पाँचथरमा लापरवाहीले लिइरहेको छ ज्यान


पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिका घर भई फिदिममा बस्दै आएका ४५ वर्षीय पुरुषले ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएपछि गत जेठ ३ गते पाँचथर जिल्ला अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाव दिए ।    

स्वास्थ्य समस्याले सताइरहेकै थियो र उनी अस्पताल गएनन् । पीसीआरको रिपोर्ट तीन दिन वित्दा पनि आएन । सिकिस्तै बिरामी परेपछि जेठ ६ गते दिउँसो उहाँलाई पाँचथर जिल्ला अस्पताल पुर्याइयो । कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि आकस्मिक कक्षका स्वास्थ्यकर्मीले सोधीखोजी गर्दा उनले स्वाब दिएको पत्ता लाग्यो ।

हत्तपत्त प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा उनको रिपोर्टबारे खोजी भयो । रिपोर्ट पोजेटिभ रहेको पाइएपछि जिल्ला अस्पतालकै अस्थायी कोभिड कक्षमा भर्ना गरियो । उहाँको शरीरमा अक्सिजनको उपलब्धता कमजोर रहेको र फोक्सोमा समस्या देखिएपछि तत्कालै थप उपचारका लागि झापा पठाइयो ।

बीच बाटोमै उनको मृत्यु भयो । “स्वास्थ्यमा समस्या देखिएपनि ढिला गरी अस्पताल आएकाले उहाँलाई रिकोभर गर्नसक्ने सम्भावना अत्यन्तै कम थिए”, उहाँ भर्ना भएका बखत आकस्मिक कक्षमा ड्युटिमा रहेका अहेब दीपक अधिकारीले भन्नुभयो, “बिरामीको लापरवाहीका कारण गम्भीर समस्या ल्याइसकेकाले केही गर्न सक्ने अवस्था रहेन ।” फोक्सोमा समस्या रहेका ती सङ्क्रमितलाई मद्यपानले सबैभन्दा बढी समस्या पारेको देखियो ।    

तेह्रथुमको आठराई गाउँपालिका घर भई फिदिममा बस्दै आएकी ६५ वर्षीया महिलाको अप्पर ग्यास्ट्रोइन्टेस्नल ब्लिडिङ (यूजिआई)का कारण जेठ २८ गेत पाँचथर जिल्ला अस्पतालमा मृत्यु भयो । जेठ २५ गते गरिएको एण्टिजेन परीक्षणमा उनीसहित परिवारका अन्य सदस्यसमेतमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी होम आइसोलेशनमै बस्दै आएकि थिइन् तर एक्कासी मुखबाट रगत वान्ता गर्ने समस्या देखिएपछि आफन्तले उनलाई अस्पताल पु¥याए । अस्पतालमा उपचारको प्रयास हुँदाहुँदै उनको ज्यान गयो ।    
पाँचथर जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहका अनुसार यूजीआई ग्यास्ट्रिकको अल्सर भई आन्द्रामा प्वाल परेर नाक वा मुखबाट रगत वान्ता हुने समस्या हो । कोभिड–१९को सङ्क्रमणजस्ता जटिल स्वास्थ्य समस्या हुँदा यस प्रकारका रोगले ज्यानै जान सक्छ ।

नियमित स्वास्थ्य परीक्षण नगर्ने, खानपान नियमित नहुने, औषधि सेवन नगर्ने, अत्यधिक मद्यपान गर्ने जस्ता कारणले कोरोनाभाइरस सङ्क्रमण देखिएपनि मृत्युको कारण अर्कै रहन जान्छ । मृतक महिलामा पनि यसै प्रकारका समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।    

कोभिड–१९सँग मिल्ने लक्षण देखिएका स्वास्थ्य समस्या भएपनि जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ का ६३ वर्षीय पुरुषले परीक्षण गर्न मानेनन् । मृतकका आफन्तले उनकै कारण परिवारका अन्य सदस्यसमेतमा सङ्क्रमण फैलिएको भन्दै उहाँको परीक्षणका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिसमेतलाई गुहारे ।

परिवारका सदस्य, आफन्त तथा स्वास्थ्यकर्मीसमेतको आग्रह नमानेका उनलाई ज्वरो, रुघाखोकी र झाडापखालाजस्ता समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै जेठ १६ गते घरमै मृत्यु भयो ।    

कोभिड–१९का लक्षणसँग मिल्ने लक्षण देखिएकाले मृत्युपश्चात उनको एण्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । “बिरमीले स्वास्थ्य समस्या नै नबताई, परीक्षण नै नगरी उपचारमा लैजाने कुरा भएन”, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले भन्नुभयो, “परीक्षण गर्नै नपाई उहाँको ज्यान गयो ।”

परिवारका सदस्यदेखि स्वास्थ्यकर्मीसमेतको आग्रह अस्वीकार गरी कोरोनाभाइरसको सङ्क्रमणलाई सामान्य रुघाखोकी ठान्ने प्रवृत्तिले उनको ज्यान गएको स्थानीय स्वास्थ्यकर्मी वताउँछन् ।    

फिदिम नगरपालिका–७ र ८ रानीटारमा कोरोनाभाइरस सङ्क्रमण निकै ब्यापक फैलिइरहेको थियो । विवाह, भोजलगायतका कार्य रोकिएका थिएनन् । सङ्क्रमण दर उच्च थियो । सबैले परीक्षण गराउन नमान्दा सङ्क्रमण नियन्त्रणमा आएको थियो । समयमा परीक्षण नगराएका फिदिम–८ का ६० वर्षीय पुरुष सिकिस्त बिरमी भई असार १ गते जिल्ला अस्पतालमा भर्ना भए । तुरुन्तै एण्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । साँझ ६ः३० बजे उनको मृत्यु भयो ।    

सोही वडाका दुई जना पुरुषको कोभिड–१९को लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण ज्यान गयो । स्थानीय ६२ र ७२ वर्षीय पुरुषको जेठ २१ गते मृत्यु भयो । उद्यपि उनीहरुमा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण हुन सकेको थिएन् । वडाकार्यालयले सङ्क्रमण निकै ब्यापक भएको भन्दै परीक्षण गराउन आह्वान गरेको थियो तर सबै स्थानीयवासी यसमा तयार भएनन् ।    

“गाउँमा सङ्क्रमण फैलिँदै गएपछि सबैलाई परीक्षण गराउन अपील गरेको भएपनि सबैको परीक्षण हुनसकेको थिएन्”, फिदिम–८ का वडाध्यक्ष शेरबहादुर नेम्वाङले भन्नुभयो, “गाउँमै स्वास्थ्यकर्मीको टोली बोलाएर परीक्षणको प्रवन्ध गरेको थिएँ ।”    

परीक्षण नभई एकै दिन एकै वडाका दुई जना पुरुषको मृत्यु भएको घटना सार्वजनिक भयो । कोभिड–१९ का लक्षण देखिएपनि वडाले परीक्षणका लागि गरेको आह्वानमा मृतक सहभागी थिएनन् । मृत्युको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि तनाब भने वडाध्यक्षलाई आइप¥यो ।

“उहाँहरुको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएन् तर कोरोनाभाइरससँग मिल्ने लक्षण भने थिए”, वडाध्यक्ष नेम्वाङको गुनासो छ, “परीक्षणका लागि प्रबन्ध गर्दागर्दै उहाँहरुको दुःखद् निधन भयो । मृत्युको कारण अर्कै भएको हुनसक्ने भएपनि समाचार आएपछि हामीले अनावाश्यक तनाब भोग्नुप¥यो ।”    

वडा कार्यालयले स्थानीयस्तरमै परीक्षणको प्रवन्ध गर्नुका साथै फिदिम गएर परीक्षण गराउन सवारी साधनको प्रवन्धसमेत गरेको थियो । मृतकमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्नेजस्ता स्वास्थ्य समस्या थिए ।    
लापरवाही र हेलचेक्र्याइका कारण ज्यान गएका यस्ता कयौँ उदाहरण छन् । यहाँका गाउँगाउँमा सङ्क्रमण तीव्र गतिमा फैलिएपनि स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाको अवस्था निकै कमजोर छ ।

कतिपयले अझसम्म मास्कको प्रयोग गर्न, भौतिक दूरीको पालना गर्न, भीडभाड नगर्न तथा भीडभाडमा नजान मानिरहेका छैनन् । यसकारण एक÷दुई जना सङ्क्रमितका कारण गाउँभरि नै सङ्क्रमण फैलिएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिका–५ सुभाङमा आयोजना गरिएका दुई वटा विवाहबाट फैलिएको सङ्क्रमणले उक्त वडाका १५६ जना तथा वडा नं ३ का १९ जनामा सङ्क्रमण पुष्टि भयो ।    

लक्षण देखिएका कतिपयले मद्यपान गर्ने, कोरोनाभाइरस सङ्क्रमणलाई मौसमी रुघाखोकीका रुपमा लिने जस्ता समस्याले समयमा सङ्क्रमण फैलने र सङ्क्रमणकै कारण मृत्यु हुने घटना दोहोरिरहेका छन् । यहाँका बजार तथा ग्रामीण भेगका कैयौँ सर्वसाधारणले अझैपनि कोरोना परीक्षण गर्न मानिरहेका छैनन् ।

“सबैलाई परीक्षणका लागि तयार बनाउन सकिएको छैन्”, हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक चन्द्रप्रसाद घिमिरेले भन्नुभयो, “समुदायमा ब्यापकरुपमा फैलिएको सङ्क्रमण सबैको परीक्षण नगरी नियन्त्रण गर्न सकिदैन् ।” परीक्षण गर्न नमानेकाको कोरोनाभाइरसको लक्षणसँग मिल्ने समस्याबाट मृत्यु भएका घटनासमेतबाट कतिपयले पाठ सिक्न सकिरहेका छैनन् ।    

यस्तै परीक्षण गर्न नमानेका तथा सङ्क्रमण पुष्टि भएकाको आवागमन नियन्त्रण हुन सकेको छैन । जसकारण सङ्क्रमण नियन्त्रण हुनसकेको छैन । चालीस दिनदेखि निषेधाज्ञा जारी रहेपनि सङ्क्रमित थपिने क्रम रोकिएको छैन । “चेन ब्रेक हुन नसक्दा सङ्क्रमण नियन्त्रणमा आएको छैन”, मानवअधिकारकर्मी मङ्गल बेघाले भन्नुभयो, “सङ्क्रमण नियन्त्रणका लागि अझै प्रकावकारी चालेर जिल्लावासीको जीवन रक्षा गर्नुपर्छ ।”    

मुख्यतःलापरवाहीकै कारण सङ्क्रमण नियन्त्रणमा आउन नसकेको देखिएको छ । जिल्लाका आठ वटै स्थानीय तहले पीसीआर तथा एण्टिजेन परीक्षण गर्न, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न विभिन्न प्रकारले प्रचार–प्रसार गरी सचेतना फैलाउने प्रयास गरिरहेका छन् तर सरकारी निकायका प्रयासलाई सार्थक बनाउन नागरिक स्तरबाट सहयोग मिलेको छैन ।

नयाँ भेरिअन्टको कोरोनाभाइरस सङ्क्रमणको दोश्रो लहर जिल्लामा सुरुआतमै देखिएको याङ्वरक गाउँपालिकामा करिब तीन दर्जन स्थानीयमा सङ्क्रमण देखिएपछि एक हप्तासम्म सङ्क्रमित देखिएनन् । गाउँपालिकाले प्रचारप्रसार र परीक्षणलाई नियमित बनाइरहेकै थियो तर जेठ तेश्रो सातादेखि सङ्क्रमण ब्यापक भयो । याङ्वरकमा मात्रै सङ्क्रमितको सङ्ख्या १६० कटेको छ ।    

यहाँ निषेधाज्ञा जारी हुँदा जम्मा ५७ जना सङ्क्रमित थिए तर निषेधाज्ञाकै बीच ४० दिनपछि सो सङ्ख्या बढेर एक हजार ७४८ पुगेको छ । निषेधाज्ञाका समयमा दैनिक औषत ४२ जनामा सङ्क्रमण पुष्टि भइरहेको छ । हालसम्म जिल्लामा सङ्क्रमण पुष्टि भएका २२ जनाको मृत्यु भएको छ । मृत्यु दर १.२५ पुगेको छ ।    

“मेरो सूचनामा निषेधाज्ञामा बजार र सवारी मात्रै बन्द भए । फिदिममा तासका जमघट भए”, नागरिक अगुवा प्रेम ओझाले भन्नुभयो, “सबै ठाउँ परीक्षणको दायरा बढाउनुपर्ने जरुरी छ । नागरिक स्वयं सचेत नभई महामारी नियन्त्रणमा आउन सक्दैन ।”    

ओझाका कुरामा स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीको पनि समर्थन छ । “सरकारी निकायका प्रयासले मात्रै महामारी नियन्त्रण हुनसक्दैन”, सुवेदीले भन्नुभयो, “यसका लागि नागरिक सचेत हुनुपर्छ ।” अधिकांश मृत्युका घटनासमेत लापरवाहीकै कारण भएको पाइएको भन्दै उहाँले सचेततापूर्वक सामूहिक प्रयासबाट सङ्क्रमण नियन्त्रण र मृत्युका घटना रोक्नुपर्ने राय छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope