सुन्तली (कथा)

सुन्तली र रने स्कूलदेखि कै असाध्यै मिल्ने साथी । जात, कुटुम्ब, कुल–घराना मिलेर नै होला ‘लभ’ गर्न पनि कति चाँडै भ्याएका । रनेले त एस.एल.सी. पास गरेरै छाड्यो सेकेन्ड डिभिजनमा । तर सुन्तलीले भने सकिन । सक्न पनि किन सकोस् त गाउँ खेत, थाक्लेको वन, दर्जनका दर्जन गाई–बाख्रा त्यै माथि टुहुरी केटी । पढ्नका लागि उचित वातावरण नभएर नै होला उसले फेल गरेकी । तर आफू फेल हुँदा पनि ऊ अत्यन्तै खुसी यो कुराले छे कि उसको रने पास भएको छ ।
सुन्तलीले त्यति विधि दुःख गरेको देख्दा रनेको मन चसक्क दुख्छ । मायालु नजरले हेर्छ सुन्तलीलाई ऊ । टु बाई टुको कालो रङको ब्लाउज र गुलावी रङको लुङ्गी बेरेकी, कपालमा स्कार्प बाँधेकी, कस्सिएको जीउ, पोटिलो अनुहार, गोरो वर्ण, अर्थात् उमेरले फक्रिएर होला उखूमै राम्री देख्छ सुन्तलीलाई रने । वन–पाखासँगै जान्छन् । भुइँ घाँस काट्न भने रनेलाई मरेकै जत्तिको लाग्छ तर सुन्तलीले सघाउँछे । ऊ चाहिँ अँगेरीको पातमा सुर्ती बेरेर सल्काई रहन्छ र वन नै थर्काउने गरी विरहका गीत गाउँछ । बुढी भीरको थाप्लोबाट टाढा–टाढा हेर्छ— जहाँ नागबेली परेर बगेको मोलुङ खोला, पारी आम्दानी गाउँ, नेवारे–डाँडा, अझै पर दुम्खिम जस्ता गाउँ देख्छ । सुन्तली दुवै जनाको घाँसको भारी नाम्ला–डोरीमा बाँध्छे अनि रनेको छेवैमा आएर बस्छे । आज सुन्तलीलाई खै के भयो— लाज, धक, प्रेम के के हो के केले उसलाई लल्याक–लुलुक बनायो । आफूलाई बिर्सी उसले । आत्मीक मात्र हैन शारीरिक प्रेममा विलिन भए दुवै जना । एकछिन पछि सुन्तली रातोपिरो भई र रनेको काखमा घोप्टो परेर घुँक्क घुँक्क गर्दै निकैबेर रोइरही । रनेले तिम्रो संसार नै मै हुँ भन्दै आफ्नो छातीमा टाँसेर धेरैपटक सम्झाएपछि मात्रै रुन बन्द गरी सुन्तलीले ।
रातभरि निद्रा लागेन रनेलाई । यता फक्र्याे, उता फक्र्याे, धेरै कुरा आए उसका मनमा । सुन्तलीको दुःख र आजको घटना सम्झिँदा मन चिसो भयो । निर्दोष सुन्तली आँखामा आइरही । उसका लागि सुन्तली दुःखकी पहाड नै थिई ।
दुवै जना इमानदार भएर होला मन्दिरमा गएर बिहे गरे । सुन्तलीलाई उसै त निको मान्दैनथे घरमा त्यसमाथि पोइल गई भनेर सत्तो–सराप गरे । यता रनेलाई पनि बाबुआमाले मन पराउन छोडे र छुट्याइदिए । रनेले अंशमा एक पाथी धानको बीउ जाने गाउँ–खेत, चारवटा स–साना गरा, त्यो पनि बाँदर लाग्ने पाखो–बारी, एउटा माली गाई, एउटा सिँगारी बाख्री, भाँडाकुँडा यस्तै यस्तै पायो । यति पाएकोमा पनि सुन्तली असाध्यै खुसी थिई किनकि त्यो रनेले पाएको थियो र रने उसको थियो । उनीहरूले भुइँ–कटेरो बनाए आफू बस्न र अगाडि गोठ बनाए माली गाई बाँध्न । सिँगारीलाई चाहिँ आफ्नै ओछ्यानको एक छेउमा बाँधे । माली गाई लघारिएकी दिन सुन्तली उत्पात खुसी भई । सुन्तलीले घाँस काट्दा लाएको प्रेमको निशानी र माली–गाई दुवैको गर्भ टुसाउँदै र हुर्कदै गयो । सुन्तलीले छोरी पाई, माली गाईले बाछो पाई । छोरीको नाम सानी राखियो, बाछोको नाम रिट्ठे । समयक्रममा सानी टुकुटुकु हिड्ने भई । रिट्ठे जुरो हालेर बडेमानको बहर भयो ।
दुवै जना खुसी छन् । सानीपछिको अर्को सन्तान कतिखेर टुसाएछ पत्तै पाएनछन् । जब पत्तो पाए दुवै जनाको खुसीको सीमा नै रहेन । तर भरपेट भने दुवै जनाले खान पाएका छैनन् । रनेलाई अर्काकोमा सधंै काम पाउन सम्भव थिएन । दुवैको सल्लाहअनुसार रने रिन काढेर मलेसिया जाने भयो । भविष्यलाई हेरेर सुन्तलीले मन अमिलो पार्दै रनेलाई पल्ला गाउँको हस्तवीरसँगै विदेश पठाई । धन्न पहिलेको जस्तो चिट्ठीको समय छैन । मन लागेको बेलामा फोन हुन्छ, घन्टौं गफिन्छन् भिडियो कलमा । सानीको फर्माइस हुन्छ— भेस्ट, पेन्ट र स्कूल ब्याग । भिडियो कलमा हेरेर सुन्तली भन्छे— ‘कति दुब्लाउनु भको ? अलि तागतिलो कुरा खानु, यताको पीर नगर्नु, म छँदैछु नि ।’ यसो भन्दाभन्दै आफू भक्कानिएको ऊ पत्तै पाउँदिन र रनेलाई स्क्रिनमा हेरेर पनि अघाउँदिन । रने गएको पनि छ सात महीना बढी भैसक्यो । जाँदाको ऋण तिरेर पनि अलिकति पैसा जम्मा गरेकी छे सुन्तलीले । पैसाले पुगे साँधको दुई गरा बारी मिलाउनु पाएहुन्थ्यो भन्ने मुख्य सपना छ सुन्तलीको । जेनतेन घर गरेर खाएकी छे सुन्तलीले । हिउँदे जाडो र वर्षे झोर केही भन्दिन सुन्तली । वर्षामा अजिङ्गर आउँछ भनेर सजग हुन्छे ऊ । काला अरिङ्गालले गोलो बनाउन सुरू गरिहालेछन् छानामा । धन्न सुन्तलीले थाहा पाइहाली र पुल्ठो लाएर धपाई । केही गाउँलेलाई भने अब रने धनी हुने भयो भन्ने चिन्ता छ ।
दिनभरको कामले गलेकी, त्यै माथि दुई जीउकी सुन्तली सानीलाई च्यापेर सुतेकी भुसुक्कै निदाइछ । सपनामा उसको माली गाई गिद्दे पहराको टाकुरामा चरिरहेको बेला एक्कासि चितुवाले कलासोमा दाँत गाढेर लडाउन खोज्छ तर माली गाई उम्कन खोज्दा त्यो टाकुरोबाट पहरामुनि लड्छ । सुन्तली झस्याँङ्ग हुन्छे । जुरुक्क उठ्छे, पसिना पुछ्छे, कपाल मिलाउँछे र आधा जग पानी सासै नफेरी घुट्क्याउँछे । उसको मुटु धुक् धुक् हानिरहेको रहेछ । उसले मोबाईल हेरी । चार बजेको रहेछ । दुई बजेतिर रनेको मिसकल निकैचोटी आएको रहेछ । ‘सुत्नुभाको होला के डिस्टर्ब गर्नु’ भनेर कल ब्याक गरिन उसले ।
त्यसपछि उसलाई निद्रा नै लागेन । बिस्तारै पेटलाई देब्रे हातले सहारा दिँदै दाहिने हात टेकेर उठी । कल्याङ–कुलुङ आवाज सुनेर घुरुक्क दैलो उघारी । अचानक ससुराले मूलघरमा ‘मेरो बाबू’ भनेर चिच्याएको सुनी । कान तिखो पार्दै मूलघर गई । बिहानीपख रुवाबासी चलिरहेको थियो । पश्चिम दाङतिरको रनेको साथी राजुले रनेको बाउलाई फोन गरेर रने ‘हार्ट अट्याक’ भएर राती बाह्र बजे बितेको कुरा गरेछ र आजैको फ्लाइटमा काठको बाकसमा काठमाडौं एयरपोर्टमा लास ल्याउने कुरा भएको सुन्तलीले सुनी । सुन्तली केही बोलिन । ‘यो हुन सक्दैन’ भन्न सकिन । बिहानीपखको भुक्भुके उज्यालोमा पूर्व ओखलढुङ्गातिर एकोहोरो हेरी र अचानक बेहोस भई । ऊ होशमा आउँदा बिहानको नौ बजिसकेको थियो । चार पाँच जना महिलाले भित्तामा अडेस लगाएर सहारा दिँदै रहेछन् ता कि पेटभित्रको बच्चालाई असर नहोस् । सुन्तलीले अचानक डाको छाड्न थाली । एक्लै थिई भने त बुढी भीरबाट हामफाल्न कुद्थी होली । सानी छोरी आमाको छेवैमा बसेर भोकले रोइरहेकी थिई । कसैले एक प्याकेट चाउचाउ दिँदा फुरुक्क परेर चुपचाप खान थाली । रहँदा भन्दा बेलुका पाँच बजे काठको बाकस काठमाडौं एयरपोर्टमा उतारियो । फोनमा सुनियो ‘बोलेरो जिपमा हामी हिँडिसक्यौँ’ ।
भोलिपल्ट बिहान छ बजे काठको बाकस आँगनमा आइपुग्यो । खोलियो । विधि–विधानअनुसार बाँध–छाँद गरियो । जोर शङ्खको एकोहोरो आवाजलाई मोलुङ खोलाको एकनासको सङ्गीतले साथ दियो । अचेत सुन्तलीको हात समाइयो र लासलाई अवीर माला लगाइयो । चारजनाले लास उचाल्दै गर्दा सुन्तली छाँद हालेर रोई, चिच्याई, कराई र भनी– बाबा आकाशबाट गएका थियौ बाकसबाट आयौ, निष्ठुरी न हौ न म पनि सँगै जान्छु, एक्लै नजाऊ…। भुटेको धानको टपरी लिने अगाडि लागे त्यसपछि जोर शङ्ख अनि लास र मलामी । समले भनेजस्तै भन्दी हो सुन्तली—
‘दुःखीको घरमा मात्र तेरो बास हुने भए
हे ईश्वर ! दया राखी मलाई अझ दुःख दे ।’
खै कताबाट हो एक्कासि अलच्छिनी बतास आयो र सुन्तलीको जीवनको दियो झ्याप्पै निभ्यो । गाउँ–घरकाले पँधेरामा बिस्तारै लगे । एक अम्खोरा पानी धारामा भरे र त्यो पानीले सुन्तलीको सिउँदो पखाले । मुठीभरिका दुइटा ढुङ्गाको बीचमा उसको नाडी राखेर नाडीभरिका रङ्गीचङ्गी चुरा फुटाले । वैदिक विधिअनुसार नुहाई दिए । कोरो, ढिकुरो, तेह्रौं हुँदै पैंतालीस पनि सकियो ।
सानीलाई भने भेस्ट र पेन्ट अनि स्कूल ब्याग उसको बाबाले ल्याउने कुराको अझै आशा छ । सानीको भाइ जन्मेको पनि निकै भैसक्यो । भाइलाई खूब माया गर्छे ऊ, एकछिन पनि छोड्दिन । जस्तोसुकै पीडा किन नहोस् मानिसले सहनै पर्दोरहेछ । देख्नेहरूका अघि सन्तुष्टि देखाइदिएर पनि मनभित्र रोइरहेकी हुन्छे सुन्तली । शब्दले मनका कुरा सबै भन्न सक्तिन ऊ । धेरै गहिरो घाउ त्यति दुख्दैन रे तर भत्भती पोलेको हुन्छ र बाँचुन्जेल पोलिरहन्छ । अधिक पीडामा आँसुले समेत साथ नदिँदो रहेछ । ऊ रुन सक्तिन, शब्दहीन छे । ऊ मुना भएर के गर्नु उसको मदन अब छैन । आन्तोन चेकबको कथाको मुख्य पात्रको पीडा अरू कसैले नसुनेर उसको आफ्नै टाँगाको घोडाले सुनेजस्तो सुन्तलीको सारा पीडा र व्यथा उसको माली गाई र रिट्ठे बहरले सुन्छन् अब । सुन्तलीको गन्ध परैबाट थाहा पाउँदा नै माली गाई र रिठ्ठे गोठै उचालुँला जस्तो गरी हब्बाँ गरेर थर्काउँछन् र धनी छेउमा गएपछि मज्जाले चुपचाप उग्राउन थाल्छन् । सिँगारीले जुम्ल्याहा पाठा पाई । कति काइदाले खेल्छन् ती । सुन्तली पाठालाई काखमा लिन्छे, पाठी भने सुन्तलीको कानको लोति चुप्चुपाउँछे । आमाको दूध भन्ठानी होला सायद ।
केही वर्षपछि दुइटा ठूला ठूला ब्रिफकेस लिएर रनेसँगै विदेश गएको लुते हस्तवीर मोटोघाटो भएर आइपुग्छ । सुन्तली सिमपँधेरोबाट पानी लिएर आउँदै हुन्छे । गौँडामा अकस्मात् भेट हुन्छ । दुवैको आँखा जुध्छन् तर दुवै बोल्दैनन् । हतार हतार सुन्तली घर पुग्छे । गग्रेटोमा गाग्री राख्छे र ओछ्यानमा घोप्टो परेर रोइरहन्छे रनेको सम्झनामा ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस