बालविवाहका घटनामा आएन कमी

कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको सङ्ख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नआएको सङ्केत गरिरहेको पाइन्छ । मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न जिल्लामध्ये सबैभन्दा बढी बालविवाह हुनेमा मकवानपुर जिल्ला पाँचौँ स्थानमा रहेको छ ।
सबैभन्दा बढी धादिङमा ६२.९ प्रतिशत, नुवाकोटमा ६२.५ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । वाग्मती प्रदेशकै काठमाडौँमा भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह भएको उल्लेख छ । बालविवाह मात्र होइन, किशोरी अवस्थामै आमा बन्नेको सङ्ख्या पनि उत्तिकै छ । बीस वर्ष नपुग्दै विवाह गर्न नपाइने कानूनी व्यवस्था भए पनि पछिल्लो कोरोनाको असहज स्थितिमा समेत बालविवाह घटनामा खासै कमी आउन सकेको छैन । सबै क्षेत्रमा प्रभावकारीरूपमा जनचेतना पुग्न नसक्दा अपेक्षाअनुसार बालविवाहका घटनामा कमी आउन नसकेको सरोकारवालाको निष्कर्ष छ ।
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका अभिभावक समूहका अध्यक्ष हरिबहादुर प्रजा बन्दाबन्दीको समयमा बालबालिकाको अध्ययनभन्दा अन्यत्र ध्यान केन्द्रित हुने र सो अवधिमा बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम हुन नसक्दा बालविवाहका लागि बल पुगेको बताउनुहुन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा १ मा २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । ऐनको उपदफा २ मा २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने उल्लेख छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस