केपी ओलीलाई बौलाहा कुकुरले टोकेको छैन

तर बौलाहा कुकुरले टोक्यो र रेबिज लागिहाल्यो भने चाहिँ यो प्राणघातक रोग हो । किनकि यसका कतिपय लक्षण सुरुमै थाहा नहुन पनि सक्छ


मूलतः नेपाली इतिहासमा र विशेषतः नेपाली राजनीतिमा विभिन्न रसले सुशोभित राजनीतिक पात्रहरु हामीले देखेभोगेका छौँ । रसशास्त्रीहरुले शृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, बीभत्स, अद््भुत र शान्त गरी रसका प्रकार नौ किसिमका बताएका छन् । आयुर्वेदमा पनि रसलाई अमिलो, पिरो, तीतो, टर्रो, गुलियो र नुनिलो छ स्वादका रूपमा चर्चा गरिएको छ । रसको प्रयोग यी विभिन्न प्रायोगिक सन्दर्भमा भए पनि यो विशेषतः साहित्यिक सन्दर्भमा बढी प्रयुक्त छ । सायद जंगबहादुर वीर, भयानक, बीभत्स र अद्भुत रसका थिए । म स्वयंले भने अहिलेसम्म त्यस्तो पात्र जो यी सबै रसले परिपूर्ण होस् देखेको छैन । यदि कुनै पात्र जो सबै रसले भरिपूर्ण हुन सक्छ भने ती केपी ओली हुन् । उनी शृङ्गारिक पनि छन् । उनको वीरताको गाथा पनि गाइएकै छ । उनी त्यतिकै करुणामयी छन् भन्ने हल्ला पनि बजारमा सुन्न पाइन्छ । हँसाउन उनले जति कसले जानेको छ र? उनलाई जति रिस कसलाई उठ्छ र? उनको प्रशंसा नगरिदिँदा उनको भयानक र बीभत्स रुप सबैले देखेकै हो । उनी यस्ता अद्भुत छन् कि सत्ता आनो हातमा पारिराख्न अनेक चालबाजी गर्न उनले जति कसले जानेको छ र? उनी शान्तिका प्रतिक नै हुन् भनेर उनकै कार्यकर्ताले सोसल मिडियामा विज्ञापन गरेकै छन् । यस्ता महान् राजनीतिक पात्रलाई बहुला कुकुरले कसरी टोक्न सक्छ र? टोकिहाले पनि त्यसको असरले अरुलाई जे पायो त्यही कहाँ भन्छन् र? किनकि यी सबै रसले युक्त मानिससँग सहन सक्ने सामथ्र्य हुन्छ, कला हुन्छ । आयुर्वेदमा हुने सबै रस अमिलो, पिरो, तीतो, टर्रो, गुलियो र नुनिलो उनीभित्र भएपछि त्यसैले रेबिज विरुद्धको भ्याक्सिनको काम गर्छ । बौलाहा कुकुरको टोकाईले केही लछारपाटो लाउनै सक्दैन । बौलाहा कुकुरको प्रसंग यसरी आएको थियो ।

उनीहरुसँग संसारलाई हेर्ने फरक दृष्टिकोण हुन्छ । उनीहरु संवेदनशील हुन्छन् । करुणा हुन्छ उनीहरूमा । त्यस्ता व्यक्तिलाई बौलाहा कुकुरले टोकिहाल्ला भनेर निष्कर्ष निकाल्न सकिदैन नै ।

७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा केपी ओलीले भने— ‘मैले भनेको थिएँ, माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र?’ उनले प्रचण्डको पुच्छर, लाजसरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भन्दै माधव नेपालको आलोचना पनि गरे । ओलीले एकैचोटि अमिलो, पिरो, तीतो र टर्रो रस निकाले भने त्यो सँगसँगै हास्य, रौद्र, भयानक, र बीभत्स रस पनि उत्सर्जित गरे । त्यसमा उनका कार्यकर्ताले ताली बजाए, हाँसे र उत्सव मनाए । देशको प्रधानमन्त्री भएको व्यक्तिले यतिसम्म गिरेर बोल्न सक्ने ल्याकत राख्छ भने पक्कै पनि उसलाई बौलाहा कुकुरले टोक्ने आँट नै गर्न सक्दैन । बौलाहा कुकुरले टोक्ने भनेको सर्वसाधारणलाई हो जोसँग बोली हुँदैन, पहुँच हुँदैन । काठमान्डूमा अस्तव्यस्त छरपस्ट भएको फोहोरलाई बोरामा उठाउँदै हिँड्ने व्यक्तिलाई नै हो बौलाहा कुकुरले भुक्ने र टोक्ने भनेको । चिल्लो कारभित्र हुइँकिने ओलीलाई बौलाहा कुकुरले टोक्छ भनेर त कल्पना गर्न पनि सकिँदैन ।

केपी ओली कवि पनि हुन् । भनिन्छ नि जहाँ पुग्दैनन् रवि उहाँ पुग्छन् कवि । कविहरुमा समयचेत हुन्छ । उनीहरुसँग संसारलाई हेर्ने फरक दृष्टिकोण हुन्छ । उनीहरु संवेदनशील हुन्छन् । करुणा हुन्छ उनीहरूमा । त्यस्ता व्यक्तिलाई बौलाहा कुकुरले टोकिहाल्ला भनेर निष्कर्ष निकाल्न सकिदैन नै । यदि तपाईंले केपी ओलीको कविता पढ्नु भएको छैन भने यहाँ छ पढ्नुहोला । शीर्षक छ ‘अब आँसु खसाउनु पर्दैन’ । उनी लेख्छन्ः


अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्न पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन
सामाजिक न्याय र समानता
अधिकार सम्पन्न जनता
मेची–काली, पहाड–तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगतबगाउनु पर्दैन ।

यस्ता करुण रसका कविलाई बौलाहा कुकुरले कसरी टोक्न सक्छ?

‘सरकारले डेलिभरी दिन सकेन, अब तपाईं हट्नोस्’ भनेर प्रचण्डले आग्रह गर्दा पनि ‘म नभए यो देश सकिन्छ, मबाहेक कोही छैन यो देश चलाउन सक्ने क्षमतावान’ भनेर देशको मायामा चुर्लुम्मै डुबेका केपी ओलीलाई बौलाहा कुकुरले टोकेको छ भन्यो भने ठूलो अपराध हुन्छ । उनी आफैंले ‘अब म गफ हान्दिनँ, ढुक्क हौं’ भनेको पनि वर्षौं भैसकेको छ । हुन त ओलीको पछिल्लो कदमलाई बदनियतपूर्ण र असंवैधानिक भन्छन् । तर त्यसको पनि खण्डन गर्दै आफूलाई सही साबित गराउन लागिपरिरहने केपी ओलीलाई बौलाहा कुकुरले टोकेको छ कसैले भन्छ भने त्यो आफैँ बौलाहा हो ।

हुन त प्रतिपक्ष लगायतका केही मानिसले केपी ओलीलाई पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पसँगै तुलोमा राखेर पनि हेरे । केहीले अत्याचारी निरङ्कुश भन्दै हिटलरको संज्ञा पनि दिए । तपार्इं आफैं भन्नुहोस्, के बौलाहा कुकुरले टोकेको मानिसले ट्रम्प र हिटलरको उचाई लिन सक्छ? त्यही भएर म त भन्छु ओलीलाई बौलाहा कुकुरले टोकेकै छैन ।

त्यस्तै अर्को घटनाको कुरा गरौँ । जब पत्रकारहरुले सम्बोधन गर्दा समाचारको लेखाइमा तपाईं नभनेर ‘तिमी’ भन्दिनाले कत्रो हङ्गामा भयो? केपी ओली कति रिसाउनुभयो? भन्नुभयो कि ‘पत्रकारहरु हामीलाई आदर गर्न जान्दैनन्, तिमी भनेर सम्बोधन गर्छन् ।’ शिष्टताको कुरामा त्यति माथि रहनुभएका केपी ओलीलाई हामी कसरी भन्न सक्छौं कि बौलाहा कुकुरले टोकेको छ?

वास्तवमा केपी ओली कुनै बौलाहा कुकुरले नटोकिएका बरु सबै किसिमका रससँग खेल्न सक्ने अद्भुत नेपाली राजनीतिक पात्र हुन् भन्ने लाग्छ ।

तपाईं आफैं भन्नुहोस् यदि केपी ओलीलाई बौलाहा कुकुरले साँच्चै टोकेको भए हाइड्रोफोबियाको बिरामीझैँ उनी पानीदेखि डराउँथे । तर ओली कहिल्यै डराएनन् । मेलम्ची नदीले मेलम्ची क्षेत्रका गाउँबस्ती नै बगाउँदा पनि अहँ उनी पटक्कै डराएनन् । ओलीसँग अरु कुनै लक्षण नै मिल्दैन । जस्तो हल्ला वा ठूलो आवाजबाट तर्सने, चम्किलो, उज्यालो वा हावा सहन नसक्ने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने, ¥याल चुहाउने आदि । किनकि ओली हरेक ठाउँमा पुगेकै छन् । कार्यकर्ता भेला पारेर हँसाएकै छन् । कसरी हुन्छ आनो काम गर्न उनले साम, दाम, दण्ड, भेद सबै अपनाएकै छन् । बौलाहा कुकुरले टोकेको मानिसले त्यो काम गर्न सक्छ र? यद्यपि कुर्शीको लागि ¥याल चुहाउने, फेरि चिडचिडाहट हुने, रिसाउने, कहिलेकाहिँ उत्तेजित भई झम्टने र कहिले चुपचाप शान्त भएर बस्ने बानी चाहिँ केपी ओलीको यथावत् छ । तर एउटा लक्षण मिल्दैमा उनलाई बौलाहा कुकुरले टोकेको छ भन्नु किमार्थ पनि न्यायोचित हुँदैन ।

तर बौलाहा कुकुरले टोक्यो र रेबिज लागिहाल्यो भने चाहिँ यो प्राणघातक रोग हो । किनकि यसका कतिपय लक्षण सुरुमै थाहा नहुन पनि सक्छ । पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र, तनहुँका डा. अशोक चापागाईँ लेख्छन्— ‘रेबिज शत प्रतिशत प्राणघातक रोग हो । रेबिज रोगका लक्षणहरु देखा परिसकेपछि यसको उपचार सम्भव छैन । यस्तो अवस्थामा रोगीलाई भौतिक दुःख र मानसिक चिन्ताबाट मुक्त गराई आरामसँग राख्नबाहेक अरु केही गर्न सम्भव छैन ।’


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope