सातौँ पटक निषेधाज्ञा अवधि थप


महोत्तरी । महोत्तरीमा कोभिड–१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । आजदेखि लागु हुनेगरी सातौँ पटक जारी निषेधाज्ञाको अवधि असार २३ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार थप एक साता निषेधाज्ञाको अवधि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।    

पछिल्लो पटक एक साता थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस अवधिमा अत्यावश्यक वस्तुका पसल अब बिहानदेखि साँझ छ बजेसम्म सञ्चालन हुनेछन् । यसअघिको पछिल्लो आदेशमा दिउँसो तीन बजेसम्म यस्ता पसल सञ्चालनको अनुमति थियो । त्यसैगरी अब जिल्लाभरि मात्र सार्वजनिक यातायातका साधन स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुनसक्ने आदेशमा उल्लेख छ ।    

पछिल्लो आदेशमा विद्यालयहरु कार्यालय प्रयोजनका दैनिक प्रशासनिक कामका लागि खुल्नेछन् तर विद्यार्थी भने अझै विद्यालय नआउने स्पष्ट खुलाइएको छ । सङ्क्रमणमा सुधार देखिए पनि अझै जोखिम कायम नै देखिएको हुँदा थप एक साता निषेधाज्ञा अवधि थपिएको आदेशमा उल्लेख गरिएको छ ।    

थप गरिएको निषेधाज्ञा अवधिमा सिनेमाहल, होटल, सभासम्मेलन र भोजभतेर सञ्चालन र आयोजन गर्न नपाइने स्पष्ट आदेश छ । यसैगरी जिल्ला कट्ने गरी सार्वजनिक भाडाका सवारी साधन पनि चल्ने छैनन् । खुकुलो बनाइएको अवधिभित्र पनि सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।    

जिल्लामा विसं २०७८ प्रारम्भयता गत वैशाख २२ गतेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता क्रमशः पछिल्लो पटकसमेत सातौँ पटक निषेधाज्ञा अवधि थप गरिएको हो । यो थपिएको अवधिमा नेपाल–भारत आवतजावत पूर्ण बन्द रहने स्पष्ट पारिएको छ ।    

जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ सङ्क्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो । यो महाव्याधिले यसपालि हालसम्म ८४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यीमध्ये तीन जनाको यही असार महिनामा मृत्यु भएको हो । असार दोस्रो साता प्रारम्भयता सङ्क्रमणबाट मृत्यु भएको छैन । यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म यो महामारीले १८ जनाको मृत्यु भएको थियो ।    

यसपालि अहिलेसम्म दुई हजार ६६८ जना यो महाव्याधि सङ्क्रमणमा परेका छन् । यीमध्ये ४० जना असार दोस्रो साताका हुन् । असार लागेपछि सङ्क्रमित भएका सङ्ख्या भने १०१ पुगेको छ । अहिलेसम्म एक हजार ९१० जना निको भएका कार्यालयका कोभिड–१९ सङ्कट व्यवस्थापन स्रोतव्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिनुभयो ।

जिल्लामा हाल नौ जना अक्सिजन सुविधासहित अस्पतालको सघन उपचारमा छन् । अन्य ६६५ जना सङ्क्रमित घरमै स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा रहेका छन् । यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि सङ्क्रमणमा परेका थिए ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope