महान् छोरा (कथा)

राती धेरैचोटि सुसाइड नोट पढ्यो उसले । सुसाइड नोटको असर विषालु सर्पको विषझैं उसको शरीरभरि फैलियो । रातभर छट्पटियो ऊ । आफ्नो लागि बाउले गरेका त्यागले नराम्रोसँग घोच्यो ।


सधैंझैं रातको खानापछि विकास फेसबुकमा चिप्सिन थाल्यो । विनोदले सेयर गरेको पोस्टमा गएर उसको आँखा अडियो, अनि मन । कुनै पिताले लेखेको ‘सुसाइड नोट’ रहेछ । घटना थियो मोरङ जिल्लाको केसरी गाउँको । दौडिए सुसाइड नोट पढ्न विकासका आतुर आँखाहरु ।

“छोरा ! तिमीले पैसा पठाउन सकेनौं । तिम्रा कठिनाइ अनि बाध्यता थिए होलान् । त्यसमा मेरो के गुनासो हुन्थ्यो र । मन दुखाइँन । पीडा सहेरै बसें । धेरै दिनहरु बिते । महिनाहरु बिते । बिमारले च्याप्दै लग्यो । सहँदै गएँ । बिमार जटिल हुँदै गयो । म निकै थलिएँ । हस्पिटल नगई हुन्न भन्ने लाग्यो । तर सोचेजस्तो कहाँ हुँदोरहेछ र । तिमी भन्दै थियौ– ”व्यवहार अझै मिलेकै छैन । पैसा पठाउन सकिनँ बुवा ।” पीडा सहन मलाई हम्मेहम्मे पर्यो । पीडामा चिच्याउन थालेंछु पनि । सायद, मेरो अवस्था निकै गम्भीर थियो होला । आफन्त अनि गाउँलेहरु आए मलाई हेर्न । सबै तिमीलाई गाली गर्न थाले– बाउको यस्तो गम्भीर अवस्थामा पनि छोरा किन नआएको? आउन नसके पनि, उपचारको लागि पैसा किन नपठाएको? बम पड्के जस्तै सबै पड्किए तिमी उपर । एक एक गरी सबैलाई सम्झाएँ– व्यवहार मिल्ने बित्तिकै छोराले पैसा पठाउँछु भनेको छ ।

उनीहरुले सुनेनन् । झन रिसाए— दिनरात हड्डी घोटिघोटी पढायौं । त्यसले पनि नपुगेर आफूले कमाएको जग्गा बेचिबेची शहरमा पढायौ । आज यस्तो बिरामी भएको बेला पनि नहेर्ने छोरा, के छोरा? यस्तो छोरा नभएकै बेश। स्वरहरु झन् चर्किए, थपिए तिमी विरुद्ध ।

मेरो छोरा तिमीहरुले सोचेजस्तो छँदै छैन । तिमीहरूले चिनेकै छैनौं उसलाई । तिमीहरुले सोचे, चिनेभन्दा ठिक उल्टो मेरो छोरा त महान् छ भन्दै सम्झाएँ हरेकलाई ।                                           

तर के सुन्थे मेरा कुरा । कसैले पत्याएनन् । झन्, ममाथि नै खनिए— छोराले पाल्छ भन्दै भएभरको सबै जेथा छोरालाई नामसारी गर्दा पछिको बाटो हेर्नू पर्दैनथ्यो? कहाँ गएको थियो तिम्रो बुद्धि त्यसबेला? अहिले चाख्यौ हैन? खै, तिम्रो छोराले हेरेको? जस्तो समस्या परे पनि बाउको यस्तो अवस्थामा आउनु पर्ने होइन? कति नै टाढा बस्छ र ऊ? आउन नसके हस्पिटल जाने खर्च पठाउनु पर्ने होइन? यस्तै हुन्छ छोरा?

कतिले धिक्कारे पनि तिमीलाई । कतिले तथानाम गाली गरे । थुके पनि ।  नरमाइलो लाग्दो रहेछ जब कसैले आफ्नै अगाडि आफ्नो छोरालाई थुक्दा, दुत्कार्दा । फेरि सम्झाएँ सबैलाई— तिमीहरुले सोचेभन्दा बिल्कुल फरक मेरो छोरा महान् छ ।

Father and Son Drawing step by step - How to draw Father and Son Sketch -  YouTube

सबैले फेरि गाली गरे— “त्यस्ता स्वार्थीलाई केको महान् छोरा भन्छौ । महान् छोरा भए वृद्ध भइसकेका आमाबुवालाई आफूसँगै राख्नु पर्दैन । स्याहार्नु पर्दैन । आफू भने शहरमा महलमा बस्ने । यहाँ गाउँमा जन्म दिने बाउआमाको हरि बिजोक । हुँदाहुँदा सिकिस्त बिरामी पर्दा पनि हेर्नसम्म नआउने, अनि खर्च पनि नपठाउने । योभन्दा बेकामे छोरा को हुन्छ? यस्ता त नर्कमा जान लायकका पापी छोरा हुन् । यस्ता छोरा नभएकै जाती ।” सबैले नमिठो माने । फेरि सम्झाउन, बुझाउन धेरै कोसिस गरें । शहरमा ठूलो जागिर गर्छ । सबैले मान सम्मान गर्छन् । भनी रहें— तिमीहरुले सोचेभन्दा, बुझेभन्दा ठिक उल्टो मेरो छोरा महान् छ ।

उनीहरुले सुनेनन्, बुझेनन् मेरा कुरा । ठूलै जमात भेला भयो । नमिठो लाग्यो । तिमीलाई कसैले बुझेनन् । के गर्ने, कसो गर्ने छलफल चल्यो । पुलिस प्रशासन लगाएर तिमीलाई गाउँ झिकाउने सल्लाह गरे । त्यो त सहन सकिने कुरा नै थियो । त्यतिले मात्र नपुगेर गाउँ आएपछि तिमीलाई कालोमोसो दलेर गाउँ डुलाउने सल्लाह गरे । कसरी हेर्नु मैले त्यो तिम्रो कालो अनुहार । मलाई असह्य भयो । धैरै बिन्ती गरें । यसो नगरौं भनें । आन्दोलित अनि उत्तेजित भीडमा मेरो कुराको सुनुवाइ भएन । बाउआमा प्रतिको जिम्मेवारी अनि कर्तव्य भुल्ने छोराछोरीलाई सबक सिकाउन यसो गर्नैपर्छ भन्दै निर्णयमा सबै अडिग रहे । तिमीलाई ठूलो अपराधी ठहराए । मेरो केही जोर चलेन ।

त्यो दृश्य बाउ भएर कसरी हेर्न सक्थें? कसरी त्यो सब सहन सक्थे? कसरी पचाउन सक्थे? कहाली लाग्यो । एउटै कुरा दिमागमा खेलिरह्यो— कसरी हेर्ने छोराको कालो अनुहार? कसरी सहने छोराको बेइज्जत? लाग्यो— त्यो दृश्य हेर्न नपरोस् मैले । सुन्न नपरोस् मैले । यसका लागि अरु कुनै बाटो भेटिनँ । विकल्प पाइनँ आत्महत्या बाहेक । सम्पूर्ण जिन्दगी तिमीलाई तिमी बनाउनुमा खर्चें । बाँकी यो अन्तिम सास पनि तिमीलाई नै समर्पित छ । सदा महान् रहनु ।”

तिम्रो रोगी बाउ

“सुसाइड नोट” पढी नसक्दै विकासको फोन बज्यो । संयोग, उसका बाउले फोन गरेका रहेछन् । अप्ठेरो मान्दै उसले फोन उठायो । बाउ बोले— खै, निकै महीना भयो ढाँटे जस्तो पो गरिस् त । बिमारले निकै थलिई सकें । अलिकति भए पनि पैसा पठाइदेन, यसो हस्पिटल जान्थें । निको पो भईहाल्थें कि !

सुसाइड नोटले दिमाग खलबल्याएको बेला आएको थियो बाउको फोन । आत्मग्लानिको पोखरीमा झ्वाम्म फालियो विकास । आफूले गरेको अपराध बोधले लल्याकलुलुक बनायो उसलाई । उसले सम्झियो— बिमारले थलिएका बाउलाई उपचारका लागि केही महीना अघि विराटनगर कोशी हस्पिटल लगेको । क्यान्सर निकै फैलिसकेको रहेछ । उपचारको लागि तुरुन्त चितवन क्यान्सर हस्पिटल रिफर भयो । उपचारका लागि लाग्ने ठूलो खर्चदेखि ऊ तर्सियो । श्रीमतीसँग सल्लाह गर्यो । जे नहुनु थियो त्यही भयो । कमजोरीले ज्वरो आएको रहेछ । यो दबाई खानु निको हुन्छ भन्दै बीस तीस पत्ता ज्वरोको ट्याब्लेट किनिदिए छोराबुहारीले । एक किलो स्याउ थपे । आमाबुवालाई एक एक हजार पनि हातमा थमाई दिए । यो नाटक गरेपछि उनीहरु शहर फर्किए ।

अहिले विनोदले सेयर गरेको “सुसाइड नोट“ पढेपछि विकास झस्कियो । आफू पनि “महान् छोरा“ बनेको अनुभूति भयो उसलाई । बाउलाई दिने जबाफ ऊसँग थिएन । उसको वाक्य नै फुटेन ।

बाउ नै फेरि बोले— के भो, केही बोल्दैनस् त?

जसोतसो समालिँदै गर्दा अनायासै बोली फुट्यो उसकोे— बुवा, भोलि बिहानै पैसा पठाई दिन्छु ।

राती धेरैचोटि सुसाइड नोट पढ्यो उसले । सुसाइड नोटको असर विषालु सर्पको विषझैं उसको शरीरभरि फैलियो । रातभर छट्पटियो ऊ । आफ्नो लागि बाउले गरेका त्यागले नराम्रोसँग घोच्यो । उसलाई हुर्काउँदा, पढाउँदा गरेका दुःख, कष्टले खिइएका, रोगाएका बाउउपर आफूले गरेको अपराधले लखेट्यो उसलाई ।

जसरी भएपनि बिहानै बाउलाई पैसा पठाउने निर्णय लियो । फस्ट आवरमै मनि ट्रान्सफरबाट बाउलाई पैसा पठायो । मन केही हलुँगो भएको महसुस गर्यो । पैसा पठाएको खबर दिन उसले बाउलाई फोन गर्यो । फोन उठ्ने बित्तिकै खुसीको बोली फुटीहाल्यो— बुवा, पैसा पठाइदिएको छु ।

बाउका ठाउँमा अरुकै आवाज सुनियो— विकास बोलेको हो? पाँच मिनेट अघि तिम्रा बाउ खसे । तुरुन्त घर आऊ ।

यो पनि पढ्नुहोस्।

प्रोफेसर पुष्कर (कथा)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope