पहिरोको कारण सडक र बत्ती अवरुद्ध


केही दिनअघि आएको पहिराले बिजुलीको पोल ढलाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकाको एउटा गाउँ अन्धकारसँगै सञ्चार सम्पर्कबाट टाढिएको छ । गत बुधबार परेको अविरल वर्षाका कारण देवचुली–६ कीर्तिपुर जाने सडकमा पहिरो जाँदा सडक सञ्जाल र बिजुलीको पोल ढल्दा बिजुली अवरुद्ध भएको हो ।

नगरपालिकाको दलदलेबाट मुन्डे हुँदै कीर्तिपुर जाने सडक पहिराका कारण अवरुद्ध भएपछि यातायात सञ्जालबाट समेत गाउँ टाढिएको स्थानीवासीको भनाइ छ । देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले पहिराले सडक अवरुद्ध भएपछि कीर्तिपुरवासीलाई बजारसम्म आउनै समस्या भएको छ । “पहिराका कारण सडक अवरुद्ध मात्रै भएको छैन”, सोतीले भन्नुभयो, “बिजुलीको पोल ढल्दा गाउँवासी अँध्यारोमा बस्नुपर्ने बाध्यता आएको छ भने बत्ती नहुँदा मोबाइल तथा सञ्चारका उपकरण चार्ज गर्न नपाउँदा सञ्चार सुविधाबाट समेत गाउँको सम्पर्क विच्छेद भएको छ ।” पहिरो गएर सडक अवरुद्ध भएको पाँच दिन पुग्दासमेत पहिरो हटाएर यातायात सञ्चालन गर्ने तथा विद्युत् आपूर्ति सहज गराउन नसकिएको सोतीले गुनासो गर्नुभयो ।

गाउँमा बत्ती नभएपछि मोबाइलसँगै रेडियो, टेलिभिजनसमेत सञ्चालन गर्न नपाउँदा सञ्चार सञ्जालबाट निकै टाढिएको जस्तो महसुस गरिएको सोतीले बताउनुभयो । कीर्तिपुरको सडक सञ्जाल विच्छेद भएसँगै बिरामीलाई अस्पतालसम्म ल्याउन पनि निकै कठिन हुने गरेको स्थानीयवासी बताउँछन् । पहिराले सडक अवरुद्ध गरेपछि खाद्यान्नसमेत ढुवानी हुन नपाउँदा गाउँमा दैनिक उपभोग्य वस्तु अभाव हुने चिन्ताले सताएको वडाध्यक्ष सोतीले बताउनुभयो । सडकमा झरेको पहिरो हटाउने काम शनिबारदेखि शुरु गरिएको भए पनि सडकको पूरै अवरोध हटाएर सवारी साधन नियमित गर्न दुई÷तीन दिन लाग्न सक्ने सोतीको भनाइ छ । बर्खे झरी नरोकिएमा उक्त सडक नै भासिन सक्ने जोखिमसमेत रहेको उहाँले बताउनुभयो ।

कुश्मामा पाँच दिनपछि आंशिकरूपमा खानेपानी आपूर्ति शुरु

पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा पाँच दिनपछि खानेपानीको आंशिक आपूर्ति भएको छ । पहिरो र बाढीले क्षतविक्षत भएको क्यादीखोलाको मुल मर्मतपछि उपभोक्ताको धारामा पानी आउन थालेको हो । पातीखोलाको पाइप लाइन अझै सञ्चालन हुनसकेको छैन । मङ्गलबारको बाढी र पहिराले क्यादीखोला र पातीखोलाको पाइप लाइन पुरिँदा कुश्मामा पानी आपूर्ति रोकिएको थियो । क्यादीखोलाको पानी आएपछि उपभोक्ताको आधा माग मात्रै पूरा भएको छ । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पातीखोलाको पाइप लाइन मर्मतको काम पनि शुरु भएको बताउनुभयो । पाइप लाइनमा क्षति भएपछि कुश्मा नगरपालिका र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खर्चमा पाइप परिवर्तन गरेर खानेपानीको आपूर्ति सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । क्यादीखोलासहित गोदाम र खुर्कोटको बर्खेमुलबाट पनि पानी ल्याइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कुश्मा–८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले पातीखोलाको पाइप लाइन क्षतविक्षत बनाएपछि उक्त लाइन मर्मत गर्न केही दिन लाग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । संस्थाका प्रबन्धक राजेन्द्र रोकाका अनुसार पानी आपूर्तिका लागि राखिएका चार ठूला ट्याङ्कीमा क्यादीखोला र पातीखोला दुवैतर्फको मुहानबाट दैनिक २६ लाख लिटर पानी आउने गरेको थियो । त्यसमध्येको करिब २० लाख लिटर खपत हुने गरेको छ । बजारमा संस्थामार्फत दुई हजार ५६१ वटा धारा जडान गरिएका छन् । पानी आपूर्ति नहुँदा उपभोक्ताले आकाशेपानी जोहो गरेर पिउने गरेका थिए । कतिपयले नजिकैका पँधेरामा पुगेर पानीको खाँचो टार्दै आएका थिए । शिवालय खानेपानी उपभोक्ता संस्थाले उमालेर पानी पिउन पनि उपभोक्तालाई अनुरोध गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope