प्रकृतिको गर्जनः एभ्रिथिङ इज फेअर इन लभ एन्ड वार (कविता)

शहर बजारतिर
समथर भूभागतिर
धेरै मध्येका केही उहाँहरुलाई
नदी आफ्नो लाग्यो ।
रहरले
डरले
करले
छलले
बलले
नदीको सिमाना आफ्नोमा पार्नुभयो
उसको बाटो बदल्नुभयो
वा
बदल्न खोज्नुभयो
उसलाई सानो सुरुङभित्र बगाउनुभयो
जति जे गर्नुभयो
जति जे जे भयो
ऊ शान्त भएको बेला गर्नुभयो
ऊ मौन रहेको बेला गर्नुभयो ।
आज उसमा बल भरिएको छ
आफ्नो गुमेको जमिन फिर्ता लिँदैछ
आफ्नो अस्तित्व रक्षाको लागि
धावा बोल्दैछ
पाइ–पाइ हिसाब ब्याजसहित असुल गर्दैछ ।
बदलाको विचारले बदलिएको बेला
गल्ती नगर्नेले पनि सजाय भोग्दैछन्
अन्यायमा परेकाको याचना नसुनी प्रकृति गर्जिन्छ—
एभ्रिथिङ इज फेअर इन लभ एन्ड वार ।
भीर पाखातिर
उहाँहरुलाई घरमा सडक पुर्याउने रहर लाग्यो
उहाँहरु नै इन्जिनियर बन्नुभयो
उहाँहरुले नै वातावरण प्रभाव मूल्यांकन गर्नुभयो
बलियो पहरा थङ्थिलो पर्यो
जेलिएको जराको हात छिन्यो
मर्किएको
चर्किएको
थर्किएको
पहाडले पानी बोकेर उभिईरहन सकेन
मेरुदण्ड ठिनिक्कै भाँचियो
उसका माशंपेशीले
खेत पुरे
घर पुरे
अव्यवस्थित वितरणको विकासले विनास बनायो ।
गल्ती गर्नेले त गरे
सजाय पाए
निर्दोषले पनि सजाय पाउँदैछन्
अन्यायमा परेकाको याचना नसुनी
प्रकृति गर्जिन्छ—
एभ्रिथिङ इज फेअर इन लभ एन्ड वार ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस