो छ । प्रोफेसर पुष्करको चर्चा एकादेशको कथा बनेको छ ।

टोलको कुनै पनि निर्णयमा उनको सुझाव आवश्यक ठानिन्न । उनको भूमिका हराएको छ । आजै टोलवासीले एउटा अर्को निर्णय गरे । एक शब्द पनि प्रोफेसर पुष्करलाई सोधेनन् ।

निर्णय अनुसार ‘पुष्कर मार्ग’ लेखिएको पुरानो साइनबोर्डको ठाउँमा ‘सम्भ्रान्त टोल’ लेखिएको साइनबोर्ड फेरियो । कलेजबाट फर्किंदै गर्दा प्रोफेसर पुष्करको आँखा नयाँ साइनबोर्डमा पर्यो । उनले नयाँ साइनबोर्ड पढे । मन्द मुस्कुराए । र, घर पुग्दानपुग्दै एउटा निर्णयमा पुगे ।

भोलिपल्ट अपरान्हतिर प्रोफेसरको घर अगाडिको पुरानो साइनबोर्डको ठाउँमा नयाँ साइनबोर्ड देखियो । जो कोहीले नयाँ साइनबोर्ड सजिलै पढ्न सक्थे । त्यसमा ठूल्ठूला राता अक्षरमा लेखिएको थियो— यो घर तुरुन्त बिक्रीमा छ ।

कथाकार: दिवश


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope