विपद्मा परेकालाई सघाऔँ : धैर्य नगुमाऔँ


भूकम्पले हाम्रो घर ढल्दैमा    
आगोले हाम्रो बस्ती जल्दैमा    
पहाडको पखेरो, तराईको फाँट    
बाढी पहिराले लग्दैमा    
हाम्रो साहस डगमगाउँदैन    
हाम्रो धैर्य खलबलाउँदैन…’   
 

काठमाडौँ । गीतकार आशबहादुर तामाङको शब्द तथा गायक सत्यराज आचार्य र साथीको स्वरमा बज्ने यस गीतमा प्राकृतिक प्रकोपबाट भएका धनजन क्षतिका घटनाको स्मरण गराउँदै सबै मिलेर साहस र धैर्य नगुमाई उद्धार र सहयोगमा जुट्न आह्वान गरिएको छ ।     

मुलुकमा हरेक वर्ष मनसुनको शुरुआतसँगै हुने बाढी, पहिरो र डुबानलगायतका विपद्का घटनापछि रेडियो र टेलिभिजनलगायत सञ्चारमाध्यमबाट निरन्तर गुञ्जने उक्त बोलको गीतले विपद्को पीडामा छट्पटाएकालाई जो कसैले पनि मानवताको हात अघि अढाएर सघाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको छ ।    

जलजन्य प्रकोप जोखिममा नेपाल ३० औँ    

विश्व मानचित्रमा भौगोलिक धरातल र हावापानीका हिसाबले जति सुन्दर छ प्राकृतिक प्रकोप घटनाबाट बर्सेनि ठूलो जनधनको क्षति हुने मुलुकको सूचीमा पनि नेपाल अग्रस्थानमै पर्छ । गृह मन्त्रालयका अनुसार बाढी, पहिरा, भूकम्प, आगजनी तथा समुद्री आँधीका कारणबाट उत्पन्न हावाहुरी तथा असिना, मुसलधारे वर्षा र सुक्खाजस्ता विविध प्रकृतिका प्रकोपका घटनाबाट नेपाल सङ्कटासन्न अवस्थामा छ ।    

विश्वमा विपद् जोखिमको नक्साङ्कनमा नेपाल २० औँ तथा बाढी र पहिराजस्ता जलजन्य प्रकोपको जोखिमको दृष्टिकोणबाट ३० औँ स्थानमा छ । ज्यादै कमजोर पर्वतीय भूसतह तथा वनजङ्गलको तीव्र विनास, अत्यन्तै भिरालो पहाड–पर्वत, खोरिया फँडानी, अवैज्ञानिक खेती प्रणाली, मनसुनको समयमा हुने मुसलधारे वर्षा र त्यसपछिको प्रचण्ड तापमानलगायत कारणबाट नेपालको पहाडी भूभागमा बारम्बार बाढीपहिराका घटना हुने गर्छन् । उत्तरबाट दक्षिणतर्फ भिरालो धरातल भएबाट हरेक वर्ष पहाडमा बाढी पहिरा र तराई मधेसमा डुबानका समस्या हुँदै आएको छ । नेपाल–भारत सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण पनि तराईका कतिपय जिल्ला सदरमुकाम र आसपासका गाँउमा डुबान हँुदै आएको छ ।    

मुलुकको प्रमुख सुरक्षा सङ्गठनका रूपमा रहेको नेपाली सेनाले बाढी, पहिरा र डुबानलगायतका प्राकृतिक प्रकोपमा सहज परिचालनका लागि केन्द्रको आदेश लिन नपर्ने व्यवस्थासहित सबै युनिटमा एकतिहाइ जनशक्ति तयारी अवस्थामा राखेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । सेनाले मुलुकका जुनसुकै भागमा आवश्यकताअनुसार थप जनशक्ति सहजरूपमा खटाउन सक्ने गरी चितवन र काठमाडाँैको सुन्दरीजलमा विपद् व्यवस्थापनसम्बन्धी गण तैनाथ गरेको छ ।    

प्रभाव र क्षतिका दृष्टिले बाढी र पहिरा प्रमुख विपद्    

सङ्कटासन्नता र जोखिमका सम्बन्धमा गरिएको अध्ययनअनुसार भूकम्पको दृष्टिकोणबाट नेपाल संसारका सबैभन्दा बढी जोखिम रहेका मुलुकमध्ये ११औँ स्थानमा छ । विपद्का घटनाको मात्रा, प्रकृति, भौतिक, सामाजिक र आर्थिक प्रभाव एवं क्षतिका दृष्टिले बाढी र पहिरालाई आकस्मिक प्रमुख विपद्का रूपमा हेरिने गरिएको छ । नेपालको दक्षिणी तराईको समथर जमीन, मध्य पहाडी र उच्च हिमाली भूभाग बाढी, पहिरा र डुबानका हिसाबले जोखिम क्षेत्र हुन् ।    

हिमालको पानीलाई नियन्त्रणमा राख्ने प्राकृतिक बाँध नष्ट हुनु तथा हिमनदीले बगाएर ल्याएको ढुङ्गा–माटोका थुप्रोका कारणबाट हिउँका ढिक्का पग्लिएर बनेका हिमताल बाँधको माथिल्लो भागमा हुने जलचापले विष्फोटनबाट बाढीको जोखिमलाई बढाइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।    

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर भन्नुहुन्छ, “तल्लो तहसम्म संरचना रहेकाले विपद्का समयमा अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा फौजका रूपमा नेपाल प्रहरीले काम गरिरहेको छ, जोखिम निकै ठूलो देखिएको अवस्थामा अन्य सुरक्षाफौज र सरोकारवाला निकायसँगको समन्वयमा मिलेर हामीले खोज, उद्धार र राहतका काम गरिरहेको छौँ ।”    

मनसुनको शुरुसँगै सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा भएको भीषण वर्षाका कारण मेलम्ची बजारलगायत क्षेत्रमा पहिरा र बाढीबाट ठूलो जनधनको क्षति भएको छ । उक्त क्षेत्रमा आफन्त, घरगोठ र व्यवसाय गुमाएका नागरिकलाई पीडामा मलम लगाउने काममा अहिले सबै जुट्नुपरेको छ । यसपटक हिमाली जिल्ला मनाङ पनि बाढी पहिराको चपेटामा परेको छ । त्यहाँ पनि ठूलो परिमाणमा भौतिक संरचना र सम्पत्तिमा क्षति भएको छ ।    

जोखिम क्षेत्रका नागरिक सजग र चनाखो हुनुपर्छ    

प्राधिकरणका सहायक प्रवक्ता वेदनिधि खनाल भन्नुहुन्छ, “बाढी पहिराको जोखिम क्षेत्रमा बसोबास गर्नेले सबैभन्दा पहिला आफू सजग, सचेत र चनाखो हुनुपर्छ, ठूलो र लगातार पानी आए सुरक्षित स्थानमा स्थानान्तरण हुनुपर्छ ।”    

प्राधिकरणले पानीकै पूर्वसूचना र अनुमान सम्प्रेषणका लागि मुलुकका नौ जिल्लाका ३६ स्थानीय तह छनोट कार्यक्रम अघि बढाएको छ । यस्ता कार्यक्रमबाट आकस्मिकरूपमा हुने बाढीपहिराका घटनामा हुने जनधनको जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।    

एकै दिन ४०० मिलिमिटरको रेकर्ड    

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर वार्षिक एक हजार ५०० मिलिमिटर पानी पर्छ । सबैभन्दा बढी कास्कीको लुम्लेमा वार्षिक ५०० तथा थोरै माथिल्लो मनाङ र मुस्ताङमा २०० मिलिमिटर वर्षा हुने गरेको तथ्याङ्क छ । बाँकेको चिसापानी क्षेत्रमा केही वर्षअघि एकै दिन अर्थात् २४ घण्टामा ४०० मिलिमिटर पानी परेको रेकर्ड छ । सन् २००२ को जुलाई २३ मा काठमाडौँमा एकै दिन १७७ मिलिमिटर पानी परेको थियो । कमजोर पर्वतीय भूसतह भएकै कारण पनि अकस्मिकरूपमा एकै दिन १०० मिलिमिटरभन्दा बढी वर्षा भएमा जमीनले धान्न नसक्दा नेपालमा बाढी पहिराका घटना हुँदै आएको विशेषज्ञ बताउँछन् ।    

जलवायु परिवर्तनको असरबाट हिमनदीको अग्रभाग तीव्ररूपमा पग्लने र हिमताल प्राकृतिक बाँधको नियन्त्रणमा रहन नसकी चाँडो–चाँडो विष्फोट हुनुले पनि पछिल्ला समयमा बाढीका घटना तीव्ररूपमा हुने गरेको बताइएको छ । जलवायु परिवर्तनबाट सिर्जित उच्च जोखिमका हिसाबले नेपाल विश्वमा चौथो स्थानमा छ ।    

इसिमोड र युएनडीपीले तयार गरेको संयुक्त विवरणमा नेपालका तीन हजार २५२ हिमक्षेत्रले पाँच हजार ३२३ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको र यहाँ रहेका दुई हजार ३१५ हिमतालमध्ये २२ वटा विष्फोटको खतरामा रहेको उल्लेख छ । पूर्वाधारका रूपमा निर्माण गरिने सडक, ठूला भवन तथा सिँचाइको कुलो सुरक्षाका उपाय अवलम्बन गरी ठिक ढङ्गबाट निर्माण नगरिएबाट पहाडी भूभागमा सामान्य वर्षा हुँदासमेत बारम्बार बाढी र पहिराका घटना बढिरहेको छ । यद्यपि नेपालको हकमा मनसुनलाई मुख्यबाली धान, मकै र कोदोलगायतका अन्न र नगदे बालीका लागि वरदान मानिन्छ ।    

खबर प्राप्त भएको पाँच मिनेटमै परिचालन    

सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक एवं प्रवक्ता राजु अर्याल भन्नुहुन्छ, “मुलुकका ७७ वटै जिल्लामा सशस्त्र प्रहरीका सबै टोली तयारी अवस्थामा छन्, प्रत्येक प्रदेशमा एक÷एक तथा धादिङको कुरिनटार र काठमाडौँमा एक-एक गरी १० वटा विशेष तालिमप्राप्त जनशक्तिको टिम छ । प्रत्येक गणमा ३५ र युनिटमा १० जनालाई विपद् व्यवस्थापन प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ ।”    

सशस्त्र प्रहरीले बाढी, डुबान र अन्य अवस्थामा समेत परिचालन गर्न सक्ने गरी मुलुकका छ स्थानमा गोताखोर र १३ स्थानमा लाइफ ज्याकेट, उपकरण र बोटसहितका जनशक्ति तयारी अवस्थामा राखेको छ । सशस्त्रले विपद्का घटनाको खबर प्राप्त भएको पाँच मिनेटमै परिचालन हुने गरी फौजलाई तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope