विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प


विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ ।

बर्सातसँगैको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक लगायतका काम प्रभावित भएको हो । मुदीको डाँडामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङले क्षति गरेपछि ताररहित प्रविधिको इन्टरनेट बन्द भएको छ ।

असार पहिलो हप्ता गाउँपालिकाको कार्यालयमा केन्द्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको थियो । गत सोमबारदेखि गाउँपालिकाको केन्द्र मुनामा विद्युत् र इन्टरनेट सेवा बन्द भएको थियो ।

तत्कालै नबन्ने देखिएपछि ताकमस्थित वडा नं ७ को कार्यालयमा गएर काम गर्न थालिएको छ । प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले अरु कुनै विकल्प नभएपछि ताकम आएर आर्थिक तथा प्रशासनिक काम गर्नुपरेको बताउनुभयो । “महत्वपूर्ण सूचना आदानप्रदानदेखि लेखाको सबै काम गर्न इन्टरनेट र विद्युत् आवश्यक पर्छ । तीन दिनसम्म कुरेर बस्यौँ”, उहाँले भन्नुभयो “छिट्टै बिजुली र इन्टरनेट मर्मत नहुने देखिएपछि ताकम आएर काम गरेका छौँ ।”

प्रशासकीय अधिकृत शर्मा, लेखा अधिकृत कृष्ण खराल लगायत आठ जना लेखा, प्रशासन र प्राविधिक शाखाका कर्मचारी शुक्रबार ताकम आउनुभएको थियो । दुई जना काम सकेर मुना फर्कनुभएको छ । छ जनाले वडा कार्यालयको भवनमा बसेर काम गरिरहनुभएको छ ।

आर्थिक वर्षको अन्तमा योजना तथा कार्यक्रमको भुक्तानी गर्नेदेखि धेरै किसिमका प्रशासनिक कामको चाप छ । अत्यावश्यक पूर्वाधारको अभावमा कर्मचारी र सेवाग्राहीहरुलाई यता उता गरिरहँदा समस्या भएको छ । कागजात पु¥याउन र नमिलेको बनाउन समस्या भएको हो ।

ताकममा विद्युत्को वैकल्पिक व्यवस्था भए पनि आइतबारसम्म नियमित इन्टरनेट थिएन । टेकमाइन्ट कम्पनीको नेट र मोबाइलको डाटाबाट फोर जी चल्न थालेपछि केही सहज भए पनि काम गर्न साह्रै समस्या भएको कर्मचारीले बताएका छन् । गाउँपालिकाका अध्यक्ष थमसरा पुनले चट्याङले क्षति पु¥याएको टावर मर्मतका लागि बेनीमा सामान नपाइएपछि पोखराबाट मगाइएको बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope