अचम्मका ती अन्तर्वार्ता (संस्मरण)

मैले सोधिहालेँछु— ‘यौनजन्य गतिविधिमा संलग्न भएर सामाजिक सद्भाव खलबल्याएको आरोप तेस्रोलिङ्गीलाई बेलाबेला लगाइन्छ, यसमा तपाईंको धारणा के छ ?’ उग्र आक्रोशले रन्थनिएर उनले थर्काइन्— ‘तपाईंले देख्नु भाको छ ?


वाक्कला फिटिक्कै नभएकोले अधिकांश अन्तर्वार्तामा कि म असफल भएको छु कि लज्जित । साथी शङ्कर भण्डारी र गुरु देवी गौतमका आँखामै टाँसिरहूँ जस्ता अक्षरका बान्की आंशिक रूपमा चोर्न सफल भएपछि अक्षरकै बलमा कतिपय प्रतिस्पर्धा भने जितेको पनि छु । प्रश्नको तत्कालै उत्तर दिन सकस पर्ने भएकाले ‘अन्तर्वार्ता’ भन्नासाथ म लज्जावती झारझैँ खुम्चिन्छु । मुटुको वेग तीव्र हुन्छ । हातखुट्टा नै लल्याकलुलुक हुन्छन् । ओठ सुक्छ । दिमाग शून्य हुन्छ । म लाटो बन्छु । तर के गर्नु बोलीको कमालले कमसल पीठो पनि महँगो मूल्यमा बेच्न सक्ने बनिया युगमा जति नै प्रार्थना गरे पनि अन्तर्वार्ताबाट भाग्न नसकिने नै रहेछ । आफूले लिएका र दिएका केही अन्तर्वार्ताको स्मरण मात्रले पनि अहिले झङ्कृत बनाउँछ । थैट ‘त्यसो पनि गरिएछ’ भन्ने भावले उकुसमुकुस पार्छ । बेलाबेला पिरोल्ने ती तीन अन्तर्वार्ताका अन्तर्य र परिणाम यस्ता छन् ।

१. नेपाल अध्ययन तथा अनुसन्धान केन्द्र, काठमाडौँले लैङ्गिक प्रधान ‘सम चिन्तन’ पाक्षिक पत्रिका प्रकाशन गर्ने निर्णय गरेको रहेछ । त्यस अघि प्रकाशित हुने ‘चिन्तन’ पत्रिकालाई रङ्गीन कलेवर र परिमार्जित स्वरूप दिने लक्ष्यका साथ दीर्घकालीन काम गर्न सक्ने सम्पादकको खोजीमा रहेछ उक्त केन्द्र । केन्द्रका अध्यक्ष प्रा. हृषीकेश उपाध्यायले सम्पादक छनोटको लागि मेरो अन्तर्वार्ता लिनुभयो २०६६ पुसमा । करीब २० वटा प्रश्नको मैले दिएका कुनै पनि उत्तरबाट उहाँमा केही सकारात्मक प्रभाव परेन । हरेक जबाफ सुनेर ओठ लेप्य्राउनु भयो । म हायलकायल भएँ । पसिना छुटे । टाउको दुख्यो । मेरो नाम सुझाउने मित्रले समेत अप्ठेरो मान्नुभयो । हुन त हृषीकेश सर कडा मिजासको र कसैलाई नपत्याउने विद्वान् भनेर सबैले भन्थे । अन्त्यमा ‘शंकाको सुविधा’ (बिनेफिट्स अफ डाउट्स) सहित मैले सम्पादकको जिम्मेवारी पाएँ ।

पत्रिकाको दोस्रो अङ्कको लागि नीलहीरा समाज (ब्लू डायमन्ड सोसाइटी) का अध्यक्ष सुनिलबाबु पन्तसँग अन्तर्वार्ताको चाँजोपाँजो मिल्यो तेस्रोलिङ्गी मनिषा बिष्टमार्फत । डटपेन र डायरी लिएर लाजिम्पाटस्थित पन्तकै कार्यकक्षमा ठीक ९.४५ मा पुगिसकेको थिएँ म एक्लै । पढाउनको लागि कालीमाटी ११ बजे पुगिसक्नु पर्ने भएकाले मसँग अतिरिक्त समय थिएन । गेटबाट छिर्नासाथ सयौँको संख्यामा रहेका तेस्रोलिङ्गीको उपस्थिति र बिछट्टको हाउभाउले नै मेरो सातो गयो । उनीहरूको बोलीचाली र वस्त्रको पार्थक्यले मलाई असहज बनायो । झन्डै अर्धविक्षिप्त हालतमा म पन्तको सामुन्ने थिएँ । मेरो उपस्थितिलाई उनले ‘बाल मतलब’ शैलीमा बेवास्ता गरे । केही बेरको पर्खाईपछि आफू व्यस्त रहेकाले मानव अधिकार संयोजक भूमिका श्रेष्ठसँग कुराकानी गर्न उनैले सुझाए । श्रेष्ठले कुराकानीको शुरूमै चार लाख तेस्रो लिङ्गी नीलहीरा समाजको सम्पर्कमा रहेका तर अन्तरलिङ्गी भने आफूले ४ जना मात्रै भेटेको बताइन् । उनले तेस्रो लिङ्गी भएको खुल्नासाथ आफू स्वयं विद्यालयबाट निष्कासित भएको कुरा समेत सुनाइन् ।

मैले ५ वटा टुक्रे प्रश्न गरेँ । सोध्नु हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन मैले सोधिहालेँछु— ‘यौनजन्य गतिविधिमा संलग्न भएर सामाजिक सद्भाव खलबल्याएको आरोप तेस्रोलिङ्गीलाई बेलाबेला लगाइन्छ, यसमा तपाईंको धारणा के छ ?’ उग्र आक्रोशले रन्थनिएर उनले थर्काइन्— ‘तपाईंले देख्नु भाको छ ? नदेखेको कुरा किन भन्नुहुन्छ ?’ मेरो ओठ सुक्यो, हात कामे । के लेख्ने लेख्ने भएँ म । थप प्रश्न सोध्ने आँट नै आएन । पुसको जाडो, भोको पेट, अनपेक्षित गाली, तीव्र उपेक्षा र क्लास लिन ढिलो पुगेमा दिनुपर्ने स्पष्टीकरणको सामूहिक डरले लगभग भागेकै पारामा धन्यवाद भनेर म निस्किएँ । बाटोमा तीन ठाउँमा मोटरसाइकल बन्द भयो । डेनमार्ककी तेस्रोलिङ्गी सांसदसँगै बसेर हाँसिरहेकी भूमिका श्रेष्ठको रङ्गीन फोटो सहितको अन्तर्वार्ता दुई दिनपछि नै ‘ग्लेज्ड पेपर’मा छापियो । सबैले तारिफ गरे । तर मैले भने अर्को अन्तर्वार्ता गर्नुपर्ला भन्ने डरले अनेक किसिमले आकर्षक सम्पादक पद नै छाडिदिएँ ।

२. बा २२ प ५३४७ नम्बर प्लेटको डिस्कोभर बाइकमा बैदाम प्रहरी कार्यालय, कास्की हुँदै लेकसाइडको होटल ‘पेन्सन टुसिटा’ तिर हुईंकिरहँदा म घाइते बाघको मनोदशामा थिएँ । प्लस टु परीक्षाको बाह्य परीवेक्षकको रूपमा अमरसिंह उच्च मा. वि. केन्द्रमा खटाइएको मलाई केन्द्राध्यक्षले ‘सर, नवीन उच्च मा. वि. का विद्यार्थीहरू अति फटाहा छन् । हातपात समेत गर्न सक्छन् । बाहिरैबाटै यसो घुमे जस्तो मात्र गर्नुहोला है’ भनेपछि निरीह भएर होइन कि सेटिङ मिलाइसकिएको रहेछ भन्ने थाहा पाएर त्रिचन्द्र क्याम्पसको अङ्ग्रेजीको अध्यापक म युद्धमा हारेको सिपाहीकै हालतमा थिएँ । त्यति नै बेला रातो धर्के हाफ सर्टको पकेटको ‘मोटोरोला’ मोबाइलमा कसैले फोन गरेको संकेत आएपछि मोटरसाइकल रोकेर अनिच्छापूर्वक फोन उठाएँ । विना भूमिका सदिच्छायुक्त आग्रहको लवज सुनियो— ‘म गरिमाबाट गोपाल पराजुली । सञ्जीव उप्रेती सरको अन्तर्वार्ता लिइदिनु न साउन महीनाको लागि ।’ मैले अत्यन्तै आदर गर्ने प्रयोगधर्मी कविको अनुरोधलाई टार्न सक्ने कुरै थिएन । हुन्न भन्नै सकिनँ । पोखराबाट फर्किएपछि अन्तर्वार्ता गर्नुपर्ने भयो आफ्नै गुरुसँग ‘गरिमा’ मासिकको लागि ।

गणतन्त्र घोषणाको दिन आर्ट काउन्सिल बबरमहलको भुइँतलामा अन्तरसंवाद भयो । अखबारी लेखन र साहित्य सिर्जनाको पृथकता, विविध साहित्यिक वाद र आन्दोलन, विश्व साहित्य, त्रि. वि. मा शोधको अवस्था हुँदै ‘घनचक्कर’ उपन्यासमा प्रयोग गरिएका संकथनहरूसम्मका ११ वटा प्रश्नहरू घोसेमुन्टो लगाएर नै सोधेँ । सञ्जीव सरले फरर उत्तर दिनुभयो । मलाई भने भनिएका कुरा टिप्न आपत नै पर्यो । एकपटक सुनेको कुरा हम्मेसी नबिर्सिने क्षमता भएका र गुणस्तरीय मोबाइल पनि बोक्ने भएकाले बद्री भान्जालाई सँगै लगेको थिएँ । मोबाइलमा ‘भ्वाइस रेकर्ड’ भइहाल्छ भन्ने ठानेर सबै कुरा टिपिनँ । टिप्न सम्भव पनि थिएन । जसोतसो कुराकानीको बिट मारियो । सादा कागजमा साफी गर्ने बेला थाहा भयो अलि टाढाबाट खिचिएको सञ्जीव सरको जुत्ताको भिडियो मात्र रहेछ मोबाइलमा । परेन फसाद । ४ पेज लामो हस्तलिखित अन्तर्वार्ता कतिपय कुरा सम्झिएर र कतिपय अनुमानका भरमा तयार भयो । असाधारण स्मरण क्षमता भएका भान्जाले समेत त्यो दिन सञ्जीव सरले भनेको कुरा ठ्याक्कै यही हो भन्न सकेनन् । अचम्म, अन्तर्वार्ता छापिएपछि चाहिनेभन्दा अलि बढी नै स्याबासी पाइयो । सम्पादक कवि गोपाल पराजुलीले अकल्पनीय विश्वास गर्न थाल्नुभयो । तर त्यसपछि मैले दर्जनौँ अनुरोध र आग्रह हुँदा पनि अन्तर्वार्ता लिने हिम्मत कहिल्यै गरिनँ ।

३. २०६८ सालमा ‘कारोबार’ आर्थिक पत्रिकाको कार्यालयमा बुधबार बिहान ठीक १० बजे म अन्तर्वार्ता दिन पुगिसकेको थिएँ । अन्तर्वार्ता लिन तयार थिएँ मभन्दा करीब १० वर्ष जेठा पुरुष र मभन्दा अलि कम उमेरकी महिला । फुसको छानोलाई असीनाले हिर्काएझैँ प्रश्नको झटारोले मलाई थिलथिलो पार्न तम्तयार थिए पत्रकार द्वय । मलाई डर लाग्न थालिसकेको थियो । हुन त अनुवादकको पदमा ‘सर्ट लिस्टेड’ भएपछि म अन्तर्वार्ता दिन गएको थिएँ आवश्यकता भएर होइन रहरले । रहरभन्दा अझ बढी उत्सुकताले । दुर्भाग्य, अन्तर्वार्ताको पहिलो प्रश्न सोध्न ठीक्क परेकै बेलामा ती पुरुष पत्रकारको मोबाइल बज्यो । उनकी सहकर्मी र मलाई साक्षी राखेर उनी मोबाइलमा निर्लिप्त भएर गफिन थाले । उनकी सहकर्मीले तीनचोटि हाई काढिन् । मैले तीनचोटि नै दाहिने हातको नाडी घडी हेरेँ । २४ मीनेट वाहियात गफ गरेपछि उनले जतनले मोबाइल खल्तीमा घुसारे । सधैँ जस्तै ११ बजेको क्लास लिन म कालीमाटी पुग्नुपर्ने थियो । सायद सामान्य शिष्टाचारको सोमत समेत नभएका ती पत्रकारको उपेक्षाभावले हुनुपर्छ उनलाई मैले कक्षाकै फन्टुस विद्यार्थी जस्तो पो देख्न थालेँ ।

डर हराएर म चाहिनेभन्दा बढी आत्मविश्वासी भइसकेको थिएँ । उनले दुइटा प्रश्न सोधेपछि तेस्रो प्रश्न सोध्ने आँटै गरेनन् । उनकी सहकर्मीतिर फर्किएर मैले नै सोधेँ— ‘तपाईंलाई केही सोध्नु छ ?’ मलाई सोधिएको दोस्रो प्रश्नको उत्तर दिने क्रममा ‘तीन खम्बे अर्थनीति’ को मेरो विश्लेषण ट्वाँ परेर सुनेकी उनले थर्थराउँदो स्वरमा ‘छैन’ मात्र भनिन् र उठेर हिडिन् । तत्कालै मलाई सम्पादकसँग भेट गराइयो र भोलिबाटै काममा आउनु भनियो । अतिरिक्त सुविधाका रूपमा दिनको चार घन्टा जतिबेला आएर काम गरे पनि हुने भयो । राती काम गर्ने हो भने यातायातको सुविधा हुने पनि बताइयो । मात्र प्रत्येक बुधबार हप्ताको एक दिन ११ बजे हुने मिटिङमा भने अनिवार्य उपस्थित हुनुपर्ने प्रावधानको जानकारी गराइयो । ‘माई क्लियर ब्याग’ मा मिलाएर राखिएका कुनै प्रमाणपत्रका फोटोकपी देखाउनै नपरी म निस्किएँ । विनम्र र अभिभावकीय गुणसम्पन्न सम्पादकका ती शिष्टाचाररहित पत्रकार नै त्यहाँका सर्वेसर्वा रहेछन् भन्ने थाहा पाएपछि म काम गर्न त गइनँनै, तारन्तार फोन गरेर काममा बोलाउन सक्छन् भन्ने भयले हनुमानढोकाका प्रहरी निरीक्षकको सिफारिसमा १० वर्ष अघि दुःखजिलो गरेर लिएको ९८५१०१९०११ नम्बरको सिमकार्ड समेत फालिदिएँ ।

अहिले पनि कतिपय टेलिभिजनमा अन्तर्वार्ताको लागि विनम्र आग्रह आउँदा एक न एक बहाना बनाएर टार्न छोडेको छैन । हेरौँ यो वैश्य युगमा कहिलेसम्म सकिँदो रहेछ ।

मुक्तिनाथ घिमिरे

गिनिज रेकर्डमा नभएको त्यो नाम (संस्मरण)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope