व्याकरण, उत्प्रेरणा र सिकाइ ऊर्जा


कक्षामा एकाई परीक्षा चल्दै थियो । सबैको उत्तरपुस्तिका भेला पारेर जाँच्ने क्रममा शुद्धसँग सार्नुपर्ने एउटा शब्दमा भाषा शिक्षक टक्क अडिए । सबै परीक्षार्थीको उत्तरपुस्तिका पल्टाई पल्टाई सोही शब्द नियाले । अधिकांश विद्यार्थीको शब्द विचलन रहेछ । ‘हमारे’, ‘हमरे’, ‘हमर’, ‘हामर’, ‘हमरा’ । भाषा शिक्षक एकछिन सोचमग्न भए । कक्षामा कोही भोजपुरी भाषी विद्यार्थी छ । कोही बंगाली, कोही मैथिल, कोही उर्दू । शिक्षक उदार हुन कर लाग्यो । भाषिक लवजले फरक पार्यो त के भो आखिर सबैले प्रयास गरेकै छन् । भोलि सिक्नेछन् । सबै लेखाई शुद्ध नै ठहर्याइयो । सबैलाई समान अंक दिइयो । लवजकै आधारमा कसैले हतोत्साहित हुनुपरेन । सायद ती शिक्षक गिजुभाई थिए कि !

हामी कहाँ ‘हाम्रो, हम्रो, हाम्मो, हाम्रा, हाम्रे’ जस्ता भुलबस कुनै मात्रा वा डिको छोडिएको होस् वा कसैको बोलचालको लवजले फरक परेको होस् मान्य हुने छैन । अहँ, कुनै हालतमा मान्य हुने छैन । संविधानभन्दा ठूलो हाम्रो व्याकरण, व्याकरणभन्दा ठूला हाम्रा प्राचार्य/भाषाविद्/समालोचक । एकसे एक समालोचक/दार्शनिक/भाषाविद् । प्राचार्य पनि समालोचक, लेखक पनि समालोचक, पाठक पनि समालोचक । खै कुन्नी के–केका अभियन्ता/समाजसेवी/डाक्टर सबै समालोचक । एकरत्ति मिच्न पाइँदैन । हिज्जे मिच्न पाइँदैन । व्याकरण तलबितल गर्न पाइँदैन ।

शिशु कक्षाको शिशुले ‘बी’ र ‘डी’, ‘क’ र ‘फ’, ‘थर्टिन’ र ‘थर्टी’ खुट्ट्याउन नसक्ता हत्केलामा बसेको सिर्कनाको छाप १० कक्षा नपुगुन्जेल सुम्सुम्याई रहन्छ तर प्रयास गरेकै हो भोलि खुट्ट्याइहाल्छ नि भनेर उन्मुक्ति र उत्प्रेरणा कहिल्यै पाउँदैन । हाम्रो सिकाई/बुझाई व्याकरण कैले/कसरी उदार हुन्छ ?

हरेक विधाको आफ्नै अस्तित्व छ । पहरेदार गल्ली–गल्ली छन्, कुना–कुना छन् । केही लेख्दै हुनुहुन्छ ? ख्याल गर्नुस् । कथाको आफ्नै मानक छ । कविताको आफ्नै शृंगार छ । निबन्ध/उपन्यास/मुक्तक/हाइकु सबैको आ–आफ्नो बान्की छ । तपाईंको कलम थोरै मात्र चिप्लियो भने पनि हाँसोको पात्र नहुनुहोला भन्ने के आधार ? आजका पाठकका काव्यचेतनाको हेक्का राख्नुहोला । रचना गर्भको गुह्य तत्वभन्दा अघि सांस्कृतिक, साम्प्रदायिक वा लैंगिक तराजुमा आफ्ना शब्दभार तौलिन नबिर्सनुहोला । समानता, सह– अस्तित्व र उग्रचेतनाको रापमा तपाईंको सिर्जना नपिल्सियोस् ।

शिशु कक्षाको शिशुले ‘बी’ र ‘डी’, ‘क’ र ‘फ’, ‘थर्टिन’ र ‘थर्टी’ खुट्ट्याउन नसक्ता हत्केलामा बसेको सिर्कनाको छाप १० कक्षा नपुगुन्जेल सुम्सुम्याई रहन्छ

अस्ति नवराज पराजुलीले पीपलको रुख नचढाएकी छोरीचेलीले हिजो बिना थिङ तामाङको काँध टेकेर सालका पात त झारे तर सदनको सिंहासन चढेकी माइली काकी के टिप्ने भनेर अझै अलमल्ल छिन् । मुख्य सवाल आजका नारीले कहाँ चढ्ने/कसरी चढ्ने भन्दा पनि के टिप्ने/कसरी टिप्ने/कति टिप्ने भन्ने कुरोमा यो समाजले उनलाई कसरी पछाडि पारिरह्यो भन्ने हो । नवराजको अधमौरो आलेखमा मैले बुझेको तथ्य यत्ति थियो । लेख प्रकाशित भएलगत्तै महिला मुक्तिका असंख्य नौजवानमा अनौठो ऊर्जा सल्बलायो— “हामी सचेत छौँ, सबल छौँ, सशक्त छौँ, बेतालको तिर किन ?” भलै उनले आफ्नो निबन्धमा कवितामा झैँ विम्वात्मक प्रतीक रुख उभ्याएर व्याकरण मिचे, बिना थिङले अझ उन्मुक्त हर्षाश्रु मिश्रित विजयभाव पस्किदिनुभयो— “हो, बाध्यता भए बाध्यता नै सही तर हामीले तिमीले भन्दा अग्ला अग्ला रुख चढेका छौँ ।”

आखिर रुख चढे पनि, घोडा चढे पनि, धुरी चढे पनि हाम्रा आमा, दिदीबहिनीले आफूखुसीले एक तुर्को भुटुन किन्न पाएनन् । एक धरो साडी लाएनन् । एकपटक नसोधी आफूले पालेको पेवा चल्ला बेचेनन् । अरु त अरु छोडिदिनोस् सदनको सिंहासन चढेकी माइली काकी आफूखुसी खिसिक्क हाँस्न पाइनन् ।

कैले उन्मुक्त/स्वतन्त्र/सार्वभौम हाँसो हाँसेर त्यो रुखको टुप्पो निमोठ्ने ???

हाय ! समालोचक ।

हाय ! बिश्लेषक । हाय ! दर्शनशास्त्री ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope