मातृप्रेम (कविता)

हुर्के तिम्रै स्तनरस पिई ईश ,अल्लाह सारा
संसारैको अनुपम कला मातृवात्सल्य धारा
खोपे होलान् मधुर सृजना कन्दरामा पुगेर
आमाभन्दा अमर कविता लेख्न कल्ले सके र ।।
आगो हैनन् तर पनि बलिन् वेदनाका चुलामा
बाँड्छिन् सेतो किरण हिउँको जाकिँदै जो धुलामा
कौशल्याको श्रम यदि भुले राम नै राम हुन्न
आमाभन्दा परतिर कुनै तीर्थ वा धाम हुन्न ।।
सिङ्गो धर्ती वरिपरि डुल्यो प्रेम आफैँ नुगेर
सक्छौ किन्नै करुण, ममता विश्वका हे कुबेर
बर्सोस् चाहे पलपल खुसी भित्र पक्का छुँदैन
आमाभन्दा अति सुख दिने स्वर्ग अर्को हुँदैन ।।
ऐया आत्था भनिनु पहिल्यै मौन-वक्तव्य बुझ्छिन्
वैसाखीमै बरु जिउँदछिन् पाउ काटेर दिन्छिन्
हो कोहीको यति चहकिलो त्यागको नेत्र छैन
आमाभन्दा परतिर कुनै शान्तिको क्षेत्र छैन ।।
सन्चो पार्ने कति कति व्यथा घाउमा नै चुमेर
हड्डी घोटीकन बितिगए बैँस फुल्ने उमेर
मर्दै बाँचे पनि दिनदिनै मान्दिनन् कत्ति झर्को
आमाभन्दा शुभ लगन खै सृष्टिमा छैन अर्को ।।
निन्द्रा त्यागी युग युग बितून् बिर्सिँदैनौ स्वधर्म
यस्तो सेवा सरि भन कुनै के छ नि:स्वार्थ कर्म
चाहे,भाला,बम र खुकुरी गर्जियून् जत्ति चर्को
आमाभन्दा प्रगतिपथको छैन आशीष अर्को .।।
खै के नाप्ला मुखकृति कठै टल्किएको सिसाले
राम्री के नै छु र म त भनिन् हेर मोनालिसाले
यो हो त्यस्तो चमक कहिल्यै जान्न शृङ्गार धोई
आमाभन्दा जगतभरिमा सुन्दरी छैन कोही ।।
माफी माग्छन् रविशशिहरू, को छ त्यस्तो प्रतापी
बाचुन्जेलै क ख ग नचिनून् ब्रह्मज्ञानी तथापि
जो आफैँमा परमपद हो मोक्षको के जमर्को
आमाभन्दा बहुत गहिरो छैन अध्यात्म अर्को ।।

हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस