गिनिज रेकर्डमा नभएको त्यो नाम (संस्मरण)

‘सबैभन्दा कम उमेरमा संसारमै सबैभन्दा धेरै महाकाव्य लेख्ने व्यक्ति को हुन् ?’ भन्ने प्रश्नको उत्तरमा सामान्यज्ञानका अधिकांश पुस्तकमा ‘श्री नारायण प्रसाद पौडेल’ लेखिएको पढ्न पाइए पनि त्यो नाम गिनिज वल्र्ड रेकर्डमा देख्न नपाउँदा भने थकथक लागिरहन्छ ।


हिलैहिलो लागेको पाइन्ट, पुरानो सर्ट, कहिल्यै ब्रस नगरिएका र काई लागेका दाँत, विरलै काटिने घुम्रिएको र धुस्रो कपालको हुलियामा एकान्त स्थलको खोजीमा खेतबारी, वनजंगल, नदीकिनार र हिमाल पहाडमा भौँतारिइरहने उसको नाम गिनिज वल्र्ड रेकर्डमा दर्ता हुनु पर्ने हो तर छैन ।

ऊ जसरी आयो, त्यसरी नै गयो । उसको सम्झना परिवारका केही सदस्य बाहेक अरूले गर्दैनन् । कविता लेख्न जब म सुरिन्छु उसलाई सम्झिएर मन अमिलो हुन्छ । हातै चल्दैन । केराको कोसो जब हातमा हुन्छ उसको स्मरणले द्रवित हुन्छु । उसको सबैभन्दा विश्वासिलो साथी मैले समेत कविता र केराको प्रसंगमा बाहेक उसलाई सम्झिँदो रहेनछु । लु सुनको एउटा कथाको पात्रले पुस्तकको चोरीलाई चोरी नमाने जस्तै उसले पनि कति किताब उडायो पढ्नकै लागि तर चोरेको मान्न राजी भएन ।

तराईमै जन्मे हुर्केको ऊ एस एल सी परीक्षा दिन हिमाली जिल्ला सोलुखुम्बू पुग्यो जहाँ मैले प्रारम्भिक शिक्षा लिएर तराई झरेको थिएँ । ऊ हरेक किसिमले असामान्य थियो, असाधारण थियो र हृदयले कविता लेख्ने कवि थियो । ऊसँगका तीन प्रसंग म कहिल्यै भुल्दिनँ ।

प्रसंग १. म बीएको विद्यार्थी हुँदा २०५४ सालमा उसले मलाई चिठी पठायो । लेखिएको थियो— ‘अब त मित्र यहाँ कदली फली÷सुनका सुन छन् सब काँगिया ।’ नेपालीमा ७२ अंक ल्याएर कक्षा प्रथम भएको मैले पद्यमा लेखिएको उक्त चिठीमा के भन्न खोजिएको हो भुत्लोभाङ बुझिनँ । कक्षा १० सम्म सँगै पढे पनि त्यसपछि ऊ र म भिन्नै विषय र तहमा अध्ययन गर्दै थियोँ । एक शनिबार बिहान त्यही चिठी बोकेर म उसलाई भेट्न गएँ । उसले अर्थ लगायो शब्द शब्दको ।

भएको के रहेछ भने उसको घरमा केरा फलेछ । केराको काइँयो पहेँलो भएर पाकेछ र सुन जस्तै देखिएछ । त्यही केरा पाकेको सूचना दिन उसले चिठी लेखेर केरा खान बोलाएको रहेछ । उसको कवि भावना म जस्तो किताबको मात्र कीरोले के बुझ्नु । त्यसपछि उसले मलाई कविता लेख्न मात्र सिकाएन महाकाव्य नै लेख्न हौस्यायो । उसकै संगतले राष्ट्रिय युवा कविता महोत्सव २०५६ मा पुरस्कार मात्र जितिएन, कविता लेख्ने र पढ्ने लत नै बस्यो । त्यही बेला लेखिएको मेरो अर्को कविताले केही वर्षपछि त्यही युवा कविता महोत्सवमा प्रथम पुरस्कार जित्यो । तर लेखेर लगभग तयार ‘बुनू’ महाकाव्य भने उसको अवसानपछि अधूरो नै छ अहिलेसम्म । कविता र केराले उसको स्मरण गराउँछन् र म फर्सीको मुन्टाझैँ ओइलाउँछु ।

प्रसंग २. भानुभक्त पोखरेलको ‘मृत्युञ्जय’ महाकाव्यले मदन पुरस्कार पाएको थियो । उहाँ विराटनगरमा बस्ने हुनाले ऊ पोखरेल गुरुलाई भेट्न गयो । उसको साथमा थियो भर्खरै उसले लेखिसकेको ‘एकलव्य’ महाकाव्य । परिष्कारवादी महाकाव्यकार पोखरेलले पत्याएनन् । उसको बाहिरी आवरण वास्तवमा पत्याउन नसकिनै नै थियो । सानो विद्यार्थीले महाकाव्य लेखेँ भन्दा धेरैले पत्याउँदैनन् नै । भयो त्यही । उसको स्वाभिमानमा धक्का पुगेछ सायद । ऊ त शार्दूलविक्रीडित, पञ्चचामर र अनुष्टुप छन्दमा नै संवाद गर्न थाल्यो । पोखरेल गुरु पनि रमाइलो मान्दै छन्दमै वार्तालाप गर्न अग्रसर हुनुभयो । त्यो कवितात्मक संवाद घन्टौँ चल्यो । एकलव्य महाकाव्य उसले नै लेखेको हो भनेर पत्याउने मात्र नभई उसको व्युत्पन्न प्रतिभा चिनेर स्नेहवत् पोखरेलले उहाँका उपलब्ध महाकाव्य र कविता कृति उपहार दिनुभयो । दुवै आँसु कवि प्रसन्न देखिए । उसले ती सबै पुस्तक पढिसकेर मलाई दियो तर फिर्ता लगेन । 

प्रसंग ३. उसले प्रियंवदा छन्दमा ‘प्रियंवदा’ खण्डकाव्य लेखेको रहेछ एकै रातमा । खण्डकाव्य बोकेर सुनसरीबाट ऊ काठमाडौँ आयो । म कीर्तिपुरमा पढ्दै थिएँ । दुई महीनामा लेखिएको उसको ‘गौरीश्वर’ महाकाव्य कविवर माधव घिमिरे र प्रा.डा. भीम खतिवडाको भूमिका सहित प्रकाशन भईसकेको थियो । उक्त खण्डकाव्यको भूमिका भने अभि सुवेदीलाई लेखाउने र तत्कालै प्रकाशन गर्ने उसको इच्छा थियो तर अभि सरले भूमिका लेख्न चाहनुभएन । उसले आफू पनि तेह्रथुमकै भएको र उहाँलाई नै भेट्न सुनसरीबाट आएको बताएर सहानुभूति बटुल्न खोज्यो तर उहाँ भूमिका लेखनको लागि तयार हुनु भएन । टार्ने हिसाबले उहाँले भन्नुभयो— ‘भूमिका मभन्दा जान्ने अरूलाई नै लेखाऊ, समय मिल्यो भने बरू विमोचनमा म आउँला ।’ हठी स्वभावको उसले केही नसोची भन्यो— ‘तपाईं खराब मात्र होइन, लोभी पनि हुनुहुँदो रहेछ । विमोचनमा किताब निशुल्कः पाइन्छ भनेर होला म तपाईंलाई कार्यक्रममा बोलाउँदै बोलाउँदिनँ ।’ परिहासपूर्ण उसको अभिव्यक्तिले अभि सर हाँस्नु मात्र भयो ।

पछि डी. पी. भण्डारी सरलाई त्यसको भूमिका लेख्न आग्रह गरेर उसले तीन दिनपछि आउने बतायो । भण्डारी सर शृङ्गार रसप्रधान उक्त काव्यका केही अंश पढेर भूमिका लेख्न राजी हुनुभयो । वर्डस्वर्थको ‘लुसी ग्रे’ र देवकोटाको ‘चारु’ बाट प्रभावित उक्त काव्यलाई त्यस्तै सुन्दर रचना भन्नुभयो उहाँले । तीन दिनपछि गएर उसले भूमिका माग्दा भण्डारी सरले रिसले ‘प्रियंवदा’को पाण्डुलिपि नै फालिदिनुभयो । उहाँले तीन दिन भित्रमा हुन्छ वा हुन्न केही भन्नुभएको थिएन । त्यो समयसीमा उसले मात्र तोकेको थियो । ऊ भुइँ तलामा झर्यो । आँगनमा असरल्ल पाण्डुलिपि टिप्यो । त्यसलाई ढोग्यो । त्यो लिएर आएर भण्डारी सर सामुन्ने उभिएर विनित भावमा भन्यो— ‘मलाई खुसी लाग्यो । एक पिताले जसरी पुत्रलाई गाली गरेर, दण्ड दिएर ठीक बाटोमा ल्याउँछन्, तपाईंले त्यसै गर्नुभयो । तपाईं मेरो बुवा हुनुभयो । जहिले लेखेर दिए पनि हुन्छ अब ।’ भण्डारी सर विस्मित बन्नुभयो ।

तेइस वर्षको हुँदासम्म १८ वटा महाकाव्य र १२ वटा खण्डकाव्य लेखिसकेको ऊ स्वच्छन्दतावादी अंग्रेजी कवि जोन किट्स र नेपाली कवि लक्ष्मीप्रसाद देवकोटाबाट अत्यन्तै प्रभावित थियो । युवावस्थामै यति धेरै काव्य लेख्ने सर्जक होलान् जस्तो मलाई लाग्दैन । देवकोटाकै शैली र गतिमा तर उनको भन्दा बढी काव्य लेखेर उसले राम्रो गर्यो तर रेकर्ड बनाउने धूनमा किट्सभन्दा अझ कलिलो उमेरमा क्रसरको टुप्पोमा इनारबाट पानी तान्ने डोरीले आफैँलाई झुन्ड्याएर चाहिँ उसले नकाम नै गर्यो । नत्र आज उसको नाम गिनिज वल्र्ड रेकर्डमा दर्ज भइसकेको हुने थियो ।

उसका महाकाव्य ऊसँगै ओझेल परे । केही खण्डकाव्य र महाकाव्यका पाण्डुलिपि भूमिका लेख्न दिएकै अग्रजसँग होलान् कि । केही पाण्डुलिपि सुरक्षित राख्न दिइएका गाउँकै एकजना भाइले माओवादी सशस्त्र युद्धताका आनै ज्यान जोगाउन हम्मेहम्मे भएपछि घर छोडेर भाग्नुपर्यो । उनीसँगै ती हराए । ‘मेरा कृति तैँले रेखदेख गरिहाल्छस् नि’ भन्ने मप्रतिको उसको विश्वास खण्डित भएकोमा म निःशब्द छु । विद्यालयमा मुक्ति र जुक्ति भनेर पनि चिनिने हामी एकआपसमा तँ सम्बोधन गर्ने जोडी थियौँ तर उसले छाडेर गयो । साथी सन्तोषले मात्र अति निकटताका कारण मलाई ‘तँ’ भनेर सम्बोधन गर्छ । मैले भने मेरा कोही पनि साथीलाई ‘तँ’ भन्ने साहस गर्न सकेको छैन । त्यो असाधारण कवित्व भएको निडर तर बहुलट्टी आँसुकविले अल्पायुमै मृत्युलाई स्वेच्छाले चुमेपछि ‘सबैभन्दा कम उमेरमा संसारमै सबैभन्दा धेरै महाकाव्य लेख्ने व्यक्ति को हुन् ?’ भन्ने प्रश्नको उत्तरमा सामान्यज्ञानका अधिकांश पुस्तकमा ‘श्री नारायण प्रसाद पौडेल’ लेखिएको पढ्न पाइए पनि त्यो नाम गिनिज वल्र्ड रेकर्डमा देख्न नपाउँदा भने थकथक लागिरहन्छ ।

लेखक: मुक्तिनाथ घिमिरे


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope